सम्पादकीय—नयाँ दललाई दिल्लीको सन्देश

समाधान संवाददाता २०८१ फागुन १ गते ११:३६

नेपालमा वैकल्पिक शक्तिबको बहस चल्दा छिमेकी भारतको राजधानी नयाँदिल्लीमा उदाएको आम आदमी पार्टी (आप) को उदाहरण बारम्बार दिइने गर्छ । भ्रष्टाचार विरोधी आन्दोलनका माध्यमबाट आपको उदय भएको थियो । यसको नेतृत्व अरविन्द केजरीवालले गरेका थिए । भ्रष्टाचार विरोधी आन्दोलनबाट उदाएर शिक्षा, स्वास्थ्य जस्ता एजेन्डामा आफूलाई केन्द्रीत गरेको आप मध्यम वर्गमा लोकप्रिय थियो ।

Advertisement

त्यसै कारण भारतीय राष्ट्रिय कंग्रेस र भारतीय जनता पार्टी जस्ता ठूला राजनीतिक शक्तिको गठबन्धनलाई हराएर आपले दिल्लीमा शासन गर्दै आएको थियो । देशकै राजधानीमा चलिरहेको आपको सत्ता भाजपालाई मन परेको थिएन । कंग्रेसको पनि आपसँग प्रतिस्पर्धा हुन्थ्यो । तर पनि दिल्लीमा आपको रजगज थियो । भर्खरै सकिएको चुनावमा भने झण्डै तीन दशकपछि भाजपाले दिल्ली संसदमा बहुमत ल्याएको छ । ७० सिटमध्ये बहुमत जितेर भाजपाले सरकार बनाउदा आप प्रमुख विपक्षी दल बनेको छ । यति हुँदा पनि कांग्रेस आइले दिल्लीमा खाता खोल्न सकेन ।


भाजपाले ४८ सिट जित्दा आपले २२ सिटमात्र जितेको छ । यसले आपलाई ठूलो झट्का लागेको छ । दिल्लीमा अपनाएको आप शैली देशभर फैलाउने योजनामा केजरीवाल थिए । अरू प्रदेशमा पनि आक्रामक तरिकाले केजरीवाल प्रस्तुत भएपछि नरेन्द्र मोदी नेतृत्वको सरकार र भाजपालाई टाउको दुखाई बनेको थियो । मदिरा बिक्री नीतिसम्बन्धी दिल्ली सरकारले गरेको निर्णयकै आधारमा बहालवाला मुख्यमन्त्री केजरीवाललाई मुद्दा चलाइनु र हिरासतमा राख्नुबाटै भाजपा सरकारको मनोविज्ञान सहज रुपमा बुझ्न सकिन्थ्यो । तिनै केजरीवालको पार्टीले दिल्लीमै बहुमत गुमाएसँगै वैकल्पिक/नयाँ राजनीतिक शक्तिप्रतिको मनोविज्ञानमा पनि ठूलो असर पर्न सक्ने आकलन गरिएको छ । मुख्य शक्ति नै विकल्प रहेंछ भन्ने सन्देश छिमेकी देशहरुमा समेत पर्नु स्वभाविक हो ।


अझ नेपालमा त्यसको बलियो प्रभाव देखिन सक्छ । दिल्लीकै उदाहरण दिएर नेपालमा पनि वैकल्पिक र नयाँ राजनीतिक शक्तिबारे बहस हुने गरेको छ । यहाँ पछिल्लो आमनिर्वाचनमा अभ्यासमा समेत केही सफलता देखिएको थियो । तर दिल्लीमा आप संकटमा पर्दा त्यसको बाछिटा अरुतिर पर्ने निश्चित छ । यसो भए पनि आपकै घटनाबाट पनि पाठ सिक्नचाहिँ सकिन्छ । विकल्प भनेर आएकाहरुले सत्ता वा सत्तामा पुगेर गर्ने निर्णयमा विशेष ध्यान दिन आवश्यक पर्छ । आप अरुको कारणले मात्र सत्ताबाट बाहिरिनु परेको होइन । आपबाट पनि कमजोरी भए भएका थिए, जसको जस अरु दलले उठाए ।

गएको निर्वाचनामा मधेशमा उदायका जनमत र नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय दल नै बनेको राष्ट्रिय स्वतन्त्र पार्टीले आपबाट सिक्न जरुरी छ । सत्ताबाहिर हुँदा आलोचना गर्न जति सहज छ, संसद र सत्तामा पुगेपछि कार्यान्वयनको भागिदार पनि बन्नुपर्छ । नयाँ शक्तिका स्थापित हुन पुराना शक्तिका कमजोरी त्याग्नुपर्छ, न कि तिनै कमजोरीमा रमाउनु हुन्छ । नेपालका नयाँ शक्तिहरुलाई भनेकै जसो गर्न दिल्लीले सन्देश दिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया