९ वटा नयाँ विधेयक पेस गर्छाैंः मुख्यमन्त्री पाण्डे

समाधान संवाददाता २०८१ फागुन ३ गते ५:२५

पोखरा । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशनको दोस्रो बैठक शुक्रबार बसेको छ । बैठकलाई दलका नेताहरुले सम्बोधन गरे । नेताहरूले अधिवेशनलाई प्रभावकारी बनाउन र विधेयक निर्माणलाई प्राथमिकता दिनुपर्ने जोड दिएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हिउँदे अधिवेशनमा सरकार विधेयक निर्माण प्रक्रियामा तीव्र गतिमा अघि बढ्ने सुनाए ।

Advertisement

एउटा अधिवेशन भएको ६ महिनाभित्र अर्काे अधिवेशन बोलाउनुपर्ने प्रावधान रहे पनि यसपटक ४ महिनामै सुरु गरिएको पाण्डेले सुनाए । यसअघि बोलेका राप्रपा दलका नेता पञ्चराम गुरुङले प्रदेश सभा लामो समय बन्द हुँदा केही सांसदको अनुहार नै बिर्सिन लागेको बताएका थिए । लगत्तै बोलेका मुख्यमन्त्री पाण्डेले व्यंग्य गर्दै भने, ‘संविधानलाई नमान्ने त ठिकै थियो, तर साथीहरूको स्मरणशक्ति नै हराउनु भएन । स्मरणशक्ति ताजा राख्न अब कानुन ल्याउनुपर्ने देखियो ।’

मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारका तर्फबाट विभिन्न विधेयकहरू अघि बढाइएको जानकारी दिए । हाल गण्डकी प्रदेश औद्योगिक व्यवसायी ऐन २०७५ संशोधन गर्न बनेको विधेयक छलफलमा रहेको छ भने सामूहिक कर असुल गर्ने विधेयक अगाडि बढिरहेको पाण्डेले सुनाए । गण्डकी निजामती ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक पनि सभामा प्रस्तुत भइरहेको उनले उल्लेख गरे ।

उनका अनुसार सार्वजनिक सडक विस्तार तथा मर्मत संभार, साझेदारी वन नियमन तथा व्यवस्थापन, र जीवनाशक विषादीको व्यवस्थापनसम्बन्धी विधेयकहरू हाल समितिमा छलफलको क्रममा छन् । यसबाहेक यो अधिवेशनमा अरू ९ वटा विधेयक पनि सभामा पेस गर्न मन्त्रिपरिषद्ले स्वीकृति गरेको सुनाए ।

सत्तारुढ तथा एमाले प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले यो अधिवेशनलाई ‘विधेयक अधिवेशन’ बनाउँदै अघि बढ्नुपर्नेमा बताए । ‘हामीले अहिलेसम्म ७३ वटा विधेयक निर्माण गरेका छौं । ३ वटा छलफल प्रक्रियामा छन् भने २ वटा सचिवालयमा दर्ता भएका छन् । केही नयाँ विधेयकहरू आउने क्रम जारी छ,’ उनले भने ।

प्रदेश सभाले कानुन बनाएरमात्र नहुने भन्दै कार्यान्वयन गराउनेतर्फ पनि ध्यान दिनुपर्ने उनले बताए । ‘सरकारी कार्यालयमा हाम्रा कानुनहरू प्रभावकारी रूपमा पुगेका छन् कि छैनन् ? तिनको उचित कार्यान्वयनका लागि आवश्यक वातावरण निर्माण भएको छ कि छैन? यस विषयमा गम्भीर छलफल आवश्यक छ,’ उनले भने, ‘कानुन निर्माण गरिन्छ, पछि तिनको औचित्य नदेखिनुको कारण के हो? यसबारे ध्यान केन्द्रित हुनुपर्छ ।’

Advertisement

तपाईको प्रतिक्रिया