
पोखरा ।
नब्बेको दशक नेपाली संगीतमा एउटा स्वर्ण युग थियो । रेडियो सेटको घुम्तीमा घन्किएका गीटारका तारहरु, क्यासेट रेकर्डरमा गुन्जिएका लोकपप तथा रक धुनहरु, कन्सर्टहरुमा उर्लने भिडले नेपाली संगीतलाई विशेष उचाईंमा पुर्याएको थियो । त्यही सुनौला दिनमा स्थापना भएका ब्यान्डहरुले मौलिकपन र भावनात्मक गीत मार्फत लाखौं दर्शकको मन जितेका थिए । डिजीटल संगीतको सुरुवातसँगै क्यासेटमा गुन्जिने ब्यान्डहरु संगीत क्षेत्रबाट टाढिदै गए ।
नेपाली संगीतप्रेमीका लागि शनिबारको रात ऐतिहासिक रह्यो । नब्बेको दशकका (नाइन्टिज ब्यान्ड) चर्चित ७ वटा ब्यान्डले लामो समयपछि ब्यान्डले स्टेजमा पुनरागमन गरे । सांगीतिक विरासत फर्काउने उद्देश्यले पोखरामा ‘ब्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रम भएको छ । पोखरा सांगीतिक कलाकार संघको आयोजना र गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा कार्यक्रम भएको हो ।
यसै कार्यक्रमले नेपाली संगीतको इतिहासलाई फेरि एकपटक जीवित बनाउने अवसर प्रदान गर्यो । ब्यान्डहरुले आफ्ना कालजयी गीत गाएर हजारौँ दर्शकलाई मन्त्रमुग्ध बनायो । एकैपटक यति धेरै ब्यान्डको कन्सर्ट कन्सर्ट मात्र थिएन, नेपाली संगीतको स्वर्ण युगको पुनरागमन थियो । नब्बेको दशक नेपाली संगीतको स्वर्णिम युग थियो । त्यही समयमा उदाएका ब्यान्ड पुनः एकपटक स्टेजमा फर्किएको छ ।
कार्यक्रममा मध्याह्न मध्याह्न ब्यान्ड (कर्णदास र कुमार गुरुङ) ले ‘जिन्दगीको के भरोसा’ गाउँदा वन्स मोरको हुटिङ घन्किएको थियो । गीतहरु स्टेजमा बज्न थालेपछि दर्शकहरु झुम्न थालेका थिए । मध्याह्नले ‘मन मनै मन पराई सकेछु’ गीत पनि गाएको थियो ।
नब्बेको दशक नेपाली संगीतको स्वर्णिम युग थियो । त्यही समयमा उदाएका ब्यान्ड पुनः एकपटक स्टेजमा फर्किएका हुन्
कन्दरा (विवेक श्रेष्ठ)ले ‘तगारोमा रुमाल राखी’, ‘तिमी पारि’ र ‘लेककी हे माया’ गीतहरु प्रस्तुत गरेका थिए । डी–मर्चा ब्यान्ड (भास्करध्वज श्रेष्ठ)ले ‘झ्याम्म झ्याम्म’, ‘कैलाशैमा’, ‘झ्याम्मै चौतारी’ र ‘तारा खस्यौली’ गीत प्रस्तुत गर्यो । लेकाली ब्यान्ड (नवीन गुरुङ र भाइ गुरुङ)ले ‘यो मुटुमा’, ‘सपनीमा’, ‘कहाँबाट’ र ‘पहिलो नजर’ गीत गुञ्जाएको थियो । देउराली ब्यान्ड (शान्त बज्राचार्य)ले , ब्रोसिस ब्याण्ड (प्रकाश राना)ले ब्रोसिसले ‘चाइना कम्पनी’, ‘जादू तिम्रो नजरले’ र भेगाबोण्ड ब्याण्ड (श्यामसुङ तामाङ) गुञ्जिए ।

पोखरा १६ लामाचौरकी रश्मि गुरुङले लामो समय पछि पनि कलाकारलाई स्टेजमा उही जोशका साथ देख्दा अविश्वसनीय लागेको बताइन् । पुराना गीतहरु सरल भए पनि अर्थपूर्ण र आत्मीय हुने उनको भनाइ छ । पुराना गीतले मनोरञ्जन मात्र दिन्थेन भावना व्यक्त गर्ने माध्यम पनि थियो । प्रेम, समाज, विद्रोह, र सपनाहरु गीतमा पोखिन्थे ।
‘अहिले त भाइरल बन्नका लागि गीत जस्तोपनि बनाउँछन् । पहिलेका गीत मौलिक, भावनासँग जोडिएका हुन्थे । कन्सर्टले २५ वर्ष अगाडिको दिनहरुमा फर्कायो । ती पुराना गीतहरु सुन्न पाउनु सपनाजस्तै लाग्यो,’ उनले भनिन् । राम्रा गीत कहिल्यै मर्दैनन् भनेर कन्सर्टले प्रमाणित गरेको बताउँदै पुस्ता बदलिए पनि भावनात्मक रुपमा जोडिएका गीतहरु जिउँदै रहने उनले बताइन् ।
पुराना पुस्तालाई त यी गीतहरु प्रिय थिए, तर आश्चर्यजनक रुपमा नयाँ पुस्ताले पनि उत्तिकै मन पराएको देखिन्छ । कन्सर्टमा नयाँ पुस्ताका दर्शकहरुको पनि उत्तिकै उत्साहित देखिन्थे । कन्सर्ट हेर्न १२ वर्षीय रोहन श्रेष्ठ पनि आएका थिए । युटुबमा सुनेका गीत प्रत्यक्ष सुन्न पाइन्छ भनेर सोचेकै थिएनन् उनले ।
‘लाइभ प्रस्तुती पनि यति फरफेक्ट होला भन्ने सोचेकै थिइन् । मेरो मनपर्ने ब्यान्ड डिमर्चा हो । ‘झ्याम्म झ्याम्म’ गीत सुन्दा त मनै तरंगित भयो,’ उनले भने ।
नब्बेको दशकमा नेपालमा पप, रक, र फ्युजन संगीतको प्रभाव बढ्दै थियो । त्यसबेला उदाएका ब्यान्डहरुले मौलिक गीतमार्फत नेपाली संगीत उद्योगमा नयाँ पहिचान बनाएका थिए । लोक रकको सम्मिश्रणमार्फत नेपाली मौलिकता विश्वभर फैलाउने ब्यान्डहरुले कन्सर्टमा पहाड, गाउँ, संस्कृति, र समाजका कथा गीतमा पस्किँदै आएको छ । उनीहरुका गीतले हरेक जेनेरेसनका पुस्तालाई छुन सफल भएका छन् ।


प्रमिला कुँवर
पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् ।
तपाईको प्रतिक्रिया