अपाङ्गता मैत्री बन्दै सातौं स्याङ्जा महोत्सव

स्याङ्जा । स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघले फाल्गुण ६ देखि १८ गतेसम्म संचालन गर्ने सातौं स्याङ्जा महोत्सवलाई सबैको अपनत्व एवं सहज पहुँच हुने बनाइने भएको छ।
यसै क्रममा, स्वयं अपांगता भएका व्यक्ति तथा अभिभावकहरूको प्रत्यक्ष नेतृत्व तथा संलग्नतामा स्थापित भई निरन्तर क्रियाशील सामाजिक संस्था अपाङ्गता सशक्तीकरण तथा सामुदायिक विकास केन्द्रको विशेष अनुरोधमा अपांगता भएका व्यक्तिहरूको सहजताका लागि अपांगता परिचय पत्रका आधारमा अलग्गै व्यवस्था गरिएको हो । उनीहरुलाई निशुल्क प्रवेश, प्रवेशद्वारमा छुट्टै प्रवेशको संरचना, महोत्सवको मुख्य स्थल (स्टेज) मा अशक्त, अपाङ्गता भएका व्यक्तिहरूका लागि छुट्टै उपयुक्त बसाइ व्यवस्थापन, अपाङ्गता भएका कलाकारहरूलाई प्रतिभा प्रदर्शनमा प्राथमिकता लगायतका कार्य गरिने स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष महादेव श्रेष्ठले बताए ।
त्यस्तै, अपाङ्गता भएका व्यक्तिहरूको सहजीकरणका लागि अपाङ्गता अधिकारकर्मी एवं अपाङ्गता सशक्तीकरण तथा सामुदायिक विकास केन्द्र नेपाल पुतलीबजार नगरपालिका-१, स्याङ्जाका अध्यक्ष युवराज पराजुलीको संयोजकत्वमा १९ सदस्यीय उपसमिति गठन गरिएको, अपाङ्गता सम्बन्धी सचेतता सामग्री प्रदर्शनीको लागि स्टलको व्यवस्थापनसहित सामाजिक उत्तरदायित्वतर्फबाट यो वर्गका लागि विशेष योजना बनाउने सोच रहेको स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका महासचिव रविन केसीले बताउनुभयो।
सातौं स्याङ्जा महोत्सव-२०८१ सबैको गौरवको विषय भएकोले शारीरिक समस्या एवं सीमितता युक्त अपाङ्गता भएका व्यक्तिहरूको सहज सहभागिता सुनिश्चितताका लागि आफ्नो संस्थाले गरेको आग्रहलाई सहज रूपमा स्वीकार्दै उपयुक्त अनुकूलताको व्यवस्थापन गरेकोमा सबै अपाङ्गता भएका व्यक्तिहरू खुशी हुनुका साथै सचेतता अभिवृद्धि, सामाजिक, सांस्कृतिक एवं मनोरञ्जनात्मक क्रियाकलापमा सहभागी हुने अधिकार स्थापित गर्न मद्दत पुग्ने अपाङ्गता सशक्तीकरण तथा सामुदायिक विकास केन्द्रका अध्यक्ष युवराज पराजुलीले बताए ।
महोत्सव पुतलीबजार नगरपालिका वडा नं १ मालेवगर खेलमैदानमा संचालन हुँदैछ।
तपाईको प्रतिक्रिया