सुशासनका लागि सदाचार र नैतिकता जरुरीः भट्ट

समाधान संवाददाता २०८१ माघ २८ गते १९:३२

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नागरिकदेखि उच्च ओहदासम्मका पदाधिकारीमा सदाचार र नैतिकता भएमात्र सुशासन र समृद्धि हाँसिल हुने बताएका छन् । सबै सरोकारवालाले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्न जरुरी रहेको उनले औंल्याए ।

Advertisement

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औं स्थापना दिवसको अवसरमा पोखरा कार्यालयले आयोजना गरेको स्थापना दिवस विशेष समारोहमा भट्टले भ्रष्टाचार विरुद्धको लडाइ सबैको साझा लडाइँ भएको उल्लेख गरे । ‘नेपालको संविधानले दिगो शान्ति, सुशासन, समृद्धि र विकासको परिकल्पना गरेको छ । संविधानको यो सपना त्यतिखेर मात्रै साकार हुन्छ जब हामीले भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता प्रदर्शन गर्न सक्छौँ,’ प्रदेश प्रमुख भट्टले भने, ‘आर्थिक अनियमितता, भ्रष्टाचार नियन्त्रणको काम चुनौतीपूर्ण छ । मुलुकको विकासको बाधक नै भ्रष्टाचार भएकाले यसलाई निर्मूल पार्न सामान्य व्यक्तिदेखि राज्यको उपल्लो ओहदामा बसेका पदाधिकारीसम्मले नैतिक आचरण सुधार गर्नुपर्ने छ ।’

गण्डकी प्रदेशमा सबैभन्दा कम उजुरी परेको प्रतिवेदनबाट जानकारी पाएको बताउँदै उनले सरकारी कार्यालयहरूले अबको दिनमा प्रवाह गर्ने सेवाहरुमा सरलीकरण गर्नुपर्ने र राज्यका सबै अंग तथा अन्तर्गतका निकायले जनतालाई अपनत्व र विश्वास कायम हुने गरी आफ्नो काम कारबाहीलाई अगाडि बढाउनुपर्नेमा जोड दिए ।

‘हालको परिवेशमा राज्यका निकायहरूबाट भइरहेको काम कारबाहीलाई नियाल्दा सेवा प्रवाहमा हुनुपर्ने सहजता र विकास निर्माण प्रक्रियामा जनतालाई गराउनुपर्ने सहभागिताको कमी देखिन्छ । साथै, सरकारी कार्यालयहरूले आफूले सम्पादन गरेको कार्यलाई पारदर्शीसमेत बनाउन नसकेको तथ्य आयोगको वार्षिक प्रतिवेदनबाट जानकारी प्राप्त गरेँ,’ उनले भने ।
वर्तमान समयमा भ्रष्टाचारको प्रकृति र प्रवृत्तिमा परिवर्तन आएकोले अनुसन्धानको विषयमा देखिएका नयाँ चुनौतीलाई सामना गर्न आयोग तथा मातहतका कार्यालयहरू सशक्त भई आफ्नो कार्यपद्धतिलाई रचनात्मक बनाउनुपर्ने सुझाव पनि उनको छ । नेपालको संविधान एवं प्रचलित कानुनको अधिनमा रहेर भ्रष्टाचार नियन्त्रण गरी सुशासन स्थापना गर्न महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै अएको आयोगले सदाचार, निष्पक्षता र निर्भिकता जस्ता मूल्यहरु अंगीकार गरी यो संस्थाको जग बलियो बनाउन समेत यस दिवसले उल्लेखनीय भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

यसका लागि उपलब्ध साधन, स्रोतको सीमामा रहेर उच्चतम प्रविधिको प्रयोग गर्दै राष्ट्रसेवक कर्मचारीले आफ्नो सीप, ज्ञान, दक्षता र क्षमता अभिवृद्धि गरेर व्यवस्थापकीय कार्यकुशलता प्रदर्शन गर्न सक्नुपर्नेमा प्रदेश प्रमुख भट्टले जोड दिए । ‘भ्रष्टाचारको प्रवृत्ति हेर्ने हो भने पूर्वाधार, शिक्षा, स्वास्थ्य, भूमि प्रशासन, कृषि लगायतको क्षेत्रमा जनताको बढी गुनासो देखिन्छ । यी क्षेत्रमा हुने सार्वजनिक खरिदका कार्यक्रमहरू अपारदर्शी तरिकाले अघि बढाइँदा उजुरी पर्छन्,’ प्रदेश प्रमुख भट्टले भने, ‘नागरिकले सजिलै पाउनुपर्ने सेवामा पनि दुख हैरानी दिने गरेको विषय गम्भीर विषय हो । यस्तो अवस्थामा आयोग र अन्तर्गतका कार्यालयहरूले सूक्ष्म ढंगले आफ्नो निगरानी बढाई सक्षमतालाई बढाउँदै लैजानुपर्ने हुन्छ ।’ कार्यक्रममा आयोग पोखरा कार्यालयका प्रमुख अशमान तामाङ, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया