ऊर्जाशील साधक उदासी

लक्ष्मण तिमिल्सिना २०८१ माघ २७ गते १६:१४

स्पष्ट वक्ताको छवि बनाएका उदासीका रचनाले सामाजिक चेतना परिवर्तन गरी समतामूलक, न्यायपूर्ण समाज निर्माणका लागि विशेष भूमिका खेलेका छन्

Advertisement

विसं. २०२५ कात्तिक ६ गते गुवाहाटी, भारतमा पिता तारापति बास्तोला र माता गौरीको कोखबाट जन्म लिएका कृष्णलाल बाँस्तोला हामीबीच कृष्ण उदासीको नामले सुपरिचित छन् । आफ्नो पुख्र्याैली थलो पोखरा २५, हेमजाबाट पोखरा २, विन्ध्यवासिनीमा बसोबास गर्दै आएका उदासीले नेपाली विषयमा एमए उत्तीर्ण गरेका छन् ।

माध्यमिक शिक्षा हेमजाकै गौरीशंकर माध्यमिक विद्यालयबाट लिएका उदासीले उच्च शिक्षा भने पृथ्वीनारायण क्याम्पस पोखराबाट हासिल गरेका हुन् । साहित्यको साथै शिक्षा क्षेत्रमा क्रियाशील उदासी बहुमुखी व्यक्तित्वका धनी छन् । कविता, नाटक, गीत, गजल, मुक्तक, कथा र उपन्यासलाई लेखन क्षेत्र बनाएका उदासी मूलतः कवि एवं नाटककार हुन् ।


समीक्षक, कार्यक्रम प्रस्तोताका रूपमा पनि चर्चित व्यक्तित्व हुन् उदासी । विसं. २०४३ मा ‘ऊ समर्पित हुन्छ’ लघुकथा राष्ट्र आवाज दैनिकमा प्रकाशित गरेर साहित्य यात्रा तय गरेका उदासीले वि.सं. २०४४ असार १७ र १८ गते पोखराको डाँफे कला मन्दिरमा ‘आँसुको बदला’ नाटक मञ्चन गरी नाट्ययात्रा तय गरेका थिए भने अभिनय यात्रा पनि यहीँबाट सुरु गरेका थिए । उदासीको पहिलो लिखित कविता भने कक्षा ८ मा पढ्दा लेखेको ‘गौतम बुद्ध’ हो र नाटक कक्षा ९ मा पढ्दा लेखेको ‘वसन्त विन्दु’ हो ।


नेपाली साहित्यमा उदासीको लेखनले महत्वपूर्ण स्थान ओगटेको छ । उनका रचना युगीन जीवनचेतलाई उजागर गर्दै पाठक, दर्शकको मनमा गहिरो छाप छोड्न सफल छन् । स्पष्ट वक्ताको छवि बनाएका उदासीका रचनाले सामाजिक चेतना परिवर्तन गरी समतामूलक, न्यायपूर्ण समाज निर्माणका लागि विशेष भूमिका खेलेका छन् । यथास्थितिवादीको नजरमा उदासीका कविता, नाटकले बोकेको चेत गह्रौँ लागे तापनि आलोचनात्मक चेतलाई बढवा दिई यथार्थलाई अँगालेको भेटिन्छ ।

Advertisement

वि.सं. २०४५ मा कलिलो उमेरमा नै ‘सिर्जना बोर्डिङ स्कुल’ हेमजामा स्थापना गरी त्यसको संस्थापक र प्रिन्सिपल भई कार्य गरी शिक्षा क्षेत्रमा प्रवेश गरेका उदासी विभिन्न संस्थागत र सरकारी विद्यालयमा शिक्षण गरी वि.सं. २०५५ मा पोखराकै पुरानो र प्रतिष्ठित विद्यालय राष्ट्रिय माध्यमिक विद्यालय पुरानो टुँडिखेलमा शिक्षकका रूपमा नियुक्त भई वि.सं. २०६५ देखि दुई कार्यकाल प्राचार्य भई सफल शैक्षिक प्रशासकको रूपमा स्थापित हुन सफल भएका छन ।


अहिले पनि उदासी शिक्षण पेसामा सक्रिय नै छन् । वि.सं. २०५१ मा स्थापित रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र, पोखरा, माछापुच्छ्रे एफएम पोखरा, अन्नपूर्ण एफएम, रेडियो नेपाल केन्द्रीय प्रसारण केन्द्र काठमाडौँबाट गरी उदासीले दर्जनौं रेडियो नाटक रेकर्डिङ र प्रसारण गराएका छन् । उदासीद्वारा प्रस्ततु हुने माछापुच्छ्रे एफएमको ‘साहित्य पुष्पाञ्जली’ अति नै चर्चित साहित्यिक कार्यक्रमको रूपमा स्थापित थियो । उदासीले दर्जनौँ गीति कथाकारका कथामा आवाज दिएका थिए । चार ओटा चलचित्र निर्देशन गरेका उदासी चलचित्र लेखक र अभिनेता पनि हुन् ।


केही चलचित्रमा उनले अभिनय पनि गरेका छन् । ‘कैदी’, ‘गन्तव्य’, ‘अँध्यारो बस्ती’ जस्ता चलचित्रमा उदासीले गीत लेखेका छन् । हालसम्म उदासीका चौध ओटा गीत रेकर्ड भएका छन् । वि.सं. २०६१ देखि मासिक रूपमा सञ्चालित पोखराको महत्वपूर्ण साहित्यिक अभियान अक्षरयात्राका चार परिकल्पनाकारमध्ये एक उदासी हुन् । ‘गन्तव्य’, ‘अँध्यारो बस्ती’, ‘आजको पोखरा’ उदासीका निर्देशित चलचित्र हुन् । नाटक जीवनको अर्काे आयाम हो भन्ने मान्यता राख्ने उदासी नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाल गीत नाट्य प्रज्ञा प्रतिष्ठानद्वारा आयोजना हुने राष्ट्रिय नाटक महोत्सवमा पटक पटक छनोट भई सहभागी भएका छन् ।


२०५० सालमा तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौँले आयोजना गरेको राष्ट्रिय नाटक महोत्सवमा उदासी ‘अन्तिम संहार’ नामक नाटकको लेखन, निर्देशन गरी पहिलो पटक सहभागी भएका थिए । त्यो नाटकलाई दक्षिण एसियाकै पहिलो प्रयोग भनेर धेरै दर्शक र नाट्यकर्मीले संवाद गरेका थिए । ‘अश्रुज्वाला’ २०५२, ‘अंगना’ २०५४, ‘अभ्यन्तर’ २०५६, ‘सोफिया’ २०६२ जस्ता नाटक उदासीले राष्ट्रिय नाटक महोत्सवमा सहभागी गराएका थिए ।

नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानद्वारा वि.सं. २०७० मा आयोजित राष्ट्रिय नाटक उत्सवमा ‘अन्तर्राष्ट्रिय रक्सी भट्टी’ नाटक लिई उदासी सहभागी भएका थिए । यही नाटकले नै ६० को दशकदेखि सुस्ताएको पोखरेली रंगमञ्चलाई पुनर्जागृत गराएको थियो । वि.सं. २०७४ मा नेपाल संगीत नाटय प्रज्ञा प्रतिष्ठानले पोखरामा आयोजना गरेको राष्ट्रिय नाटक उत्सवमा उदासीका ‘जयगान’ र ‘सान्नानीको सन्ते राजा’ दुई नाटक सहभागी थिए ।


‘जयगान’ को निर्देशन भने आशीष अधिकारीले गरेका थिए । उदासीका नाटकले सामाजिक चेतना र मानवीय संवेदनशीलतालाई महत्व दिएका छन् । समाजका गम्भीर समस्याहरू प्रभावकारी ढंगले प्रस्तुत गर्दै ती समस्या समाधानका उपाय समेत देखाइदिने काम उदासीका नाटकले गरेका छन् । अन्याय, अत्याचार, दमन, मानव अधिकारको उल्लंघन, सामाजिक समस्या, व्यक्ति जीवनको यथार्थ देखाउँदै समाज परिवर्तनको उद्घोष गरेका छन् । उदासीका नाटक केवल मनोरञ्जन र कलाका लागि मात्र नभई सिंगो समाज परिवर्तनका लागि लेखिएका छन् र प्रस्तुत भएका छन् ।


साहित्यका विविध क्षेत्रमा कलम चलाउने उदासीले नाटक लेखन, निर्देशन र अभिनयमात्र नगरी, कृतिहरू प्रकाशित पनि गरेका छन् । ‘परविन्दा’ (उपन्यास–२०४७), ‘अन्तिम संहार’ (एकांकी संग्रह २०५८), ‘अंशुमाली र अक्षरजीवी’ (कविता संग्रह –२०५९), ‘अग्निकुण्ड’ (एकांकी संग्रह २०५९) ‘एक हुल कर्‍याङकुरुङ’ (कविता सग्रह –२०६०), ‘मैयाँ माला’ (गीतिकाव्य–२०६०), ‘युद्ध पिरामिड’ (एकाङ्की सग्रह –२०६२), ‘नयनतालैमा’ (गजल सग्रह –२०६२), ‘हिउँ फुल्ने गाउँहरू’ कविता सग्रह –२०७०) प्रकाशित गर्नुका साथसाथै उदासीले केही साहित्यिक कृति, पत्रपत्रिका सम्पादन पनि गरेका छन् ।

२०६२/०६३ को जनआन्दोलनमा पोखराका सबै साहित्यिक, सांगीतिक, चित्रकलासम्बन्धी संघ, संगठन र कवि, कलाकारहरूको भेलाले गठन गरेको लोकतान्त्रिक वाङमय समाजको अध्यक्ष भई १९ दिने जनआन्दोलनलाई सफल पार्न कवि, कलाकारको नेतृत्व गरी सडक आन्दोलन गर्दा सडकमा वाचन भएका स्रष्टाका रचनाको सङग्रह ‘मुक्ति संघर्ष’ को सम्पादन, उत्खनन, श्री गीताञ्जलीको सहसम्पादन पनि गरेका छन् ।


समाज परिवर्तनका लागि क्रान्तिकारी चेतसहित कलम चलाउने उदासीको योगदानको कदर गर्दै विभिन्न पुरस्कार र सम्मानबाट सम्मानित गरिएको छ । रेडियो नाटक उत्सव २०५१, हरफ साहित्यिक अभियान तनहुँद्वारा अभिनन्दित २०६०, जिल्ला शिक्षा समिति कास्कीद्वारा सम्मानित २०६०, काजी रोशन साहित्य पुरस्कार (युद्ध पिरामिड एकाङकीका लागि) २०६२, गजल प्रतिभा सम्मान २०६२, अक्षरयात्रा सम्मान २०७०, युवा सिर्जनशील नाटकघर सम्मान २०७५, पञ्चामृत नाट्य समूह सम्मान २०७३, सम्धी युनिट, हेमजाबाट सार्वजनिक अभिनन्दन २०७०, टीकाराम बाँस्तोला स्मृति प्रतिष्ठान हेमजाबाट सम्मानित २०८०, हेमजा साहित्य प्रतिष्ठान हेमजाबाट सम्मानित २०८०, पोखरा महानगरपालिका शिक्षा महाशाखाबाट दीर्घ सेवाबाट सम्मानित २०८१, राष्ट्रिय माध्यमिक विद्यालय हीरक महोत्सवमा दीर्घ सेवा र पूर्व प्राचार्यका रूपमा सम्मानित २०८१ लगयातका पुरस्कार र सम्मानबाट उदासी सम्मानित भएका छन् ।


ॐ शिव कला मन्दिर पोखरामा ५० को दशकदेखि नाटक निर्देशक बनेर काम गरेका उदासीले पोखराका धेरै साहित्यिक संघ, संस्थामा आबद्ध रहेर कार्य गरेका छन् । ॐ शिव कला मन्दिर, समूल कला केन्द्र, हेमजा साहित्य प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय नाटक संयोजन समिति, पश्चिमाञ्चल कला मञ्च, गजल सन्ध्या, मुक्तक मञ्चन, नेसनल आट्स स्कुल, पोखरेली नाट्य प्रतिष्ठान, युथ क्रियसन थिएटर, पञ्चामृत नाट्य समूह लगायत तीन दर्जनभन्दा बढी साहित्यिक संघ। संस्थासँग विभिन्न कालखण्डमा जोडिएर उदासीले कार्य गरेका छन् । गन्तव्य फिल्मस् प्रोडक्सनको प्रोप्राइटरको रूपमा पनि उनी कार्यरत छन् ।


कृष्ण उदासी समसामयिक धाराका साहित्यकार हुन् । स्वच्छन्दतावादी, प्रगतिवादी चिन्तन भएका उदासी देश प्रेमका भावनाले ओतप्रोत स्रष्टा हुन् । उदासी नाटकमा सुरुको चरणमा प्रयोगवादी, विसंगतिवादी, अस्तित्ववादी, स्वैरकाल्पनिक नाटक लेखनमा रमाएको पाइन्छ । त्यसपछि सामाजिक यथार्थवादी नाटककारको रूपमा स्थापित हुँदै सामाजिक समस्या, अन्याय, अत्याचार, शोषण, उत्पीडनका बारेमा बोलेको पाइन्छ । समाज, रूपान्तरणका लागि क्रान्तिकारी चेत उदासीमा पाइन्छ । खासमा उदासी मौलिक सामाजिक यथार्थवादी नाटक लेख्ने नाटककार हुन् । मानवतावादलाई महत्व दिँदै व्यक्ति मानसिकता र सामाजिक अवस्थाको चिरफार गर्ने काम उदासीले गरेका छन् ।


नाटकमा प्रकाश प्रबन्ध मिलाई नाटक लेख्न उदासी खप्पिस छन् । अग्रगमनको चाहना राख्ने उदासी यथास्थितिवादप्रति आगो ओकल्छन् । नाट्य प्रविधिको राम्रो ज्ञान र निर्देशकीय क्षमता समेत भएकाले कृष्ण उदासीको नाटक, लेखन उत्कृष्ट मानिन्छ । आधुनिकतालाई रुचाउने उदासी नाटकमा पनि आधुनिक चिन्तन, बौद्धिक चिन्तन वैज्ञानिक चिन्तनलाई व्यवस्थित ढङ्गले प्रयोग गर्ने प्रयत्न गर्दछन् । पछिल्लो समय नाटक लेखनमा सक्रिय भए पनि नाटक मञ्चन र निर्देशनमा निरन्तरता नदिएका कारण उदासीको योगदान छाँयामा परेको छ । व्यवहारमा स्पष्ट हुँदाहुँदै पनि सबैसँग मिल्न नसक्नु, व्यक्तिगत हठी स्वभावमा बाँच्नु उदासीका कमजोर पक्ष साबित भएका छन् । सिधा बोल्ने र स्पष्ट बोल्ने बानीले कतिपय समकक्षीसँग राम्रो सम्बन्ध बनाउन नसकेका कारण उदासीको साहित्यिक योगदानले निरन्तरता पाउन नसकेको अनुभूति हुन्छ ।


कलम चलाउन र शब्दसँग मितेरी गाँस्न जान्दाजान्दै आफ्नै साहित्यिक सिर्जनालाई व्यवस्थित गर्न नसक्नु, गरेका कामलाई प्रचार गर्न नसक्नु उदासीका कमजोरी हुन् । नाट्य कार्यमा लागेका धेरै युवाले उदासीलाई गुरु मान्छन् तर आफंैले उत्पादन गरेका सय बढी नाट्यकर्मीलाई अभिभावकत्व प्रदान गर्न नसक्नु, अभिभावकत्व प्रदान गर्ने र सीप हस्तान्तरण गर्ने चाहना राख्दाराख्दै पनि चाजोपाजो मिलाउन नसक्नु, पुराना, नयाँ रंगकर्मीलाई एकताबद्ध गर्न नसक्नु, उदासीको अर्काे दुर्बल पक्ष हो । सामाजिक सम्पर्कबाट टाढा बस्न खोज्नु पनि उदासीको कमजोर पक्ष हो । अध्ययनशील व्यक्ति हुनु, ऐन नियममा बस्न खोज्नु, व्यवहारिकतामा ध्यान नदिने प्रवृत्ति उदासीको देखिन्छ । बेला बेलामा अराजक शैलीमा प्रस्तुत हुने उदासी शैलीले साहित्यकार उदासीको साहित्यिक गतिलाई कमजोर पारेको जस्तो बुझिन्छ ।


समग्रमा उदासीले नेपाली साहित्य क्षेत्रमा पुर्‍याएको योगदान सम्मान योग्य छ, गणना योग्य छ । व्यक्तिका व्यक्तिगत स्वभावले साहित्य सिर्जनामा खासै अर्थ नराख्ने भए तापनि केही हदसम्म अर्थ राख्दछ । आगामी दिनमा पनि नेपाली कला र साहित्यको प्रबद्र्धनमा लाग्दै विशेषतः नेपाली नाटय क्षेत्रको विकासमा उदासीको भूमिका उल्लेखनीय रहोस् ।

तपाईको प्रतिक्रिया