ऐतिहासिक चौतारा कटानप्रति संरक्षणकर्मीको चासो, दोषीमाथि कारवाहीको माग

समाधान संवाददाता २०८१ फागुन १ गते १९:२६

पोखरा । पोखराका विभिन्न स्थानका चौतारीका वर, पिपल र समीका रुख काटिएको घटनाप्रति संरक्षणकर्मीहरूले गम्भीर आपत्ति जनाएका छन् । उनीहरूले यस कार्यलाई वातावरणीय तथा सांस्कृतिक दृष्टिले हानिकारक भन्दै दोषीलाई कानुनी कारबाहीको माग गरेका छन् ।

Advertisement

विकासका नाममा प्राकृतिक सम्पदामाथि दोहन भइरहेको भन्दै उनीहरूले यस्तो कार्य दोहोरिन नदिन कानुनी कठोरता अपनाउनुपर्ने बताएका छन् । संरक्षणकर्मीहरूको बिहीबार बिहान पोखरामा बसेको भेलाले पोखराका ऐतिहासिक चौतारामा भएका रुख कटानलाई गैरकानुनी भन्दै संलग्न व्यक्तिहरूविरुद्ध कानुनी प्रक्रिया अघि बढाउन माग गरेको छ । संरक्षण अभियन्ता डा. अनिल सुवेदीले जथाभावी रुख कटानलाई गम्भीर विषय भन्दै दोषीहरूलाई कारबाही हुनुपर्ने बताए । ‘धर्मका नाममा प्रकृतिमाथि हस्तक्षेप गर्नु आपत्तिजनक छ । कानुनबमोजिम कडा कारबाही हुनुपर्छ,’ डा. सुवेदीले भने, ‘यसअघि पनि यस्ता ऐतिहासिक रुखहरू काटिएका छन्, तर कारबाही भने भएको छैन ।’

बालयोगेश्वर विजय कृष्णमूर्ति भनिने विजय भण्डारी नेतृत्वको मानव सेवा फाउन्डेसनले वैशाख १ देखि ४५ दिनसम्म पोखरामा कोटीहोम आयोजना गर्ने भन्दै वर, पिपल र समीका रुख कटान गरेको थियो । चौतारी मासेर फाउण्डेसनले संकलन गरेको काठ पोखरा महानगरपालिकाले नियन्त्रणमा लिइसकेको छ ।

Advertisement

पोखराका संरक्षण अभियन्ता डा. अनिल सुवेदी, रामबहादुर पौडेल, विकास अधिकारी, हेमन्त ढकाल, रामकाजी श्रेष्ठ, अधिवक्ता भगवती पहारी, कल्याण पन्त लगायत सरोकारवालाको सहभागितामा बसेको बेलाले दोषीलाई कानुनी दायरामा ल्याई कडा कारबाही गर्न माग गर्ने साझा धारणा तय गरेको छ । भेलापछि जारी गरिएको अपिलमा भनिएको छ, ‘पोखराका ६, १३, १४ लगायतका वडामा पछिल्लो समयमा वर, पिपल, समीका रूख नष्ट गर्ने नियतले ठुन्काउने काम भइरहेको छ । यस्तो कार्यले सम्पूर्ण नागरिक समाज र संरक्षणकर्मीलाई मर्माहत बनाएको छ ।

बिना सोचविचार रुख काटिँदा पर्यावरणीय सन्तुलन खल्बलिनुका साथै धार्मिक महत्वसमेत गुम्ने अवस्था आएको अपिलमा भनिएको छ । यस्तो गतिविधिले जैविक विविधतामा समेत प्रतिकूल असर पु¥याउने भएकाले दोषीहरूलाई अविलम्ब कानुनी कारबाही हुने पर्ने माग गरिएको नागरिक समाज पोखराका अगुवा रामबहादुर थापाले बताए । ‘यदि आवश्यक परे कानुन निर्माण र संशोधन गरी यस्ता गतिविधि रोक्न कडा प्रावधान लागू गरिनुपर्छ,’ अपिलमा भनिएको छ ।

Advertisement

पोखराका मेयर धनराज आचार्यले पोखरमा कोटीहोम गर्न अनुमति नदिने बताएका छन् भने विजय कृष्णमूतिले ‘धर्मका नाममा अधर्म गर्न पनि तयार रहेको’ भन्दै दिएको अभिव्यक्ति दिएका छन् ।

तपाईको प्रतिक्रिया