पोखरा फाइनान्सका सिइओ रविचन्द्र पदमुक्त, राजुमोहन भट्टराईलाई कायम मुकायम

समाधान संवाददाता २०८१ माघ २७ गते ७:०७

पोखरा । पोखरा फाइनान्सले प्रमुख कार्यकारी अधिकृत (सlइओ) रविचन्द्र गुरुङलाई पदमुक्त गरेको छ । माघ २३ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सीइओ गुरुङलाई माघ २४ गते देखि लाग’ हुने गरी पदमुक्त गरेको हो ।

Advertisement

गुरुङको ठाँउमा नायब प्रमुख कार्यकारी अधिकृत राजु मोहन भट्टराईलाई कायम मुकायम कार्यकारी प्रमुखको रुपमा नियुक्त गरेको फाइनान्सले जनाएको छ ।

पोखरा फाइनान्सलाई नेपाल राष्ट्र बैंकको स्थलगत निरीक्षणले समस्याउन्मुख अवस्थामा पुगेको औंल्याएको थियो । आर्थिक वर्ष २०८१–८२ को दोस्रो त्रैमासमा राष्ट्र बैंकको सुपरिवेक्षण विभागले गरेको स्थलगत निरीक्षणको क्रममा सञ्चालक समितिका कारण संस्था समस्याउन्मुख अवस्थामा पुगेको राष्ट्र बैंकको भनाइ छ ।

केन्द्रीय बैंकको स्थलगत निरीक्षणको क्रममा पोखरा फाइनान्सको सञ्चालक समितिले आफू अन्तर्गतका समितिहरु मार्फत पर्याप्त निगरानी नगरेको कारण संस्था समस्याउन्मुख अवस्थामा पुगेको भन्दै राष्ट्र बैंकले सञ्चालक समितिलाई नै सचेत गराएको थियो ।

राष्ट्र बैंकले सचेत गराएपछि पोखरा फाइनान्सले प्राप्ति–समाहित, गाभ्ने वा गाभिनका लागि समिति गठन गरेको हो । फाइनान्सले स्वतन्त्र सञ्चालक तिलबहादुर गुरुङको संयोजकत्वमा २ सदस्यीय समिति गठन गरेको छ । समितिमा अर्का सदस्य प्रतिक गुरुङ छन् ।

Advertisement

पोखरा फाइनान्सले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनी ६३ करोड ७९ लाख रुपैयाँ नोक्सानमा रहेको छ । पुससम्ममा कम्पनी ९५ करोड ७९ लाख रुपैयाँ सञ्चालन घाटामा छ ।

कम्पनीको इम्पेयरमेन्ट चार्ज पनि ३ करोडबाट बढेर १ अर्ब ५२ लाख रुपैयाँ भएको छ । खुद ब्याज घट्नु, सञ्चालन घाटामा रहनु तथा इम्पेयरमेन्ट चार्ज बढ्दा कम्पनी नोक्सानमा रहेको हो । यसको वितरणयोग्य नाफा १ अर्ब ५५ करोड रुपैयाँ ऋणात्मक रहेको छ ।

कम्पनीको खराब कर्जा पनि धेरै नै बढेको छ । गत वर्ष ४.७६ प्रतिशत रहेको यसको खराब कर्जा यो त्रैमासमा बढेर ३३.४४ प्रतिशत भएको छ । फाइनान्सको प्रतिसेयर आम्दानी ५८ रुपैयाँ ९३ पैसा (९वार्षिक) ऋणात्मक छ । गत वर्ष प्रतिसेयर आम्दानी ५ रुपैयाँ ३७ पैसा (वार्षिक) थियो । यसको प्रतिसेयर नेटवर्थ ५३ रुपैयाँ ९७ पैसा छ ।

तपाईको प्रतिक्रिया