
जोमसोम ।
आर्थिक वर्ष २०८०/०८१ को कार्यसम्पादन मूल्यांकनमा मुस्ताङको लोमान्थाङ गाउँपालिका जिल्लामा उत्कृष्ट भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बिहीबार सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार लोमान्थाङ गाउँपालिकाले ६७ दशमलव ६ अंक प्राप्त गरी जिल्ला स्तरमा पहिलो बनेको हो ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार लोमान्थाङ गाउँपालिकालाई पछ्याउँदै मुस्ताङको घरपझोङ गाउँपालिका जिल्ला स्तरमा दोस्रो स्थान प्राप्त गरेको छ । लोमान्थाङ गाउँपालिका जिल्ला स्तरमा पहिलो हुँदा घरपझोङ गाउँपालिकाले ६१ दशमलव २ अंक प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेको हो ।
लोघेकर दामोदरकुण्ड गाउँपालिकाले ५९ दशमलव ६ अंक, थासाङ गाउँपालिकाले ५१ दशमलव ९ अंक र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका पुछारमा पर्दै ४२ दशमलव ९ अंक प्राप्त गरेको छ । स्थानीय तहको कार्यसम्पादनकै आधारमा संघीय सरकारले वित्तिय समानीकरण अनुदान बजेट विनियोजन गर्ने भएकाले वित्त आयोगमा नतिजा स्थानीय तहका लागि महत्वपूर्ण परीक्षणको रुपमा लिने गरिएको छ ।
आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि २०७८ अनुसार विभिन्न १७ सूचकको आधारमा मूल्यांकन गरेको छ । जसमा असार १० भित्र बजेट पेश गरेनगरेको, असार मसान्त भित्र बजेट पारित गरेरनगरेको, आय व्ययको प्रक्षेपण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेश गरेरनगरेको, बजेटको वर्षिक समिक्षा गरी कार्तिक मसान्तभित्र सार्वजनिक गरेरनगरेको, विनियोजित रकम अनुसार खर्चको व्यवस्था, बेरुजुको अवस्था स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र)को प्रयोग गरेरनगरेको लगायतका सूचकहरुको आधार मुल्यांकन गरिएको हो ।
त्यस्तै, आवधिक योजना तर्जुमा गरेरनगरेको, कक्षा १ देखि ८ सम्म खुद विद्यार्थी भर्ना दर, कक्षा ८ को तुलनामा कक्षा ९ मा विद्यार्थी टिकाउ दर, सामुदायिक विद्यालयबाट कक्षा १० मा १.६ भन्दा वा सो भन्दा उच्च जीपीए प्राप्त गरेका विद्यार्थी प्रतिशत, ४ पटक गर्भजाँच गरेका महिलाको अनुपात, कुल गर्भवतीमध्ये स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको अनुपात, पूर्ण खोप पाएका बालबालिकाको अनुपात लगायतका सूचकहरु रहेका छन् ।
स्थानीय तहलाई संघीय संचित कोष तथा प्रदेश संचित कोषबाट प्रदान गर्ने वित्तीय समानीकरण अुनदान अन्तर्गत् कार्यसम्पादन मूल्यांकनका आधारमा अनुदान सिफारिसको लागि आयोगले कार्यसम्पादन मूल्यांकन गर्ने गर्छ । यो मूल्यांकन स्थानीय तहबीचको सकारात्मक प्रतिस्पर्धाको रुपमा लिने गरिएको छ ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्
तपाईको प्रतिक्रिया