कवि प्रदीप खनालको काव्यसंग्रह लोकार्पण

पोखरा । पोखराको जेठो साहित्यिक संस्था पोखरेली साँस्कृतिक परिवारले कवि प्रदीप खनालको पहिलो कविता संग्रह ‘अनन्त यात्रा’ एक समारोहका बीच लोकार्पण गरेको छ । नेपाली साहित्यका प्रसिद्ध स्रष्टा संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति सरुभक्तले कृतिको लोकार्पण गरे ।
‘जीवन भनेकै अनन्त यात्रा हो । हामी कुन अनन्तबाट आयौं र कहाँ जान्छौं? हामी समयको एउटै चरणमा यहाँ छौं र पछिको यात्रा कस्तो हुन्छ भन्नेकुरा यहाँबाट जानेले बताएका छैनन्,’ सरुभक्तले भने, ‘हामी एउटै विशाल भवचक्रका बीचमा छौं । यहाँ कति ज्ञात अनन्तता छन् भने कति अज्ञात अनन्तता छन् । मलाई यो विशालता, यो सूक्ष्मता किन छ भन्ने लाग्छ । कुनै एक अज्ञात शक्तिले कवितात्माक लयमा यो संसारको सिर्जना गरेजस्तो लाग्छ । यो सृष्टिको कर्मदेखि नै कविताको कर्म भए झैं लाग्छ ।’ आशलाग्दो काव्य प्रतिभा प्रदीप खनालले अनन्त यात्रा काव्य संग्रह प्रकाशित गरेर आफूलाई असल कर्ममा समाहित गरेको उनले बताए ।
प्रमिला आचार्य शर्माले कृतिको समीक्षा गरेको कार्यक्रममा प्रतिभा माविका प्राचार्य किरण सापकोटा र नारायण पौडेलले पनि शुभकामना मन्तव्य दिएका थिए भने मणिप्रसाद डुम्रे, बिपी लम्साल र केशु शर्माले विमोचित कृतिबाट एकएक वटा कविता वाचन गरेका थिए । त्यसैगरी परिवारका पूर्वअध्यक्ष एवं सल्लाहकार जीवनसागर भण्डारीले स्रष्टा परिचय दिएका थिए । संस्थाका अध्यक्ष रीता अधिकारी ऋतुको समापतित्वमा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष लक्ष्मण थापाले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन संस्थाको सचिव एमडी काफ्लेले गरेका थिए ।
तपाईको प्रतिक्रिया