लेखनाथ सहकारीको स्थापना दिवसमा रक्तदान

लेखनाथ । लेखनाथ वचत तथा ऋण सहकारी संस्थाको १७ औं स्थापना दिवस तथा १६ औं वार्षिकोत्सवका अवसरमा राखिएको रक्तदानमा ५४ युनिट रगत संकलन भएको छ ।
लेखनाथ बचत तथा ऋण सहकारी संस्थाको आयोजना र लायन्स क्लब अफ सेभेन लेकसिटी र अर्घौं बजार व्यवस्थापन समितिको सहकार्यमा राखिएको संयुक्त रक्तदानका पहिलो रक्तदाता रमेश जिसीलाई ब्लड ब्याग हस्तान्तरण गर्दै पोखरा महानगरपालिका वडा नम्बर २६ का अध्यक्ष नरेन्द्र थापाले सहकारीले नाफाका लागि आर्थिक कारोबार मात्र होइन, सामाजिक उत्तरदायित्वलाई मनन गर्दै गरेको कामले समाजमा सकारात्मक सन्देश जाने धारणा राखेका थिए ।
सोही अवसरमा लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ बी आई नेपालका डिस्ट्रिक्ट गभर्नर विनोद ढुंगानाले जहाँ आवश्यकता त्यहाँ लायन्स हुने धारणा राख्दै लायन्स क्लबको अग्रसरतामा नेपालमा नै नमुना रगत संकलन बैंक स्थापना गर्न लागेको जानकारी गराएका थिए ।
लेखनाथ बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हरिबहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष नारायणदत्त बस्ताकोटी, पूर्वअध्यक्ष गणेशभक्त अधिकारी, अर्घौ बजार व्यवस्थापन समितिका उपाध्यक्ष घनश्याम ढुंगाना, जिल्ला सहकारी संघकी उपाध्यक्ष अम्बिका आचार्य, लायन्स क्लब अफ सेभेन लेकसिटीका अध्यक्ष विष्णुप्रसाद लामिछाने, जनजागृति युवा क्लबका अध्यक्ष मनीष वाग्ले लगायतले रत्तदानको महत्व र उपयोगिताबारे जानकारी गराएका थिए ।
सहकारीका सचिव शिव भण्डारीले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य लियो क्लब डिस्ट्रिक्टका प्रशन्न सापकोटाले गरेका थिए भने सोही अवसरमा मेडीप्लस पोखराले निःशुल्क स्वास्थ्य शिविरबाट स्वास्थ्य परामर्श दिएको थियो ।
तपाईको प्रतिक्रिया