पाल्पाको रानीमहलमा गण्डकी र लुम्बिनीको समन्वय बैठक, दुवै प्रदेशका मुख्यमन्त्री सहभागी हुने

पाल्पाको रानीमहलमा गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीको समन्वय बैठक
पोखरा । पाल्पाको रानीमहलमा माघ ३० गते गण्डकी र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीबीच अन्तरप्रदेश समन्वय बैठक हुने भएको छ। बैठकमा सुरक्षा व्यवस्था लगायत व्यवस्थापनको जिम्मा पाल्पाका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले पाएका छन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित मन्त्रीहरू, प्रमुख सचिवहरु, सचिवहरू बैठकमा सहभागी हुनेछन्। २ प्रदेश मिलेर गर्न सकिने योजनाका साथै संघीयताका कार्यान्वयनका बारेमा अनुभव साट्न यो फोरम उपयुक्त हुने गण्डकीका प्रमुख सचिव रघुराम विष्ट बताउँछन् ।
बैठकपछि घोषणापत्रका रुपमा साझा प्रतिबद्धता समेत जारी गरिने भएको छ । तानसेनदेखि १३ किलोमिटर टाढा कालीगण्डकी नदी किनारमा रहेको रानीमहलमा आयोजना हुने बैठकले समृद्धि र विकासका साझा सरोकारलाई सम्बोधन गर्ने विश्वास गरिएको छ ।
लुम्बिनी प्रदेशका कामु प्रमुख सचिव बाबुराम अधिकारीका अनुसार दुवै प्रदेशको वार्षिक नीति तथा कार्यक्रम तथा बजेट निर्माणमा समेत यस्ता बैठकले सघाउनेछ ।
कर प्रणाली, राजस्व, रोयल्टी, पर्यटन लगायतका विषयहरूमा छलफल गर्दै एकरुपता कायम गर्ने विषयमा समेत बैठक महत्वपूर्ण कामु प्रमुख सचिव अधिकारीको विश्वास छ । सहलगानीमा सञ्चालन हुन सक्ने आयोजना पहिचान गर्न पनि बैठक फलदायी हुने अपेक्षा गरिएको छ।
तपाईको प्रतिक्रिया