
लेखनाथ ।
वेगनासतालमा पर्यटकीय गतिविधि बढाउने उद्देश्यले गत वर्ष जेठमा ल्याइएको मोटर बोट विगत छ महिनादेखि पानीमा तैरिरहेको छ । बेगनासताल डुंगा व्यवसायी समितिले करीब ५० लाख रुपैयाँको लागतमा खरिद गरेको आधुनिक मोटरबोट सञ्चालनको कानुनी बाटो खुलेको छैन । तालका जलचर र वातावरणमा असर गरेको भन्दै उच्च अदालत पोखरामा मोटरबोट सञ्चालनविरुद्ध मुद्दा दायर भएपछि ६ महिनादेखि मन्देरपार्कको ताल किनारामा प्लास्टिकले छोपेर मोटरबोट थन्क्याइएको छ ।
बेगनासताल डुंगा व्यवसायी समितिका तीन सय ३४ सेयर सदस्यहरूको सामूहिक लगानीमा खरिद गरिएको मोटरबोट मुद्दा मामिलाका कारण व्यावसायिक रुपमा सञ्चालन हुन नसकेको हो । मोटरबोटका बारेमा बेगनासताल मत्स्य व्यवसायी समिति र बेगनासताल डुंगा व्यवसायी समितिका बीचमा बढेको असहमतिका कारण पोखरा महानगरपालिकाले पनि मोटरबोट नचलाउनका लागि आदेश गरेको थियो । यसै बीच उच्च अदालत पोखराले गत कात्तिकमा व्यावसायिक रूपमा मोटरबोट सञ्चालनमा रोक लगाएपछि व्यवसायको लाखौंको पैसा पानीमा डुबेसरह भएको छ ।
उच्च अदालतको फैसला आफ्नो पक्षमा नभएको र पोखरा महानगरपालिकाले पनि मोटरबोटका बारेमा स्पष्ट रूपमा नियम नबनाएको कारण पछिल्लो समय बेगनासताल डुंगा व्यवसायीहरूले गत पुसमा आम भेलामा आफ्नो लगानी संकटमा परेको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । जसका लागि मोटरबोट खरिद गरेको कम्पनी नेपाल सिपबोटका अध्यक्ष लेखनाथ पौडेललाई मुद्दाका बारेमा अख्तियारी दिएको समितिका उपाध्यक्ष टीकाराम तिवारीले जानकारी दिएका छन् ।
बेगनासताल डुंगा व्यवसायी समितिको सोमबार भएको ३० औं साधारण सभामा अधिकांश वक्ताले उत्पन्न भएका समस्याको समाधानका उपाय निकाल्न पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यलाई आग्रह गरेपछि कुनै टुंगोमा नपुगेको गुनासो गर्दै यस क्षेत्रको आर्थिक, सामाजिक र पर्यटकीय गतिविधि बढाउन यहाँका सम्पूर्ण संघसंस्थाहरूले साझा एजेन्डा लिएर अघि बढ्नु पर्ने सुझाव राखे ।
कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्बर ३१ का वडाध्यक्ष ढकनाथ कँडेलले जनताको लगानीलाई सुरक्षित गर्नका लागि महानगरपालिकामा बारम्बार प्रयास गरे पनि सुनुवाइ नभएको गुनासो राखेका थिए । अब यस क्षेत्रका सरोकारवालाको भेलागरी उपयुक्त निकासको खोजीमा रहेको बताएका थिए ।
बेगनासताल डुंगा व्यवसायी समितिका अध्यक्ष रविराज कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्थानिय विभिन्न सामाजिक संघ–संस्थाका डेढ दर्जनभन्दा बढी प्रतिनिधिहरूले समस्याको निकासका लागि साझा अवधारणाको आवश्यकता औल्याउँदै वेगनासतालमा पर्यटकीय गतिविधि बढाउन मोटरबोट सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।

भीमपाणि बराल
बराल समाधान दैनिक र समाधानन्युज डटकमका लागि लेखनाथ ब्युरोचिफ हुन् ।
तपाईको प्रतिक्रिया