आफ्नै भवनबाट नमस्ते हस्पिटलको सेवा

पोखरा ।
पोखराको मुस्ताङचोकमा नमस्ते हस्पिटल एन्ड रिसर्च सेन्टरले आफ्नै भवनबाट सेवा सुरु गरेको छ । स्थापनाको १३ औं वर्षको उपलक्ष्यमा सो नवनिर्मित अत्याधुनिक भवन सञ्चालनमा ल्याइएको हो ।
करिब १८ करोडको लगानी रहेको सो अस्पतालमा इमर्जेन्सी लगायत २५ शैया छन् । यस अगाडि पोखरा–१७ बिरौटामा रहेर सेवा दिइरहेको थियो । पेट, छाती, मुटु, हाडजोर्नी, नशा, बाथ, जोर्नी प्रत्यारोपण, स्पोर्टस इन्जुरी, स्त्री तथा प्रसूति, निसन्तान (बाँझोपन), बालरोग लगायतका विशेषज्ञ सेवा यहाँ छन् । अस्पतालमा आईसियुको आवश्यकतालाई महसुस गरी अस्पतालले ६ शय्याको सघन उपचार कक्ष (आइसियु) समेत सञ्चालनमा ल्याएको अस्पतालका निर्देशक प्राडा ईश्वरप्रसाद कँडेलले जानकारी दिए ।
अस्पतालका अध्यक्ष डा. मनबहादुर गुरुङले चौबिसै घण्टा सेवा दिनुका साथै वार्षिकोत्सवको अवसरमा हस्पिटलमा एक सातासम्म विभिन्न उपचारमा १५ प्रतिशतसम्म छुट रहेको जानकारी दिए । उनले अस्पताललाई विशेषज्ञको सेवा केन्द्रित बनाउने वाचा गरे ।
अस्पतालका सञ्चालक समिति सदस्य रुकबहादुर गुरुङले बिरामीको सेवाका लागि मासिक रुपमा निःशुल्क शिविर क्याम्पसमेत राखिने जानकारी दिए । कार्यक्रममा पार्दी माविका प्राचार्य वामदेब पौडेल, सिद्धार्थ राजमार्ग टोल विकास संस्था अध्यक्ष आत्मा तुलाचन, ग्लोबल आइएमई बैंक गण्डकी प्रदेश प्रमुख सुशोभन देवकोटा लगायतले बोलेका थिए ।
तपाईको प्रतिक्रिया