कर्माचार्य समाजले गर्यो मृगौला पीडितलाई सहयोग

लेखनाथ । कर्माचार्य समाज कास्कीले आफ्नो चौथो स्थापना दिवस तथा दोस्रो अधिवेशनको अवसर पारेर मृगौला पीडित पोखरा–२५ हेम्जाकी सोविता परियारलाई एक लाख सहयोग गरेको छ ।
समाजका अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यको परिवारका तर्फबाट स्वर्गीय लक्ष्मीसुन्दरी कर्माचार्यको स्मृतिमा स्थापना गरिएको मृगौला पीडित सहयोगबाट विगत तीन वर्षदेखि दुवै मृगौला फेल भई गण्डकी मेडिकल कलेजमा डायलोसिस गराइरहेकी सोविता परियारलाई हस्तान्तरण गरिएको हो ।
समाजको तर्फबाट दोस्रोपटक प्रदान गरिएको सहयोगका लागि २२ जनाको आवेदन परेकोमा आर्थिक रूपमा कमजोर, एक छोराकी आमा र श्रीमानको समेत साथ नपाएर जटिल अवस्थामा माइतमा बस्दै आएकी सोवितालाई उक्त रकम प्रदान गरिएको हो । यसअघि गत वर्ष पोखरा–१४ की लक्ष्मी विश्वकर्माले उक्त सहयोग प्राप्त गरेकी थिइन् ।
यसैबीच कार्यक्रमको उदघाटन गर्दै गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले गरिबी र अशिक्षाका कारण बिरामी हुनेको दर वृद्धि भइरहेकोले यसलाई कसरी कम गर्न सकिन्छ भन्नेबारेमा सोच्नु पर्ने आवश्यकताको औँल्याउँदै कोही पनि बिरामी आर्थिक अभावमा अकालमा ज्यान गुमाउन नपरोस् भन्नका लागि प्रदेश सरकारले विशेष गरी आयुर्वेद चिकित्सा र प्राकृतिक उपचारलाई प्राथमिकतामा राखेको बताएका थिए ।
कार्यक्रममा भीरकोट नगरपालिकाका नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले रोग लाग्नु अघि नै कसरी बच्न सकिन्छ भन्नेबारेमा समाजमा सचेतना गराउनु पर्ने आवश्यकताको औँल्याएका थिए भने कर्माचार्य समाजका केन्द्रीय अध्यक्ष चन्देश्वर कर्माचार्यले जन्मजात कोही पनि रोग लिएर आएको हुँदैन, हाम्रो आहार–विहार र जीवनशैलीका कारण रोग उत्पन्न हुने भएकाले रोग लाग्नबाट कसरी बच्न सकिन्छ भन्नेबारेमा बेलैमा सोच्नु पर्ने सुझाव राखेका थिए ।
समाजका अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मूल्मी, नेवाः खल कास्कीका उपाध्यक्ष प्रकाशलाल श्रेष्ठ, मृगौला रोग विशेषज्ञ डा. क्लारा पौडेल, परिवारको तर्फबाट माइकल कर्माचार्य, मृगौला पीडित छनोट समितिको तर्फबाट कल्याण कर्माचार्य, कर्माचार्य महिला समाजकी संयोजक रेखा कर्माचार्य र समाजका सचिव ईश्वरप्रसाद कर्माचार्यलगायतले आ–आफ्नो भनाइ राखेका थिए ।
यसैबीच कर्माचार्य समाज कास्कीको दोस्रो अधिवेशनले आगामी कार्यकालका लागि पुनः चन्द्रकृष्ण कर्माचार्यको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा ईश्वरप्रसाद कर्माचार्य र रेखा कर्माचार्य, सचिवमा कल्याण कर्माचार्य, कोषाध्यक्षमा विश्वप्रसाद कर्माचार्य र सह–सचिवमा रमेशकुमार कर्माचार्यलाई चयन गरिएको छ भने समितिको सदस्यहरूमा सुशिला कर्माचार्य, केदार कर्माचार्य, सुनिल कर्माचार्य, निकेशप्रसाद कर्माचार्य, अम्बु कर्माचार्य, मानिका कर्माचार्य, सुसन कर्माचार्य र बसन्त कर्माचार्य छन् ।
यसैगरी सोही भेलाले डा. बालगोपाल कर्माचार्य, गोविन्दप्रसाद कर्माचार्य, हरिप्रसाद कर्माचार्य, निर्मलप्रसाद कर्माचार्य, प्रेमप्रसाद कर्माचार्य, भरतकुमार कर्माचार्य र शिवप्रसाद कर्माचार्यलाई सल्लाहकारमा चयन गरेको बताइएको छ ।
तपाईको प्रतिक्रिया