पार्टी अध्यक्षमा बाबुरामसँग प्रतिस्पर्धा गरेका कास्कीका नेत्रलाई ७३ मत, बाबुराम निर्वाचित

पोखरा ।
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवार नेत्रप्रसाद चापागाईंले बाबुराम भट्टराईसँगको प्रतिस्पर्धामा हार बेहोरेका छन्। कास्कीका चापागाईंले ७३ मत मात्र प्राप्त गरेका छन् भने भट्टराईले ७६१ मत ल्याएर ६८८ मतान्तरले जित हासिल गरेका छन्।
चापागाईं नेपाल समाजवादी विद्यार्थी युनियनका निवर्तमान अध्यक्ष हुन्। उनी शैक्षिक क्षेत्र सुधारका लागि आन्दोलन गर्दै आएका थिए। उनले बाबुराम भट्टराईलाई निर्विरोध अध्यक्ष नछाड्ने भन्दै अध्यक्ष पदमा उम्मेदवारी दिएका थिए। तर, उनको चुनौतीले भट्टराईसँग प्रतिस्पर्धा गर्न सकेन।
माघ २९ गते सम्पन्न मतदानको नतिजा बिहीबार सार्वजनिक भएको हो। महाधिवेशनमा १३२४ जना प्रतिनिधि सहभागी भएका थिए भने जम्मा ८२६ मत खसेको थियो।
यसै महाधिवेशनबाट उपाध्यक्षमा ईश्वर रिजाल, टेकबहादुर बाठा मगर, उमेश साह, मानुषी यमी भट्टराई र दुर्गा सोब निर्वाचित भएका छन्। महासचिवमा सोनामसिं स्याङतान निर्वाचित भएका छन् भने सचिवमा आशाकुमारी तामाङ, लक्ष्मी कार्की सन्देश र भरत दाहाल निर्वाचित भएका छन्। कोषाध्यक्षमा हरिप्रसाद रिजाल निर्वाचित भएका छन्।
पार्टीको ९९ सदस्यीय केन्द्रीय समितिका ७० पदका लागि निर्वाचन सम्पन्न भएको थियो।
तपाईको प्रतिक्रिया