प्राविधिक शिक्षा पढ्न छात्रवृत्ति

समाधान संवाददाता २०८१ माघ २८ गते १७:०३

तनहुँ ।
तनहुँकाे भानु नगरपालिका कार्यालयले २६ विद्यार्थीलाई प्राविधिक शिक्षा छात्रवृत्ति प्रदान गरेको छ । नगरपालिका मातहत रहेका १३ वटा वडाबाट २ जनाका दरले जनही १ लाख ५० हजारका छात्रवृत्ति उपलव्ध गराएको हो ।

Advertisement


गरिब तथा जेहेन्दार विद्यार्थीलाई ३ वर्षे प्राविधिक शिक्षा हासिल गर्न प्रोत्साहन स्वरूप रकम प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले जानकारी दिए । नगरपालिकाले विद्यार्थीको प्राविधिक शैक्षिक गुणस्तर वृद्धिका लागि पञ्चवर्षीय योजनाका साथ योजना कार्यान्वयन गर्दै आएको छ ।


भानु नगरपालिकाभित्र रहेका सबै सामुदायिक विद्यालयमा इन्टरनेटको पहुँच पु¥याइएको प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए । स्थानीय पाठ्यक्रम ‘हाम्रो भानु’ (कक्षा १–८) निर्माण र प्रयोग हुनुका साथै स्थानीय विषयको कक्षा १ देखि ८ सम्मका पाठ्यपुस्तक निर्माण गरी सबै विद्यालयमा निःशुल्क वितरण गरिएको छ ।


कक्षा १ देखि ८ सम्म पाठ्यपुस्तक निर्माण गर्ने भानु गण्डकी प्रदेशमा पहिलो पालिका बनेको भानु नगर उपप्रमुख उमा गोतामेले जानकारी दिइन् । आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क दिने सरकारको नीतिलाई कार्यान्वयन गर्नका लागि आधारभूत तह कक्षा १–८ सम्मका सबै परीक्षाको जिम्मा भानु नगरपलिकाले लिएको छ ।


विद्यालयका सबै परीक्षामा प्रश्नपत्र र उत्तरपुस्तिका नगरपालिकाबाट उपलब्ध गराइने भएको छ । आधारभूत तहका बालबालिकाले परीक्षाको नाउँमा कुनै पनि शुल्क तिर्नु नपर्ने सामाजिक विकास समितिका संयोजक एवं वडा नं १० का वडाध्यक्ष हरिहर उप्रेतीले बताए । नेपाल सरकारले बाल विकास केन्द्रदेखि कक्षा ५ सम्मका लागि प्रति दिनप्रति व्यक्ति १५ का दरले दिवाखाजाका लागि अनुदान दिइरहेकोमा भानु नगरपालिकाले ५ रुपैयाँ थप गरी प्रतिव्यक्ति २० पुर्‍याइ कक्षा ६ सम्म विस्तार गरेको छ ।

Advertisement

कक्षा १ देखि ८ सम्मका पाठ्यपुस्तक निर्माण गरी सबै विद्यालयमा निशुल्क वितरण


भानु नगरपालिका अन्तर्गत सञ्चालित सामुदायिक विद्यालयमा कार्यरत बाल विकास केन्द्रका सहयोगी कार्यकर्ता तथा कर्मचारीलाई नेपाल सरकारले तोके अनुरूपको न्यूनतम् पारिश्रमिक उपलब्ध गराइएको छ ।

ऋषिङका सबै वडाका आफ्नै भवनमा

तनहुँको ऋषिङ गाउँपालिका अन्तर्गत रहेका ८ वटा वडाका आफ्नै भवन निर्माण भएको छ । ऋषिङ १ को झापुटारमा वडा कार्यालय भवन निर्माण गरी सञ्चालनमा ल्याएसँगै गाउँपालिकाका सबै वडा भाडामुक्त भएका हुन् । दुई ढलानको वडा कार्यालय भवन ९१ लाखको लागतमा निर्माण सम्पन्न गरेको हो । सोही वडामा १ हजार जना क्षमताको सभाहल १ करोड ५१ लाखमा निर्माण गरिएको छ ।


उक्त दुवै भवनको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले उद्घाटन गरी सञ्चालनमा ल्याइएको छ । भवन निर्माणको जिम्मा बिपी कन्ट्रक्सन र हरि शान्ति कन्ट्रक्सनले पाएको थियो । एक हजार जना क्षमताको हलको लागि १० लाख बराबरको फर्निचर सामग्री वडा कार्यलयले प्रदान गरेको वडाध्यक्ष कुशबहादुर थापाले जानकारी दिए ।


गाउँपालिकाले शिक्षा, स्वास्थ्य, खानेपानी, सडक लगायतका विकास निर्माण कार्यलाई प्राथामिकता दिएर काम गर्दै आएको गाउँपालिका प्रवक्ता विजय दरैले जानकारी दिए । एकादुई बाहेक सबै आधारभूत स्वास्थ्य चौकीका आफ्नै भवन निर्माण भइसकेको गाउँपालिकाले जनाएको छ । रासस

तपाईको प्रतिक्रिया