सम्पादकीय—फिर्केखोलाको अतिक्रमण हटाउने बाटो

समाधान संवाददाता २०८१ माघ २८ गते १०:४०

पोखरा महनगरपालिकाले फिर्केखोलाको साँधसीमा मिचेर बनेका संरचना हटाउन २०८० सालको कात्तिकमा प्रयास थालेको थियो । उसले खोला नापजाँच गरी खोलाघर छुट्याएपछि ३५ दिने सूचना निकाल्यो र डोजर लगाउने प्रयास गर्‍यो । तर खोला छेउछाउमा संरचना बनाएकाहरुले उच्च अदालत पोखरामा त्यसविरुद्ध रिट दिए । अनि अन्तरिम आदेश आयो, महानगरपालिकाको डोजर चल्न पाएन । अब भने महानगरपालिकालाई डोजर चलाउने कानुनी बाटो खुलेको छ । उच्च अदालत पोखराले उक्त मुद्दामा यसै साता अन्तिम फैसला सुनाउँदै खोला छेउछाउका संरचनालाई हटाउन सकिने बताएको छ ।

Advertisement

न्यायाधीशद्वय मीलनकुमार राई र उमेश कोइरालाको फैसलाका अनुसार नक्सा पास, निर्माण अनुमति र प्रमाणपत्र जस्ता प्रक्रियाले खोलाघरभित्र बनेका संरचनालाई वैधता प्रदान गर्दैनन् । यसलाई मान्यता दिइयो भने प्राकृतिक सम्पदा, सांस्कृतिक क्षेत्र तथा सार्वजनिक जग्गाको संरक्षण कठिन हुने अदालतको ठहर छ । फैसलामा भनिएको छ, ‘फिर्के खोलासँग साँध जोडिएको नाताले फिर्के खोलाकै स्वामित्वमाथि पनि अधिकार रहन्छ भन्ने दृष्टिकोण राखिनु हुँदैन, त्यस्तो दृष्टिकोणलाई सम्पत्ति सम्बन्धी अधिकार र आवासको अधिकारले समेट्दैन ।’


न्यायाधीशद्वयको इजलासले २०८१ पुस १६ गते उक्त रिट खारेज गर्ने फैसला गरेको थियो । निवेदकको मागअनुसार आदेश जारी गर्न मिल्ने अवस्था नरहेको भन्दै रिट खारेज गर्ने निर्णय गरेको छ । त्यसैको पूर्णपाठ यसै साता आएको छ । निवेदक भनेको फिर्केखोला छेउछाउमा संरचना भएकाहरु थिए । उनीहरुले आफ्ना संरचना नहटाउन मागसहित रिट निवेदन गरेका थिए । अदालतले जग्गा (नाप जाँच) ऐन, २०१९ र मालपोत ऐन, २०३४ अनुसार फिर्केखोला खोलाघर सार्वजनिक सम्पत्ति भएको भन्दै खोलाघरमा अतिक्रमण गरेर बस्न नपाइने ठहर गरेको छ ।

अदालतले पोखरा महानगरपालिकाले नयाँ मापदण्ड बनाएर नभई साविकदेखि नै सर्भे नक्साले यकिन गरेको खोलाघर खाली गराउने निर्णय गरेको ठहर गर्दै, सार्वजनिक सम्पत्ति संरक्षण गर्ने स्थानीय तहको अधिकारक्षेत्रभित्र पर्ने भएकाले निवेदकहरूको मागअनुसार परमादेश जारी गर्न नमिल्ने निर्णय गरेको कुरा यहाँ महत्वपूर्ण छ ।


महानगपालिकाले पोहोर साउन ४ देखि भदौ २ सम्म गरेको फिर्केको नापजाँचमा १ सय ६० संरचना खोलाघरमै बनेको पत्ता लागेको थियो । लालपुर्जा भएको जमिनसहित खोलाघरसमेत मिचेर वा पूरै खोलाघरमा समेत निजी घर, सार्वजनिक भवन लगायत संरचना बनेको महानगरपालिकाको अध्ययनले देखाएको थियो । अब ती संरचना महानगरपालिकाले हटाउनुपर्छ र फिर्केखोलालाई आफ्नो प्राकृतिक वहावमा बग्न दिनुपर्छ ।

Advertisement

यसलाई ढल बग्ने नाली बन्न दिनुहुँदैन । पोखरा १८ सराङकोटफेदी अँधेरी कुनाबाट सुरु हुने फिर्केखोला वडा नम्बर २, ४, ५, ६, ७, ८ हुँदै फेवाताल पुग्छ । फिर्के फोहोर हुँदा ताल पनि फोहोरिन्छ । फिर्केखोला बचाउनु केवल कानुनी बाध्यता होइन, यो भविष्यका पुस्ताका लागि सुरक्षित पर्यावरणीय उत्तराधिकार पनि हो । फिर्केखोला केवल पोखराको भूगोलको एउटा अंश मात्र होइन, यो प्राकृतिक स्रोत र पर्यावरणीय सन्तुलनको प्रमुख आधार हो ।

तपाईको प्रतिक्रिया