उठ्न छाड्यो पोखराको फोहोर

समाधान संवाददाता २०८१ माघ २८ गते ११:०८

पोखरा ।
पोखरा महानगरको फोहोर व्यवस्थापनमा फेरि समस्या देखिएको छ । ३ दिनदेखि महानगरको फोहोर नउठ्दा मुख्य सडक र बस्तीका खाली ठाउँमा फोहोर थुप्रिन थालेको छ । महानगरले वडा नम्बर ३२ लामेआहालमा अस्थायी रुपमा फोहोरमैला व्यवस्थापन गर्दै आएकोमा सम्झौता अवधि सकिएपछि स्थानीयले फोहोर व्यवस्थापन गर्न रोकेका हुन् ।

Advertisement


महानगरका सरसफाइ महाशाखा प्रमुख बलराम पाठकले शुक्रबारबाट सम्झौता सकिएपछि स्थानीयले फोहोर व्यवस्थापन गर्न रोकेको जनाए । उनले भने, ‘शनिबार सहरका मुख्य भागको फोहोर उठाएर गाडीमा राखियो, व्यवस्थापन गर्न पाइएन । आइतबारबाट फोहोर उठेकै छैन ।’


पोखरा–३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले स्थानीयसँग छलफल गरी फोहोर व्यवस्थापनका लागि सहजीकरण गर्न खोजे पनि सहमति जुटेको छैन । पटक पटक फोहोरमैला प्रभावित क्षेत्रमा सरसफाइ, विकास निर्माणबारे गर्नुपर्ने काममा प्रतिवद्धता जनाएर पनि काम नहुँदा समस्या आएको वडाध्यक्ष कार्कीले बताए ।


कार्कीले भने, ‘स्थानीयले फोहोर व्यवस्थापनमा महानगरलाई सघाएकै हुन् । प्रतिवद्धता पूरा नहुँदा अब महानगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतसँग वार्ता गरी कार्यान्वयनको ग्यारेन्टी नहुँदासम्म फोहोर ल्याउन नदिने स्थानीयको अडान छ ।’

लामेआहालमा बारम्बार समस्या आइरहँदा प्रशोधन केन्द्रसहितको ल्यान्डफिल साइट बनाउने योजना भने रोकिएको छ

Advertisement


पोखरा ३२ का राजनीतिक दलहरु पनि त्यहाँ फोहोर विसर्जन गर्न दिने पक्षमा छैनन् । स्थानीय बुद्धिमान गुरुङले वडाका राजनीतिक दलहरुको सर्वदलीय बैठकले अहिलेकै अवस्थामा फोहोर वडामा विसर्जन गर्न नदिने निर्णय भएको उल्लेख गरे ।


पोखरा महानगरमा अहिले ६ वडा कम्पनीले फोहोर व्यवस्थापन गर्दै आएका छन् । २०७९ फागुन महिनामा अन्तिम पटक सम्झौता गरेका ती कम्पनीहरुसँग आगामी दुई वर्षको राजस्वसमेत प्रक्षेपण गरी उनीहरुले शुल्क बुझाएका छन् ।


स्थायी ल्याडफिल साइट निर्माण नभएसम्म पोखरा महानगरले लामेआहालमा फोहोर फाल्दै आएकोमा बारम्बार समस्या आउने गरेको छ । पोखरामा दैनिक एक सय टन जति फोहोर संकलन हुन्छ । महानगरले २०२३ जनवरीबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि लामेआहालस्थित सेती नदी किनारमा फोहोर व्यवस्थापन गर्दै आएको थियो ।


फोहोर व्यवस्थापन उचित तवरले नहुँदा दुर्गन्ध फैलिएको, सडक कच्ची हुँदा हिलो र धुलोले सास्ती दिएको भन्दै स्थानीयले बेला बेलामा फोहोर फाल्न अवरोध गर्दै आएका छन् । पोखरा १४, बाच्छेबुडुवाको ल्याडफिल साइट अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि बन्द गर्नुपरेपछि महानगरले वैकल्पिक व्यवस्था खोजेको थियो ।


पोखरा महानगरले वडा नम्बर ३३ को पुँडिटार क्षेत्रमा रहेको झाक्रीखोला र देव्रेखोला क्षेत्रमा ल्याडफिल साइट बनाउन निर्णय गरिसकेको छ । ल्याडफिल साइट नभएर फोहोर प्रशोधन केन्द्र बनाउने योजना भए पनि त्यो अघि बढ्न सकेको छैन । केन्द्र निर्माणका लागि ग्लोबल टेन्डर गरी त्यसमा टेन्डर गर्ने पाँच कम्पनीमध्ये ३ कम्पनी छानिएका थिए ।


लामेआहालमा आरम्भमा ६ महिनाका लागि फोहोर व्यवस्थापन गर्ने सहमति भए पनि दुई वर्ष भइसकेको छ । महानगरले सार्वजनिक निजी साझेदारी (सानिसा) मोडेलमा प्रशोधन केन्द्र बनाउने योजना भए पनि जग्गा प्राप्ति नहुँदा काम रोकिएको छ । झाक्रीखोला, देब्रेखोला क्षेत्रमा व्यक्तिको ९६ रोपनी र बाँकी सार्वजनिक जग्गामा केन्द्र बनाउने योजना थियो ।

तपाईको प्रतिक्रिया