कोटीहोम गर्न अनुमति दिइसक्यौंः नेपाल ट्रस्ट

पोखरा ।
कोटी होम विराट ज्ञान महायज्ञ रोक्न नसकिने नेपाल ट्रस्टले स्पष्ट पारेको छ । पोखरा महानगरपालिकाले पर्यावरणीय प्रभाव, ट्राफिक व्यवस्थापन र हवाई उडानमा असर पर्ने भन्दै अनुमति खारेज गर्न आग्रह गरेपछि ट्रस्टले कानुनी रूपमा दिइएको अनुमति रद्द गर्न नमिल्ने जनाएको हो ।
नेपाल ट्रस्ट ऐन, २०६४ तथा कार्यविधि, २०७६ बमोजिम जग्गा भाडामा दिइएको र मानव सेवा फाउन्डेसनले तोकिएको राजस्व बुझाइसकेको हुँदा अनुमति रद्द गर्ने कुनै कानुनी आधार नरहेको जवाफ महानगरलाई जवाफ संस्थाले फर्काएको छ । महानगरपालिकाले विराट महायज्ञका गर्न दिइएको अनुमति रद्व गर्न आग्रह गरेको थियो ।
नेपाल ट्रस्टले मानव सेवा फाउन्डेसनलाई कानुनी प्रावधान अनुसार भाडामा दिने निर्णय गरेको थियो । यसका लागि पोखरा महानगरपालिका वडा नम्बर ६ कार्यालयले मंसिर ९ गते स्वीकृति प्रदान गरिसकेको थियो । त्यस्तै, जिल्ला प्रशासन कार्यालय कास्कीले जिल्ला प्रहरी कार्यालयलाई शान्ति सुरक्षाका लागि पत्राचार गरिसकेको पत्र हेरेर नै आफूहरुले अनुमति दिएको ट्रस्टले जनाएको छ ।
तर, मेयर धनराज आचार्यले भिडिओ सन्देश जारी गर्दै पोखरामा महायज्ञ नहुने घोषणा गरेका थिए । उनले पोखरा महानगरपालिकाले त्यसका लागि अनुमति नदिएको दाबीसमेत गर्दै आएका थिए । मेयर आचार्यले फेवाताल किनारमा महायज्ञ सञ्चालन हुँदा पर्यावरणीय प्रदूषण बढ्ने, आन्तरिक तथा बाह्य पर्यटकलाई असुविधा हुने र हवाई उडानमा असर पर्ने भएकाले पोखरा जस्तो सहरमा महायज्ञ हुन नसक्ने बताएका थिए ।
त्यस विषयमा ट्रस्टले पोखरा महानगरलाई जवाफ फर्काउँदै ट्रस्टको सम्पत्ति भाडामा दिने विषय ऐन, नियमावली र कार्यविधि अनुसार हुने र यसका लागि कुनै निकायको पूर्व स्वीकृति आवश्यक नपर्ने स्पष्ट पारेको छ ।
वरपीपल कटानको विरोध
पोखरा महानगरपालिका वडा नम्बर १४, १३ र ६ मा पुराना चौतारीका वरपीपलका रुख कटान गरिएको विषय सर्वत्र चर्चा छ । यसै सन्दर्भमा कस्केली वन प्राविधिक समाज, नेपालले एक प्रेस विज्ञप्ति जारी गर्दै सो कार्यप्रति गम्भीर ध्यानाकर्षण गराएको छ ।
समाजका अध्यक्ष केदारनाथ पौडेलद्वारा जारी गरिएको विज्ञप्तिमा स्थानीयले संरक्षण गर्दै आएका तथा धार्मिक आस्थासँग जोडिएका वरपीपलका रुख कटान हुँदा पोखराको पर्यावरणीय सन्तुलन प्रभावित भएको उल्लेख गरेको छ । माहायज्ञको बहानामा भएका यी कटान वैधानिक छन् या अवैध भन्ने स्पष्ट नभएको भन्दै समाजले यस विषयमा गहिरो छानबिन गर्न माग गरेको छ ।
विज्ञप्तिमा पोखरा महानगरपालिकाले सो रुख कटानको आधिकारिक अनुमति दिएको हो वा अवैध रूपमा कटान गरिएका हुन् भन्ने विषयमा छानबिन गर्न समाजको माग छ । रुखहरु कटान गर्ने दोषीहरुमाथि कानुनी कारबाही गर्नुपर्ने वन प्राविधिक समाजको माग छ ।
‘पर्यावरण संरक्षणका साथै स्थानीय बासिन्दाको धार्मिक आस्थाको सम्मान गर्न सरकार संवेदनशील हुनुपर्छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ । समाजले भविष्यमा यस्ता घटनाहरू दोहोरिन नदिन सरकार तथा सम्बन्धित निकायलाई आवश्यक नीति निर्माण गर्न पनि अनुरोध गरेको हो ।
तपाईको प्रतिक्रिया