प्रथम सहिद लखन थापामगरको स्मृति दिवस मनाइयो

समाधान संवाददाता २०८१ फागुन ३ गते १९:०२

पोखरा । नेपालका प्रथम सहिद क्या. लखन थापामगरको १४८ औं स्मृति दिवस पोखरामा पनि मनाइएको छ । नेपाल आदिवासी जनजाति महासंघ, गण्डकी प्रदेश समन्वय परिषद्को आयोजना तथा नेपाल मगर संघ, जिल्ला समन्वय समिति, कास्कीको व्यवस्थापनमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरी दिवस मनाइएको हो ।

Advertisement

पोखरा–९, लखनचोकस्थित प्रथम सहिद लखन थापामगरको शालिकमा माल्यार्पणपछि आयोजित कार्यक्रममा गण्डकी प्रदेशसभाकी उपसभामुख विनाकुमारी थापाले लखन थापामगरको बलिदानले नेपालमा लोकतान्त्रिक आन्दोलनको थालनी भएको बताइन् । उनले निरंकुश राणा शासनविरुद्ध उनले गरेको जनविद्रोह ऐतिहासिक रहेको उल्लेख गरिन् । सहिद कुनै जाति वा समुदाय विशेषका मात्र नभई सम्पूर्ण राष्ट्रका लागि प्रेरणादायी पात्र भएको बताउँदै उनले राष्ट्रिय रूपमा नै स्मृति दिवस मनाइनुपर्नेमा जोड दिइन् । साथै, सहिदका सपना पूरा गर्न राज्य र जनस्तरबाट सक्रिय भूमिका आवश्यक रहेको उनले बताइन् ।

नेपाल मगर संघका केन्द्रीय सल्लाहकार बालासिंह काउछामगरले लखन थापामगर कुनै जाति विशेषका मात्र नभई राष्ट्रिय विभूति भएको उल्लेख गर्दै स्मृति दिवसमा सार्वजनिक बिदा दिनुपर्ने माग गरे । नेपाल आदिवासी जनजाति महासंघ, गण्डकी प्रदेश समन्वय परिषद्का अध्यक्ष धर्म गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासंघ, जिल्ला समन्वय परिषद्, कास्कीका अध्यक्ष विजेन्द्र चौधरी तथा सह–सचिव शिव थापामगरले पनि लखन थापामगरको योगदान र बलिदानको चर्चा गरे ।

यसअघि, नेपाल मगर संघ, जिल्ला समन्वय समिति, कास्कीको भवन, पोखरा–१०, रामघाटबाट सुरु भएको र्‍याली पोखरा–९, लखनचोक पुगेर सभामा परिणत भएको थियो । सहभागीहरूले प्रथम सहिद लखन थापामगरलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने, स्मृति दिवसमा सार्वजनिक बिदा दिनुपर्ने लगायतका माग राखेका थिए । कार्यक्रममा नेपाल मगर संघ, गण्डकी प्रदेश, कास्की जिल्ला समन्वय समिति अन्तर्गतका विभिन्न इकाई समिति, भ्रातृ संगठनहरू, महासंघ आबद्ध विभिन्न जातीय घटक संगठनहरूको सहभागिता थियो ।

Advertisement

तपाईको प्रतिक्रिया