बेँसीसहरमा सहकारी लेखा तालिम

पोखरा । सहकारी रजिस्ट्रारको कार्यालय, गण्डकीको आयोजनामा लमजुङको बेँसीसहरमा तीनदिने सहकारी लेखा व्यवस्थापन तालिम भएको छ । जिल्ला सहकारी संघ लमजुङ र जिल्ला बचत तथा ऋण सहकारी संघ लमजुङको समन्वयमा कार्यक्रम भएको हो ।
तालिममा सहकारीको अवधारणा, सिद्धान्त, मूल्य, मान्यता र तिनको व्यावहारिक प्रयोग, साधारणसभा, सञ्चालक तथा लेखा सुपरीवेक्षण समितिका काम, कर्तव्य र अधिकार, सहकारीमा सुशासन र यसको प्रयोगबारे प्रकाश पारिउको छ । सहकारीसम्बन्धी कानुनी व्यवस्था, सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनी व्यवस्था, सहकारीमा ऋण लगानी तथा असुली व्यवस्थाका सम्बन्धमा कक्षा सञ्चालन गरिएको थियो ।
तालिममा सहकारी रजिस्ट्रार भेषराज रिजाल, जिल्ला समन्वय अधिकारी रोशन अर्याल, शाखा अधिकृत ईश्वरी ढकाल र वित्तीय विश्लेषक निर्मल गौतमले कक्षा सहजीकरण गरेका थिए । तालिममा लमजुङ जिल्लाका बेँसीसहर नगरपालिका, सुन्दरबजार नगरपालिका, मध्यनेपाल नगरपालिका, राइनास नगरपालिका, मस्र्याङ्दी गाउँपालिका, दूधपोखरी गाउँपालिका र क्वलासोथर गाउँपालिकाका विभिन्न सहकारी संस्थाका सञ्चालक, लेखा सुपरीवेक्षण समिति सदस्य र व्यवस्थापक गरी २५ जनाको सहभागिता थियो ।
कार्यक्रममा जिल्ला समन्वय प्रमुख पूर्णबहादुर गुरुङले नेपालमा पनि सहकारीको सुरुवात गाउँस्तरमा छरिएको पुँजीको उचित तवरले परिचालन गर्ने मनसायले भएको बताए । उनले सहकारी संस्थाहरु नियम कानुन अनुसार सञ्चालन भई आफ्ना सेयर सदस्यहरूको हितमा काम गर्नुपर्नेमा जोड दिए ।
जिल्ला सहकारी संघ लमजुङ अध्यक्ष विजय गुरुङले सहभागीहरुलाई व्यवहारिक कुरा सिक्न र तालिमलाई उपलब्धिमूलक बनाउन आग्रह गरे । जिल्ला बचत तथा ऋण संघ अध्यक्ष महेन्द्रलाल श्रेष्ठले देशभर बचत तथा ऋणसम्बन्धी मुख्य कारोबार गर्ने सहकारीको बाहुल्य रहेको जनाए ।
तपाईको प्रतिक्रिया