लाटोकोसेरो संरक्षणमा प्रतिबद्धता जनाउँदै मिथिला बिहारीमा सकियो १२ औँ संरक्षण उत्सव

पोखरा । लाटोकोसेरो तथा हुचिल संरक्षणमा प्रतिबद्धता जनाउँदै धनुषाको मिथिला विहारी नगरपालिका मिथिलेश्वर मौवाहीमा आयोजित १२ औँ संस्करणको लाटोकोसेरो तथा हुचिल संरक्षण उत्सव सम्पन्न भएको छ । लाटोकोसेरा तथा हुचिल संरक्षण, अनुसन्धानको साथै विभिन्न प्रजातिका वन्यजन्तु अनुसन्धानमा ३ दर्शक देखि लागिरहेको प्रकृतिका साथीहरू नामक संस्था र मिथिला वाइल्ड लाइफ ट्रस्टको संयुक्त आयोजनामा दुई दिने संरक्षण उत्सव भएको हो ।

महोत्सवमा सहभागी मिथिला विहारी नगरपालिकाका मेयर राजेन्द्रप्रसाद यादव, प्रदेश सांसदहरू लगायत जनप्रतिनिधिले लाटोकोसेरो तथा हुचिलले संरक्षमा प्रतिबद्धता जनाएका थिए । महोत्सवमा सहभागी स्थानीयले महोत्सव अघि लाटोकोसेरो तथा हुचिलका महत्वबारेमा जानकारी नहुँदा गरिदै आएको व्यवहार अव परिवर्तन गरी संरक्षणमा लाग्ने बताएका छन् । पहिले लाटोकोसेरोले मुसा खाएर अन्नबाली जोगाउँछ भन्ने थाहा थिएन लाटोकोसेरो तथा हुचिल उत्सव भएपछि लाटोकोसेरो किसानको साथी हो भन्ने थाहा भएको स्थानीय बेतिनी देवी मण्डलले बताइन् । पहिले लाटोकोसेरो मारेर औषधीको रुपमा प्रयोग हुने गरेको पनि उनले सुनाइन् । स्थानीय कलम हुसेन पनि महोत्सवले लाटोकोसेरो महत्वका बारेमा जानकारी भएकोले संरक्षणमा लाग्न प्रेरणा मिलेका सुनाए । उत्सवमा सहभागी चरा विद्ध क्यारो इन्स्किपले लाटोकोसेरो तथा हुचिल संरक्षणकालागि आआफ्नो क्षेत्रबाट लाग्न अनुरोध गरेकी थिइन् ।

आयोजक प्रकृतिका साथीहरू नामक संस्थाका निर्देशक राजु आचार्यले बाघ, गैँडा, हात्ती जस्ता ठूला वन्यजन्तुको संरक्षणमा काम भइरहे पनि चोरी सिकार, अवैध व्यापारका कारण सङ्कटमा पर्दै गएका लाटोकोसेरो तथा हुचिल संरक्षणमा कसैको ध्यान नगएकोले देशका दूर दराजका गाउँमा पुगेर विगत १२ वर्ष देखि नागरिकलाई लाटोकोसेरो तथा हुचिलका महत्वका बारेमा जानकारी दिँदै संरक्षणमा लाग्न प्रेरणा दिने उद्देश्यले संरक्षण उत्सव आयोजना गरिँदै आएको बताए । विगतमा संरक्षण उत्सव भएका गाउँमा लाटोकोसेरोलाई विगतमा हेर्ने दृष्टिकोण परिवर्तन भएर संरक्षणमा लाग्दै आएकोले उत्सवलाई निरन्तरता दिने र संरक्षण उत्सव अर्को वर्ष नयाँ गाउँ, ठाउँमा गरिने पनि उनले बताए ।
अर्का आयोजक संस्था मिथिला वाइल्ड लाइफ ट्रस्टका अध्यक्ष देवनारायण मण्डलले महोत्सवले स्थानीयलाई लाटोकोसेरो तथा हुचिलको साथै अन्य चरा, वन्यजन्तु संरक्षणमा लाग्न प्रेरणा मिलेको बताए । यस्ता संरक्षण उत्सव आगामी वर्षमा पनि निरन्तर गर्न मुख्य आयोजक प्रकृतिका साथी रु नामक संस्था सँग उनले अनुरोध गरे ।
एक जोडी लाटोकोसेरोले बच्चा हुकाउने ४ महिनाको समयमा २५ सय देखि ३ हजार मुसा खाने अध्ययनमा पाइएको छ । मुसा खाएर खाद्यन्न बाली जोगाउन महत्त्वपूर्ण भूमिका खेल्ने लाटोकोसेरो तथा हुचिल संरक्षणमा नागरिक नै लाग्नु पर्ने विज्ञ बताउँछन् । मुसा खाएर अन्नबाली जोगाउने भएकोले लाटोकोसेरोलाई किसानको साथी भनिन्छ । अन्नबाली जोगाउन र पर्यावरण सन्तुलनमा लाटोकोसेरोले महत्पूर्ण योगदान दिँदै आएका छन् ।

लाटोकोसेरो संरक्षण उत्सवमा अन्य प्रजातिका चरा, पुतली, वन्यजन्तु संरक्षणका स्टल र फोटो प्रदर्शनी पनि गरिएको थियो । एकै मञ्चमा लाटोकोसेरो तथा हुचिल संरक्षणका साथी अन्य वन्यजन्तुको महत्त्व र संरक्षणको चुनौतीका विषयमा पनि छलफल भएको थियो । महोत्सवमा युवा, विद्यार्थी, स्थानीय र देशका विभिन्न सहरबाट पनि सहभागी हुन पुगेका थिए । महोत्सवमा मिथिलाको स्थानीय सांस्कृतिक प्रस्तुति पनि प्रदर्शन गरिएको थियो । सांस्कृतिक कार्यक्रम, म्युजियम, फोटो, कला, नाटक मार्फत लाटोकोसेरो तथा वन्यजन्तु संरक्षणमा जनचेतना मूलक कार्यक्रम गरिएको थियो ।
उत्सव सुरु हुनु अघि विभिन्न स्थानीय विद्यालयहरुमा लाटोकोसेरो संरक्षण चेतना शिविरहरूका सञ्चालन गरिएको थियो । चरा अवलोकन, लोपोन्मुख स्थानीय संस्कृति, खेलहरूको प्रदर्शन पनि गरिएको थियो ।
उत्सवमा नगरपालिका स्तरीय विद्यालयहरूमा संरक्षण चित्रकला, निबन्ध तथा कविता प्रतियोगिता समेतको आयोजना गरिएको थियो । लाटोकोसेरो सम्बन्धी जानकारी मूलक फोटो प्रदर्शनी पनि गरिएको थियो । यसै गरी गाउँमा निर्माण भएका हस्तकला, चित्रकला, लगायत पनि बिक्रीकालागि राखिएको थियो ।
उत्सवको अर्को आकर्षण ८ प्रजातिका लाटोकोसेरोहरूको आवाज सन्ने र भिडियो हेर्ने व्यवस्था पनि मिलाइएको थियो । प्रवेश टिकट नलाग्ने संरक्षण उत्सवमा निःशुल्क ६ हजार भन्दा बढीको सहभागिता रहेको आयोजकले बताएका छन् । उत्सवमा सहभागीले लाटोकोसेरोको महत्वका बरेमा जानकारी पाएकोले लाटोकोसेरा लगायत वन्यजन्तुको संरक्षणमा लाग्न प्रेरणा मिलेको विश्वास आयोजकले गरेका छन् ।

तपाईको प्रतिक्रिया