नागरिकलाई मानवीय सेवामा जोडौंः भट्ट

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले मानवीय सेवा नै ठूलो धर्म भएकाले लायन्स जस्ता संस्थाले नागरिकलाई प्रेरित गरेको बताएका छन् । लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ एम नेपालद्वारा स्याङ्जा, वालिङमा आयोजित तेस्रो क्याबिनेट बैठकमा भट्टले मानवीय सेवामा समर्पित व्यक्तिहरू पवित्र मन भएका उल्लेख गर्दै यस्ता नागरिकले राष्ट्र निर्माणमा योगदान पुर्याउने बताए ।
लायन्स, रोटरी, जेसिज जस्ता अन्तर्राष्ट्रिय संस्थाहरूले नागरिकलाई मानवीय सेवामा संलग्न हुन प्रेरित गरेको उनको भनाइ थियो । महाभूकम्पको समयमा लायन्स क्लबले नेपालमा पु¥याएको राहत सहयोग प्रशंसनीय रहेको उल्लेख गर्दै उनले कुनै पनि जाति, भाषा, धर्म, संस्कृति र राजनीतिक विचारभन्दा माथि उठेर सधैं मानवीय सेवामा अग्रसर लायन्स क्लबले आफ्ना सदस्यहरूका लागि नेतृत्व विकास गर्दै विश्वभर सहयोग विस्तार गरिरहेको सुन्दा खुसी लागेको बताए ।
‘पछिल्लो समय लायन्स क्लबको संगठन विस्तार विशेष रूपमा भएको देखिएको छ । दुर्गम जिल्लाहरूमा लायन्स क्लबको उपस्थिति हुनु सकारात्मक पक्ष हो,’ उनले भने, ‘नयाँ पुस्तालाई सामाजिक कार्यमा संलग्न गराउँदै विकास निर्माणमा जोड्नु आजको आवश्यकता हो । यसले संयुक्त नेतृत्व निर्माणमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिएको छु ।’
उनले लायन्स क्लबहरूले मानवीय सेवामा सञ्चालन गरेका कार्यक्रमहरूको समीक्षा तथा सरोकारवाला निकायहरूसँग सहकार्य गर्दै भावी कार्ययोजना तय गर्न बैठक प्रभावकारी बनोस् भन्ने शुभेच्छा व्यक्त गरे ।
तपाईको प्रतिक्रिया