मुस्ताङमा बलेरो जीपसहित चिनियाँ अवैध सामग्री नियन्त्रणमा

जोमसोम । मुस्ताङको जोमसोममा एक बलेरो जीपसहित चिनियाँ अवैध सामग्री बरामद गरिएको छ। व्यापारिक प्रयोजनका लागि उत्तरी कोरलानाकाबाट आयात गरी भन्सार छली म्याग्दी लगिंदै गरेको अवस्थामा, जोमसोमस्थित सशस्त्र प्रहरी बल ३३ नं. गुल्मको मोबाइल गस्ती टोलीले करिब १५ लाख ६६ हजार रुपैयाँ बराबरको सामानसहित ग २ च ३२११ नम्बरको बलेरो जीप नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरी बल जोमसोमको मोबाइल गस्ती टोलीले शनिबार राति करिब १० बजे कोरलानाबाट ल्याइएको अवैध चिनियाँ सामान नेचुङ भन्सार छली म्याग्दीतर्फ लैजाँदै गर्दा जीप नियन्त्रणमा लिएको थियो। भन्सार प्रज्ञापन पत्र तथा सामानको आवश्यक बिल विजक नभएको कारण सशस्त्र प्रहरीले जीप र सामान नियन्त्रणमा लिएर आइतबार मुस्ताङ भन्सार कार्यालयलाई जिम्मा लगाएको मुस्ताङ भन्सार कार्यालयका निमित्त प्रमुख होमबहादुर विष्टले जानकारी दिए।
सशस्त्र प्रहरीले पेश गरेको अवैध चिनियाँ सामान र ढुवानी गरिएको जीपको मूल्य जोड्दा करिब १५ लाख ६६ हजार रुपैयाँ बराबर हुने निमित्त प्रमुख विष्टले बताए। उनका अनुसार, बलेरो जीपका चालक साविक नवलपरासी जिल्ला, जौवारी–४ (हाल नवलपुर, बुलिङटार गाउँपालिका–४) निवासी ३४ वर्षीय गुञ्जबहादुर दर्लामी मगरलाई आवश्यक कारबाहीका लागि बलेरो जीपसहित मुस्ताङ भन्सार कार्यालयमा पेश गरिएको छ।
जोमसोमस्थित सशस्त्र प्रहरी बलको मोबाइल गस्ती टोलीले भन्सार छली गरिएको पाँच प्रकारका सामग्रीसहित जीप नियन्त्रणमा लिएको थियो। म्याग्दीतर्फ लैजाँदै गरिएको अवैध रूपमा आयात गरिएको सामग्रीमा २० हजार रुपैयाँ बराबरको ५०० एमएलको चिनियाँ ह्विस्की ४८ बोतल, ३ हजार रुपैयाँ मूल्य बराबरको सफ्ट ट्वाइलेट पेपर ६० प्याकेट, ५ हजार ६ सय रुपैयाँ मूल्य बराबरको जुत्ता ८ जोर, १ हजार ५ सय रुपैयाँ मूल्य बराबरको भुजादार एप्रोन २ थान, र ३४ हजार ७५० रुपैयाँ बराबरको चिनियाँ चकलेट १३९ प्याकेट समावेश रहेका छन्।
यसअघि, गत पुस महिनामा जिल्ला प्रहरी कार्यालय, मुस्ताङले कोरलानाकाबाट ल्याइ म्याग्दीतर्फ लैजाँदै गरिएको ७ करोड रुपैयाँ बराबरको चिनियाँ सामानसहित ट्रक नियन्त्रणमा लिएर मुस्ताङ भन्सार कार्यालयलाई जिम्मा लगाएको थियो। उपल्लो मुस्ताङका नागरिकलाई घरायसी प्रयोजनका लागि सामान ढुवानी गर्न कोरलानाका खोलिएको थियो। तर, पछिल्लो समय व्यवसायिक प्रयोजनका लागि बिना भन्सार प्रज्ञापन र बिल विजक चिनियाँ सामग्री ओसारपसार हुने क्रम बढ्दै गएपछि, मुस्ताङ भन्सार कार्यालयले प्रशासन र प्रहरीको समन्वयमा जोमसोममा अवैध चिनियाँ सामग्री नियन्त्रण अभियानलाई सक्रिय बनाएको हो।
तपाईको प्रतिक्रिया