अदालतबाट दोषी ठहर भई फरार १५३ जना पक्राउ

समाधान संवाददाता २०८१ माघ ३० गते २०:३७

पोखरा । कास्की प्रहरीले अदालतबाट दोषी ठहर भई फरार रहेका १५३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा १२५ जना पुरुष र २८ जना महिला रहेका छन्। उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले माघ १ गतेदेखि ३० गतेसम्मको अवधिमा पक्राउ गरेको हो।

Advertisement

पक्राउ परेकाहरुबाट ५ वर्ष २ महिना १६ दिन कैद सजाय र १ करोड ५२ लाख ४८ हजार ८ सय ८६ रुपैयाँ जरिवाना असुल गर्न बाँकी रहेको छ। उनीहरुलाई फैसला कार्यान्वयनको लागि अदालतमा पेश गरिएको छ।

पक्राउ पर्नेहरुमा चेक अनादर मुद्दामा ९६ जना, लागुऔषध मुद्दामा १४ जना, बैंकिङ कसुरमा १८ जना, अभद्र व्यवहारमा ५ जना, न्यूनस्तरको खाद्य उत्पादन बिक्री गरेकोमा २ जना, स्वास्थ्यकर्मी तथा संस्थाको सुरक्षा सम्बन्धी मुद्दामा २ जना, सवारी ज्यान मुद्दामा १ जना, कुटपिट मुद्दामा १ जना, जालसाजी मुद्दामा ४ जना, लेनदेन मुद्दामा १ जना र चोरी मुद्दामा ९ जना रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षाक अविनाशदिप जिसीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया