हिलप्वाइन्टमा फुड फेस्टिभल

समाधान संवाददाता २०८१ माघ २८ गते २०:४५

पोखरा । पोखरा १२ का वडाध्यक्ष वडाध्यक्ष सन्तोष बास्तोलाले विश्व उच्च स्तरीय प्रविधिमा पुगिसक्दा पनि नेपालको शिक्षा प्रणालीमा अझै प्रविधिको पहुँच पुग्न नसकेको बताएका छन् । पोखरा १२ स्थित हिलप्वाइन्ट माविद्वारा वार्षिकोत्सवमा आयोजित फुड फेस्टिभल, चित्रकला प्रदर्शन र पुरस्कार वितरण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

Advertisement

‘अझै पनि विद्यार्थी र अभिभावकले शिक्षकलाई र शिक्षकले प्रणालीलाई दोष दिने गरिएको छ’, उनले भने, ‘यस्तो अवस्थाले नेपालको शिक्षा प्रणाली कहाँ छ भन्ने स्पष्ट हुन्छ ।’ गुणस्तरीय र संस्कारयुक्त शिक्षाका लागि पटक पटक छलफल गरिएको भन्दै उनले वडाभित्रका सबै विद्यालयमा संस्कारयुक्त शिक्षा लागू गर्ने प्रयास भइरहेको बताए । विद्यालयले शिक्षामात्र होइन संस्कारयुक्त र व्यवहारिक शिक्षा दिन आवश्यक रहेको वडाध्यक्ष बास्तोलाले उल्लेख गरे ।

विद्यालयका अभिभावक ऋषिराम लामिछानेले हिल प्वाइन्टले शैक्षिक क्षेत्रमा खेलको भूमिका निकै महत्वपूर्ण र उत्कृष्ट रहेको बताए । उनले विद्यार्थीलाई सही बाटोमा हिडाउन विद्यालयमात्र होइन, अभिभावकको भूमिका पनि महत्वपूर्ण हुने स्पष्ट पारे ।
सहायक प्राचार्य गंगाराम पौडेलले विद्यालयको गतिविधिमाथि प्रकाश पार्दै विद्यालय, शिक्षक, विद्यार्थी र अभिभावक बीचको सम्बन्ध सुमधुर हुनुपर्नेमा जोड दिए । कार्यक्रममा कक्षा ११ र १२ मा होटल व्यवस्थापनका विद्यार्थीले विभिन्न १५ प्रकारका खानाका परिकार, फाइन आर्टमा अध्ययनरत विद्यार्थीले विभिन्न चित्रकला प्रस्तुत गरेका थिए ।

Advertisement

सो अवसरमा शिक्षक संगीता भुषाललाई बेस्ट टिचर्स अवार्ड, उत्कष्ट शिक्षकबाट केशव घिमिरे, सरस्वती कार्की र जुनी गुरुङलाई सम्मान गरियो । कक्षा १२ मा फाइन आर्टमा अध्ययनरत एलिश दुतराज र जेसिस गुरुङलाई नगदसहित चियरमेन अवार्ड प्रदान गरियो ।

कार्यक्रममा वार्षिक परीक्षा, विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई समेत पुरस्कृत गरिएको थियो । सो अवसरमा विद्यार्थीले गीत, नृत्य लगायतका मनोरन्जनात्मक प्रस्तुति राखेका थिए ।

Advertisement

विद्यालय व्यवस्थान समिति अध्यक्ष बिजुलीबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा कक्षा १० की रीस्ता गुरुङ, शिक्षकहरु भावना लामिछाने, जुनी गुरुङ र संगीता भुषालले पनि बोलेका थिए । २०३८ सालमा स्थापित विद्यालयमा हाल ८ सय विद्यार्थी छन् । विद्यालयमा कक्षा १२ मा विज्ञान, व्यवस्थापन, होटल व्यवस्थापन र फाइन आर्ट पढाइ हुन्छ ।

तपाईको प्रतिक्रिया