‘लाज शरणम्’ मा महेशले घटाएका थिए २० केजी तौल

समाधान संवाददाता २०८१ माघ २७ गते १८:३७

पोखरा । जिग्री पाडेको पहिलो चलचित्र ‘लाज शरणम्’ प्रदर्शनको तयारीमा छ । फागुन १४ गते प्रदर्शनमा आउने चलचित्र ‘लाज शरणम्’मा टेलिचलचित्र ‘सक्किगोनि’ टिम बाहिरका केही कलाकारहरू पनि छन् । ती मध्ये एक हुन्, हल्कारा फेम्ड अभिनेता महेश त्रिपाठी । जो चलचित्र ‘हल्कारा’का हिरो हुन् । यो चलचित्रले इन्टरनेशनल फिल्म फेस्टिभलहरूमा अवार्डहरू समेत जितेको थियो ।

Advertisement

महेश ‘सक्किगोनि’ टिमले बनाएको चलचित्र ‘लाज शरणम्’ मा पनि छन् । हालसालै सार्वजनिक भएको चलचित्रको टिजरमा त्रिपाठीलाई पनि मुख्य पात्रका रूपमा देखाइएको छ । यो चलचित्रमा साइन गरेदेखिनै उनी आफुलाई पात्रमा ढाल्न निकै ठूलो मेहनत गरेको उनको विगतका तस्वीर चलचित्रको टिजर पोस्टरमा स्पष्ट देख्न सकिन्छ ।

सार्वजनिक पोस्टरमा पनि उनी अटिएका छन् । सुरुमा सार्वजनिक भएका तीनवटा पोस्टरमध्ये एकमा महेश पनि छन् । ‘लाज शरणम्’मा उनको पातलो शरीरको क्यारेक्टर चाहिने भएपछि निर्माण टिमले उनलाई शरीर घटाउन भनेको थियो ।

Advertisement

त्यसपछि महेशले आफ्नो शरीर चलचित्रको चरित्रमा फिट बनाउन झण्डै २० केजी तौल घटाए । उनले भने, ‘म झण्डै ७२ केजीबाट लाज शरणमको लागि २० केजी बराबर तौल घटाए । त्यो चलचित्रको पात्र निर्माण गर्दा मैले ५२ केजीसम्म शरीरको तौल बनाएको बताए ।’ चलचित्रको छायांकनमा समेत उनको पछिल्लो समयको शरीरको तौल र अनुहार देखेर निर्माण पक्ष पनि छक्क परेको थियो । पात्र निर्माणलाई प्राथमिकता दिएका महेश यस अघिको हल्कारा चलचित्रको पात्र निर्माणमा पनि अल्को हलिक क्यारेक्टरले उनका स्वास्थ्यलाई लामो समयसम्म असर गरेको बताएका थिए । पात्रको चरित्रलाई न्याय दिन उनले आफ्ना हरेक चलचित्रमा आफूलाई अभ्यस्त बनाएका छन् ।

त्यसैले उनले यो सिनेमामा कडा मेहनत गरेको यसबाटै पनि पुष्टि हुन्छ । सिनेमामा उनको काम कस्तो छ त्यो भने हेर्न फागुन १४ कुर्नुपर्ने छ । तर प्रसारित सामग्रीहरू हेर्दा उनको लगायत टिमको मेहनत स्पष्ट देखिन्छ । ‘लाज शरणम्’ का हालसम्म चारवटा पोस्टर सार्वजनिक भइसकेका छन् । पछिल्लोपटक मुख्य कलाकार सीताराम कट्टेल धुर्मुसलाई रिविल गरिएको थियो ।
‘लाज शरणम्’मा सीतारामसँगै मुकुन्द श्रेष्ठ, विजय बराल, अपर्ण थापा, महेश त्रिपाठी, रेणु योगी, कमलमणि नेपाल, माला लिम्बु, ‘सक्किगोनि’ टिमका कलाकार अर्जुन घिमिरे पाडे, सागर लम्साल बले, हरिष निरौला कक्रोज, प्रियाना आचार्य मुन्नी लगायत कलाकार छन् । ‘लाज शरणम्’ फागुन १४ गते महाशिवरात्रिको अवसरमा प्रदर्शन हुनेछ ।

Advertisement

चलचित्रको निर्देशन कुमार कट्टेल ‘जिग्री ब्रो’ले गरेका हुन् । सिनेमाको प्रमुख कलाकारमा विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बु, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य लगायतका कलाकार छन् । जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा नवीन श्रेष्ठ निर्माता, रामनरेश शाह र सिर्जना खड्का सह–निर्माता छन् । सिनेमालाई सुदीप बरालले छायांकन गरेका छन् ।

तपाईको प्रतिक्रिया