विवादित धर्मगुरु विजय कृष्णमूर्तिको कोटीहोम सुरु नहुँदै तातेको पोखरा

कृष्णमुर्ति भन्छन् : धर्म रक्षाका लागि अधर्म गर्न तयार छु

समाधान संवाददाता २०८१ माघ २७ गते १२:४६

पोखरा ।

Advertisement

बालयोगेश्वर भनी चिनिने धर्मगुरु विजय कृष्णमुर्तिले पोखरामा गर्ने भनिएको कोटीहोम यज्ञलाई लिएर मतभेद चुलिएको छ। धर्मगुरु कृष्णमुर्तिले कुनै पनि हालतमा पोखरामा कोटीहोम गर्ने अडान लिएका छन्। उनले आइतबार बिहान पोखरामा पत्रकार सम्मेलन गरेर भने, “अब कोटीहोम नगरी यहाँबाट कुनै हालतमा पनि फर्किन्न । ” साथै, धर्मको रक्षाका लागि अधर्म गर्न पनि तयार रहेको अभिव्यक्ति दिएका छन्।

कोटीहोम आयोजना गर्नका लागि नेपाल ट्रष्टले वैशाख १७ गतेदेखि जेठ २६ गतेसम्मका लागि विराट ज्ञान महायज्ञ तथा कोटीहोमका लागि जग्गा उपलब्ध गराएको छ। विजयको मानवसेवा फाउण्डेशनले सो स्थान भाडामा लिँदै ११ लाख ५९ हजार रुपैयाँ बुझाएको छ। साथै, पोखरा महानगरपालिकासँग स्वीकृति लिएर करसमेत तिरेको प्रमाण फाउण्डेशनले सार्वजनिक गरेको छ।

पोखरा महानगरपालिका क्षेत्रमा कोटीहोम सञ्चालनका लागि अनुमति नदिइएको महानगरपालिका कार्यालयले जनाएको छ । महानगरपालिकाले नगर कार्यपालिकाको माघ २० गते बसेको ४२ औँ बैठकबाट मानव सेवा फाउण्डेसन नेपाललाई पोखराको लेकसाइडमा कोटीहोम सञ्चालनका लागि अनुमति नदिइएको भन्दै जग्गा भाडामा दिने नेपाल ट्रस्टको निर्णय समेत रद्ध गर्न लेखी पठाउने निर्णय गरेको छ ।

नेपाल ट्रस्टले कोटी होमका लागि उपलब्ध गराएको भनिएको लेकसाइड स्थित जग्गा सहरको अति व्यस्त स्थान, आन्तरिक तथा बाह्य पर्यटकहरू आवतजावत÷घुमफिर गर्ने मुख्य पर्यटकीय केन्द्र, विश्व रामसार सुचीमा सूचीकृत फेवातालको किनार र पर्यटनको मुख्य सिजनमा एकै प्रकृतिको कार्यक्रम लामो समयसम्म गर्दा आवतजावत र भिडभाड बढ्न गई पर्यटकीय गतिविधिमा असर पर्ने हुनाले सुरक्षा संवेदनसिलतालाई मध्यनजर गरी महानगरपालिकाले सो अनुमति तत्काल रद्ध गर्न ट्रस्टलाई पत्र पठाउने निर्णय गरेको हो । महानगरले नगर क्षेत्रमा आफ्नो अनुमति विना कुनै पनि व्यक्ति वा संस्थालाई कुनै प्रकारको अनुमति/सिफारिस/सहमति नदिन समेत ट्रस्टलाई अनुरोध गरेको छ । 

Advertisement

महानगरको नगर कार्यपालिकाको बैठकले मानव सेवा फाउण्डेसनले ऐतिहासिक चौतारीका वरपीपल लगायत रुख बिरुवाहरू गैर कानुनी रूपमा अनियमित तवरले कटान गरी पर्यटकीय राजधानी सहरको सुन्दरतामा क्षति पुर्‍याएको, जैविक विविधता र पर्यावरणमा क्षति गरेको भन्दै रुख कटान कार्यमा संलग्न व्यक्ति वा संस्थालाई प्रचलित कानुन बमोजिम अविलम्ब कारबाही गर्न डिभिजन बन कार्यालय कास्कीलाई समेत पत्र पठाउने निर्णय गरेको छ ।  

महानगर क्षेत्रभित्र धार्मिक/सांस्कृतिक लगायतका अन्य कार्यक्रमहरू आयोजना एवं व्यवस्थापन गर्न प्रस्ताव गर्ने सम्बद्ध संस्था/व्यक्तिले नियमानुसार महानगरपालिकाबाट पूर्वस्वीकृति लिनुपर्ने र त्यस्तो स्वीकृति पोखरा महानगरपालिकाबाट एकद्धार प्रणाली मार्फत साबिकदेखि नै हुने व्यवस्था भएकाले सोही व्यवस्था अनिवार्य परिपालनाका लागि सबै वडा कार्यालयहरू, शाखा/महाशाखाहरूलाई निर्देशन समेत दिइएको छ ।

विशेषगरी, बरपिपलका रुख कटानपछि स्थानीय बासिन्दा आक्रोशित बनेका छन्। धार्मिक गतिविधिका नाममा वातावरणीय क्षति पुर्‍याउन नहुने भन्दै स्थानीयले विरोध जनाइरहेका छन् ।

पोखराका पर्यटन व्यवसायीहरुको छाता संस्था पोखरा पर्यटन परिषदले समेत यसको विरोध गरिरहेको छ । कोटीहोमकै लागि भनेर पोखरामा सयौं वर्ष पुराना चौतारामा धमाधम काट्न थालेपछि विवाद सुरु भएको थियो ।

चौतारा काटेर थुपारिएको दाउरा पोखरा महानगरले जफत गरेर राखेको छ । आयोजकले ५० ट्रकभन्दा बढी दाउरा लेकससाइडमा थुपारेको थियो । महानगरले ती दाउरा नियन्त्रणमा लिएर राखेको हो ।

तपाईको प्रतिक्रिया