कोटिहोम आयोजनामा बाधा नगर्न महानगरलाई उच्च अदालतको आदेश

समाधान संवाददाता २०८१ फागुन १ गते १७:३८

पोखरा

Advertisement

उच्च अदालत पोखराले पोखराको वाराहीघाटस्थित ४८ रोपनी क्षेत्रफलमा आयोजना गर्न लागिएको ‘श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ’ सञ्चालनमा कुनै बाधा अवरोध नगर्न आदेश जारी गरेको छ। अदालतले मानव सेवा फाउण्डेशन नेपाल, पोखरा शाखाको निवेदनमाथि सुनुवाइ गर्दै कानूनी रूपमा बाधा पुग्ने कुनै कारण बाहेक अन्य कुनै पनि अवरोध सिर्जना नगर्न विपक्षी पोखरा महानगरपालिकालगायत सम्बन्धित पक्षलाई निर्देशन दिएको छ।

मानव सेवा फाउण्डेशनले नेपाल ट्रष्टको स्वामित्वमा रहेको वाराहीघाटको करिब ४८ रोपनी जग्गा भाडामा लिएर २०८2 वैशाख सुरुदेखि ३० गतेसम्म कोटीहोम विराट ज्ञान महायज्ञ आयोजना गर्ने तयारी गरिरहेको छ। महायज्ञ सञ्चालनका लागि नेपाल ट्रष्टको कार्यालय, काठमाडौंले तोकिएको भाडा लिएर अनुमति दिएको छ भने पर्यटन, उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, पोखराले समेत सहमति प्रदान गरिसकेको छ। साथै, पोखरा महानगरपालिका वडा नं. ६ कार्यालयले मिति २०८१ मंसिर ९ गते पत्रमार्फत अनुमति प्रदान गरेको देखिन्छ।

तर, पोखरा महानगरपालिकाले नेपाल ट्रष्टलाई पत्राचार गर्दै महायज्ञ सञ्चालनका लागि महानगरको तर्फबाट अनुमति नदिएको जनाएको थियो। यस निर्णयलाई गैरकानुनी ठहर गर्दै मानव सेवा फाउण्डेशनले उच्च अदालत पोखरामा उत्प्रेषण परमादेशसहितको निवेदन दिएको थियो।

निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता कृष्णबहादुर थापा तथा अधिवक्ताहरू ईश्वर चिलुवाल र तोयानाथ पौडेलले बहस गरेका थिए। बहसमा निवेदकले महायज्ञ सञ्चालन गर्न कानूनी रूपमा आवश्यक सबै प्रकृया पूरा गरिसकेको, आयोजनाले कुनै पनि हानि नोक्सानी नपुर्‍याउने तथा कुनै क्षति भएमा त्यसको जिम्मेवारी फाउण्डेशनले व्यहोर्ने प्रतिवद्धता जनाइसकेको तर्क प्रस्तुत गरिएको थियो।

Advertisement

उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्दको इजलासले उक्त निवेदनमाथि सुनुवाइ गर्दै मानव सेवा फाउण्डेशनले प्राप्त गरेका अनुमति पत्रहरू, नेपाल ट्रष्ट र सम्बन्धित सरकारी निकायहरूको निर्णय तथा महायज्ञ आयोजनाका लागि गरिएको तयारीलाई आधार मान्दै विपक्षी पोखरा महानगरपालिका र मातहतका निकायहरूलाई कानूनी रूपमा बाधा पुग्ने कुनै कारण बाहेक अन्य कुनै पनि अवरोध सिर्जना नगर्न आदेश दिएको हो।

यस आदेशपछि कोटीहोम विराट ज्ञान महायज्ञ सञ्चालनमा कानूनी अड्चन हटेको फाउण्डेशनले जनाएको छ। अदालतको निर्णयपछि आयोजनाको तयारीलाई थप तीव्रता दिने फाउण्डेशनका पदाधिकारीहरू बताउँछन्। महायज्ञ आयोजना गरिनुपर्ने स्थानमा पूर्वनिर्धारित कार्यक्रमअनुसार काम अघि बढाइने र सहभागीहरूको सहजताका लागि आवश्यक पूर्वाधारहरू निर्माण गरिने फाउण्डेशनका प्रतिनिधिहरूले जनाएका छन्।

तपाईको प्रतिक्रिया