ट्याक्सी चढ्नेले लगबुक भर्नुपर्ने

पोखरा ।
यात्रु र सवारी चालकको व्यक्तिगत सुरक्षा तथा अपराधिक क्रियाकलाप रोकथाम नियन्त्रणका लागि पोखरामा ट्याक्सी चढ्दा हरेक यात्रुले लग बुक भर्नुपर्ने भएको छ । त्यसका लागि बुधबारदेखि समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सुरक्षित तथा अभिलेख युक्त यात्रा विवरण (ट्याक्सी यात्रु लग बुक) कार्यक्रम २०८१ सुरुवात भएको छ ।
अपराधरहित सुरक्षित समाज निर्माणका लागि वडा प्रहरी कार्यालय बैदामको पहलमा प्रत्येक ट्याक्सीमा लक बुक राख्न थालिएको हो । पोखरेली ट्याक्सी सेवा प्रालि नयाँबजार र ए वान ग्रेटर यातायात प्रालि पोखराको विशेष सहकार्य र सहयोगमा कार्यक्रम अगाडि बढाइएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष निरौलाले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले कार्यक्रम सुरुआत गर्दै नेपाल प्रहरी र यातायात व्यवसायी दुबैको सरोकार शान्ति, सुरक्षा कायम गर्नु रहेको बताए । हरेक चालकले ट्राफिक नियमको पालना गर्नुका अलावा सेवा प्रवाह गर्न यात्रुको पहिचान तथा विवरण संकलन गर्नु महत्वपूर्ण हुने उनले उल्लेख गरे ।
‘पोखरा आउने पाहुनालाई पहिलो स्वागत गर्ने व्यक्ति ट्याक्सी व्यवसायी भएकाले नम्र बोली, मीठो व्यवहार गर्नु पर्छ,’ उनले भने, ‘यात्रुको अभिलेख युक्त यात्राको कारण पर्यटकलाई सकारात्मक प्रभाव पर्छ । लक बुकले ट्याक्सी सेवाको छवि उच्च बनाउनुका साथै मर्यादित र व्यवस्थित बनाउन सहयोग पुग्छ ।’ उनले अभिलेख प्रणालीले यात्रु र यातायात व्यवसायीबीच नियन्त्रण र सन्तुलनको काम गर्ने दाबी गरे ।
ओलियाले प्रणालीले ट्याक्सी सेवालाई गुनासोरहित पारदर्शी बनाउनुका साथै शान्ति सुरक्षा र अपराधरहित समाज निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले लक बुकलाई व्यवस्थित गरेपछि यात्रुको सामान छुटेमा, यात्रु तथा चालकले एक अर्कालाई दुव्र्यवहार गरेको खण्डमा नियन्त्रण गर्न सहज हुने सुनाए ।
वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायब उपरीक्षक निरौलाले पोखरामा सञ्चालन हुने ट्याक्सीमा सवार हुने व्यक्तिको विवरण राखी सुरक्षित तथा अभिलेखयुक्त व्यवस्था सुरक्षित समाज निर्माण गर्नु आम नागरिकको परिकल्पना भएको दाबी गरे । उनले दुई ट्याक्सी सेवा प्रालिबाट सुरुवात अभियानमा सबै व्यवसायीलाई समेट्ने जानकारी दिए ।
पोखरेली ट्याक्सी सेवा प्रालि र ए वान ग्रेटर यातायात प्रालिका ट्याक्सीबाट अभियान सुरु
यात्रु लक बुक प्रणालीले ट्याक्सी व्यवसायी माथि हुनसक्ने दुव्र्यवहार, भाडा नदिने समस्याको कारवाहीका लागि सहज हुने उल्लेख गर्दै उनले ट्याक्सीमा सवार व्यक्तिको सामान छुट्ने, हराउन सक्ने समस्याको समाधान हुने बताए । उनले लक बुकमा कास्कीका सबै प्रहरी कार्यालयको सम्पर्क नम्बर भएकाले तत्काल प्रहरीलाई सूचना दिन सकिने उल्लेख गरे । उनले अभियानले सवारी दुर्घटना न्यूनीकरणमा सहजीकरण गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की प्रमुख प्रहरी निरीक्षक शोभा पाण्डेले ट्याक्सी पोखरा भ्रमण गर्ने यात्रुले प्रयोग गर्ने पहिलो सवारी साधन भएको बताइन् । उनले अभिलेखिकरण सहितको यात्रु लग बुक कार्यक्रमले यात्रालाई सुरक्षित र सुनिश्चित गर्ने उल्लेख गरिन् ।
पृथ्वी राजमार्ग बस कम्पनी प्रालिका अध्यक्ष योगेन्द्र केसीले यात्रु तथा स्वयं सवारी चालकको सुरक्षाका लागि ट्याक्सी यात्रु लगबुक कार्यक्रमले सहयोग पुग्ने बताए । उनले पर्यटनलाई प्रवद्र्धन गर्न तथा यात्रुलाई प्रस्थान बिन्दुबाट गन्तव्य स्थलमा लैजान लगबुक सारथी बन्ने विश्वास व्यक्त गरे ।
पोखरेली ट्याक्सी सेवा प्रालि अध्यक्ष शोभाकान्त पौडेलले पर्यटनको राजधानी पोखरा हवाई तथा स्थलमार्गबाट आउने पर्यटकलाई पहिलो स्वागत गर्ने व्यक्ति ट्याक्सी चालक भएको बताए । उनले लक बुकलाई व्यवस्थित गर्न सके व्यवसायलाई सुरक्षित र मर्यादित बनाउन सकिने उल्लेख गरे ।
उनले प्रालिमा आबद्ध १ हजार ५ सय ६१ जना व्यवसायीले यात्रु लक बुक कार्यक्रमलाई लागू गर्ने प्रतिबद्धता जनाए । ए वान ग्रेटर यातायात प्रालिका अध्यक्ष अर्जुन पौडेलले यात्रुलाई लक्षित गरेर लग बुक कार्यक्रम ल्याएकाले सही विवरण दिन आम यात्रुलाई आग्रह गरे । उनले गलत काम गर्ने शंकास्पद व्यक्ति लागेको खण्डका प्रहरीलाई खबर गर्न सवारी चालकहरुलाई अनुरोध गरे ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष विष्णुबहादुर भट्टराई, सामुदायिक सेवा तथा सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिका वरिष्ठ उपाध्यक्ष मनपति भण्डारी, वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक किरण थापामगर लगायतले सुरक्षित र अभिलेखयुक्त यात्रा विवरणबारे बोलेका थिए ।









डुंगा दौड जित्नेलाई खसी
समानुपातिकमा २२ दलको मात्रै पूर्ण उम्मेदवारी
सम्पादकीय—नयाँ शक्तिको ध्रुवीकरण आशा कि अराजकता ?
यस्तो छ कांग्रेसको समानुपातिक सूची आयोगमा : अर्जुननरसिंहदेखि राष्ट्रपतिकी छोरीसम्म (सूचीसहित)
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया