तनहुँमा शिक्षिकाले गालामा तातो पनियोले डाम्दा तीन विद्यार्थी घाइते

समाधान संवाददाता २०८१ माघ ३० गते १८:४४

पोखरा ।
तनहुँको भिमाद नगरपालिकास्थित प्रभात एकेडेमी बोर्डिङ स्कुलकी लेखापाल तथा शिक्षिका शुस्मा श्रेष्ठले कक्षा ४ का विद्यार्थीलाई तातो पनियोले डाम्दा तीन जना बालबालिका घाइते भएका छन् । मंगलबार बिहान करिब ११ः३० बजे विद्यालयमा हल्ला गरेको भन्दै शिक्षिका श्रेष्ठले कारबाहीस्वरूप तीन जना विद्यार्थीलाई खाना पकाउने तातो पनियोले गालामा डामेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी इन्स्पेक्टर राजु अधिकारीले जानकारी दिए ।

शिक्षिका श्रेष्ठले सुरुमा एक विद्यार्थीलाई तातो पनियोले डामेको घटना सार्वजनिक भएको थियो । तर, बुधबार बालकका परिवारले जाहेरी दिएपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा अन्य दुई विद्यार्थीलाईसमेत तातो पनियोले डामेको खुलेको इन्स्पेक्टर अधिकारीले जानकारी दिए । शिक्षिका श्रेष्ठलाई नियन्त्रणमा लिएर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको उनले बताए । प्रहरीले बालबालिका विरुद्धको कसुरमा अनुसन्धान अगाडि बढाएको छ ।

Advertisement


विद्यार्थी माथि भएको उक्त घटनालाई लिएर अभिभावक तथा सामाजिक अभियन्ताहरूले दोषीमाथि कडा कारबाहीको माग गर्दै विद्यालय प्रशासनको लापरबाहीबारे पनि छानबिन गर्नुपर्ने माग गरेका छन् । नेपालको संविधान, बाल अधिकारसम्बन्धी ऐन, २०७५ तथा फौजदारी संहिता, २०७४ अनुसार, बालबालिकालाई शारीरिक वा मानसिक यातना दिनु कानुनी अपराध हो । बाल अधिकारसम्बन्धी ऐन, २०७५ को दफा ६६ अनुसार, शिक्षालयभित्र बालबालिकालाई शारीरिक वा मानसिक यातना दिनु गैरकानुनी भनेको छ । कसैले यस्तो कार्य गरेमा एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुन सक्छ ।

Advertisement

तपाईको प्रतिक्रिया