गण्डकी विश्वविद्यालयको ५ वर्षे सफल अनुभव

डा‌. कैलाश तिमिल्सिना २०८१ फागुन ४ गते ५:४७

डा. कैलाश तिमिल्सिना

Advertisement


नेपालको संविधानले नै प्रदेशलाई दिएको एउटा अधिकार र कर्तव्य भनेको विश्वविद्यालय पनि हो । सोही अनुरुप गण्डकी प्रदेश सरकारले २०७६ सालमा गण्डकी विश्वविद्यालय ऐन ल्याइएको थियो । गण्डकी विश्वविद्यालय न्यासिक परिषद् (बोर्ड अफ ट्रस्टी) को अवधारणामा सञ्चालित नेपालको पहिलो विश्वविद्यालय हो । विश्वविद्यालय सञ्चालनको क्रममा आवश्यक नीति निर्माण गर्ने कार्य मूलतः न्यासिक परिषद्को हो ।

सञ्चालनको विषयमा नयाँ नीति बनाउने वा विद्यमान नीतिमा पुनरावलोकन गरी परिमार्जन गर्ने अधिकार परिषदमा हुन्छ । विश्वका नाम चलेका विश्वविद्यालयहरु यसै मान्यतामा आधारित भएपनि नेपालको सन्दर्भमा भने यो नौलो अभ्यास हो । छोटो समयमा नै उदाहरणीय कार्य गर्न सफल भएकाले स्थापनाको क्रममा रहेका विश्वविद्यालयहरुले यसैको अनुसरण गर्न खोजिरहेको देखिन्छ ।

यो विश्वविद्यालयमा न्यासिक परिषदले नै प्राज्ञिक व्यक्तित्वलाई नै पूर्णकालीन कुलपतिमा सिफारिस गरी नियुक्ति गर्ने हुँदा विश्वविद्यालय पूर्ण रुपमा राजनीतिक हस्तक्षेप मुक्त हुन्छ । यस कुरामा सहमत हुने गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङ र सिंगो प्रदेश सरकार धन्यवादका पात्र हुन् ।

पाठ्यक्रम समग्र सिकाइ प्रक्रियाको मुटु हो । गण्डकी विश्वविद्यालय औपचारिक रुपमा स्थापना भएको छोटो अवधिमा के कस्ता शैक्षिक कार्यक्रमहरु ल्याउन उपयुक्त हो भन्ने, सन्दर्भमा एकेडेमिक निड एसिसमेन्ट र १० वर्षे रणनीतिक योजनाले देखाएको बाटो अवलम्बन गरी अघि बढिरहेको छ । यस विश्वविद्यालयले पठनपाठन, अनुसन्धान, आविष्कार र अन्वेषणको क्षेत्रलाई विशेष महत्व दिएर विभिन्न कार्यक्रमहरु अगाडि बढाइरहेको छ ।

Advertisement

विश्वविद्यालयले विभिन्न विषयका पाठ्यक्रम निर्माण सम्पन्न हुनुका साथै अपेक्षाकृत शैक्षिक तथा भौतिक उपलब्धि हासिल गर्न सफल भएको छ । पाठ्यक्रमको प्रयोग स्वयं पाठ्यक्रमको विकासमा, सिकाइ सहजीकरण प्रक्रियामा, विद्यार्थीको मूल्यांकनमा गर्न सकिन्छ । पाठ्यक्रमकै आधारमा विद्यमान चुनौतीको आँकलन गर्दै विश्वविद्यालयले मौलिक पठनपाठन, अनुसन्धान, आविष्कार र अन्वेषणको क्षेत्रलाई विशेष महत्व दिएर विभिन्न प्राज्ञिक तथा शैक्षिक कार्यक्रमहरु अगाडि बढाइरहेको छ । विश्वविद्यालयको पाठ्यक्रममा शिक्षाको राष्ट्रिय उद्देश्य, पठनपाठनको अवधि, पाठ्यक्रमको ढाँचा, सक्षमता, कार्यान्वयन योजना, सिकाइ उपलब्धि, सहजीकरण प्रक्रिया, पाठ्यभारको विभाजन, प्रयोगात्मक र सैद्धान्तिक मूल्यांकन प्रक्रियासमेत भएकाले पाठ्यक्रमलाई एक साध्यको रूपमा लिइएको छ ।

विश्वविद्यालयले पठनपाठन, अनुसन्धान, आविष्कार र अन्वेषणको क्षेत्रलाई विशेष महत्व दिएर विभिन्न कार्यक्रमहरु अगाडि बढाइरहेको छ

सिकाइ सहजीकरण र शैक्षिक तथा शैक्षणिक उपलब्धि सुनिश्चितका लागि विश्वविद्यालयका सूचना प्रविधि, खेलकुद व्यवस्थापन, बिबिए, कानुन, एमआईटी एआई र बिफर्मा पाठ्यक्रम कार्यान्वयनमा छन् । एमबिबिएस, बिडिएस लगायत १३ भन्दा धेरै विषयको पाठ्यक्रम बनाइसकिएको छ ।

नेपालमै पहिलोपटक खेलकुद व्यवस्थापन विषयमा स्नातक तहको अध्यापन सुरु गरेको गण्डकी विश्वविद्यालयले सूचना प्रविधि, बी फर्मा, कानुन र व्यवस्थापन विषयमा स्नातक तहमा अध्यापन गराउदै आएको छ । यसै वर्षदेखि कृत्रिम बुद्धिमत्ता विषयमा स्नातकोत्तरको कक्षा सञ्चालनमा ल्याएको छ । सञ्चालित सवै संकायको पाठ्यक्रम विश्वविद्यालयले नै निर्माण गरी पठनपाठनमा ल्याएको हो । निकट भविष्यमा सञ्चालन गर्ने तयारीमा रहेको एमबीबीएस, बीडीएस लगायत १३ भन्दा बढी विषयको पाठ्यक्रम विश्वविद्यालयले तयार गरिसकेको छ । विश्वविद्यालयमा हाल विभिन्न ५३ जिल्लाका ६७५ विद्यार्थी अध्ययनरत छन् ।

वार्षिक कार्य तालिका अक्षरश पालना गरी विश्वविद्यालयका शैक्षिक कार्यक्रम र मूल्याकन प्रणालीलाई अनुमान योग्य बनाउने कार्यमा गण्डकी विश्वविद्यालय सफल भएको छ । विश्वविद्यालयमा हुने पठनपाठन, आन्तरिक परीक्षा, बाह्य परीक्षा र परीक्षाफल प्रकाशन सम्बन्धी शैक्षिक क्यालेन्डर प्रकाशन गरी त्यसको अक्षरस पालना गर्ने गरिएको छ ।

बन्द, हडताल जस्ता कार्यक्रम विश्वविद्यालयमा स्वीकार्य छैन । यसरी गण्डकी विश्वविद्यालयले ५ वर्षको अवधिमा बहुआयामिक ढंगबाट शैक्षिक कार्यक्रम सञ्चालन गर्न सफल भएको देखिन्छ । शैक्षिक कार्यक्रमका साथसाथै विश्वविद्यालयले समाजसँग जोडिएर विभिन्न अध्ययन अनुसन्धानका कार्यहरु समेत अगाडि बढाएको छ ।

हरेक वर्ष सबै संकायका विद्यार्थीले छात्रवृत्ति प्राप्त गर्ने गरेका छन् । इन्टनसिपमा प्रथम हुने, एकल आमाले हुर्काएका, गरिब, जेहेन्दार, पिछडिएको वर्गका १ सय १८ जना विद्यार्थीले छात्रवृत्ति पाएका छन् ।

भौतिक निर्माण र विकास, शिक्षण सिकाइ प्रक्रियाको अर्को महत्वपूर्ण पाटो हो । नेपाल सरकारबाट ५२६ रोपनी जग्गा प्राप्त भई विश्वविद्यालयको आफ्नै भवन निर्माण तथा सञ्चालनमा आउनुका साथै थप ८ करोडको सम्झौतामा नयाँ सुविधासम्पन्न भवन निर्माणाधीन अवस्थामा रहेकोमा आव २०८०/०८१ मा सम्पन्न हुने लक्ष्य छ । थप २४८ रोपनी जमिन लिने प्रयासमा छ । यस अवधिमा विश्वविद्यालयको पारदर्शी र प्रक्रियागत ढंगबाट प्राप्त भएको स्रोतको परिचालन गर्‍यो । विश्वविद्यालयले विगत वर्षहरुमा ९० प्रतिशत पुँजीगत बजेट खर्च गर्दै आएको छ र यस वर्षको प्रगति पनि उत्कृष्ट छ ।

गण्डकी विश्वविद्यालयले शैक्षिक उत्कृष्टता प्रवद्र्धन गर्न अनुसन्धान, नवीनता, र बहुवर्षीय सहकार्यलाई प्रोत्साहित गर्दै २०२१ मा अनुसन्धान केन्द्र, अन्वेषण तथा आविष्कार केन्द्र स्थापना गरेको छ । यस केन्द्रले स्नातक तथा स्नातकोत्तर कार्यक्रमहरू एमआइटी एआई, फार्मेसी, खेलकुद व्यवस्थापन, सूचना प्रविधि, व्यवस्थापन, र कानुन) मा संलग्न संकाय सदस्य तथा विद्यार्थीहरूको अनुसन्धानलाई सहयोग पुर्‍याउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँग सहकार्यको अवसर सिर्जना गर्छ । यस केन्द्रले अनुसन्धानका लागि अनुदानको प्रक्रिया सरल बनाउँदै २०२१–२०२५ सम्म विश्वविद्यालय अनुदान आयोग, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), र विभिन्न सरकारी मन्त्रालयहरूबाट ८ राष्ट्रिय अनुदान प्राप्त गरेको छ । अनुसन्धान केन्द्रले समस्यामुखी समाधान, उत्पादन विकास, र स्थानीय स्रोतहरूको व्यावसायीकरणलाई प्रवद्र्धन गर्दै कृषि, स्वास्थ्य, बायोमेडिसिन, सूचना प्रविधि, तथा इन्जिनियरिङ क्षेत्रमा उद्यमशीलतालाई सहयोग पुर्‍याउँछ । यसले सिएनसी लेथ मेसिन, थ्रिडी प्रिन्टर, हाइड्रोलिक बेंडिङ मेसिन लगायत प्रविधिहरू उपलब्ध गराई नवप्रवर्तनशील परियोजनाहरूका लागि इनक्युबेसन सुविधा प्रदान गर्छ । अनुसन्धान केन्द्रले २०२२–२०२५ सम्म २८ संकाय अनुसन्धान अनुदान प्रदान गरेको छ, ६ भन्दा बढी क्षमता विकास तालिम तथा कार्यशालाहरू आयोजना गरेको छ, र गण्डकी राउन्डअप बुलेटिन तथा २०२४ मा विश्वविद्यालयको पहिलो आधिकारिक जर्नल जागृति प्रकाशित गरेको छ ।

थप, अनुसन्धान केन्द्रलले उद्यमशीलता सहायता कार्यक्रम सञ्चालन गरी विद्यार्थी तथा युवा संकाय सदस्यहरूलाई नवीन व्यवसायिक विचार विकास गर्न प्रेरित गरेको छ । विश्वविद्यालय अनुदान आयोग (ग्न्ऋ) मा प्रस्तुत गरिएका दुई विद्यार्थी व्यवसाय विकास योजनाहरू आइडिया पिचिङ प्रतिस्पर्धाका लागि छनोटमा परेका छन्, जसले सम्भावित लगानी प्राप्त गर्न सक्ने अवसर प्रदान गर्दछ । यसले अनुसन्धान तथा नवीनतालाई वास्तविक जीवनका अनुप्रयोगहरूमा परिणत गर्न अनुसनधान केन्द्रको प्रतिबद्धता दर्शाउँछ ।

यसैगरी, अनुसन्धान केन्द्रले २०२३, २०२४, र २०२५ मा तीन गण्डकी विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्मेलन (जियुआइसी) सफलतापूर्वक आयोजना गर्दै विश्वव्यापी शैक्षिक आदान–प्रदानका लागि एक अग्रणी मञ्च स्थापना गरेको छ । जियुआइसी–२०२३, जुन १३–१५, २०२३ मा शिक्षामा नवीनता र अनुसन्धानको एकीकरण भन्ने विषयवस्तुमा सम्पन्न भएको थियो, जसमा ७ राष्ट्रका अनुसन्धानकर्ताहरूको सहभागिता रह्यो र किताब या अब्सट्र्याक्टमा ९१ अनुसन्धान कार्यहरू समेटियो । जियुआइसी–२०२४, जनवरी ३–५, २०२४ मा होटल जल महल, पोखरामा उत्कृष्टताको सशक्तीकरणः अनुसन्धान र शिक्षामा विश्वव्यापी सहकार्य विषयअन्तर्गत आयोजना गरिएको थियो, जसमा ३० प्रविधि सत्रहरू, १०९ मौखिक प्रस्तुतीकरण, ३० पोस्टर प्रस्तुतीकरण, तथा दुई प्रमुख वक्ताहरूको सम्बोधन समावेश थियो । जियुआइसी–२०२५, जनवरी ३–५, २०२५ मा पोखरा ग्रान्डमा लचिलो भविष्यका लागि मानसिक सञ्जाल भन्ने मुख्य विषयमा सम्पन्न भएको थियो, जसमा २४ प्रविधि सत्र, १५० अनुसन्धान कार्यहरू, र विश्वविख्यात नेत्रविशेषज्ञ प्रा. डा. सन्दुक रुइतको मुख्य वक्ताका रूपमा सम्बोधन रहेको थियो । यी सम्मेलनहरूले गण्डकी विश्वविद्यालयलाई एक अनुसन्धान केन्द्रको रूपमा प्रतिष्ठित गर्दै वैज्ञानिक, शिक्षाविद्, नीति निर्माता, र उद्योग क्षेत्रका अग्रणीहरूबीच सहकार्यलाई प्रवद्र्धन गरेको छ ।

गण्डकी विश्वविद्यालय ऐन, २०७६ ले व्यवस्था गरेको जनशक्ति व्यवस्थापन समितिले स्वीकृत दरबन्दीका आधारमा योग्यतामा आधारित परीक्षाहरूका माध्यमबाट आवश्यक पर्ने शिक्षक र कर्मचारीको छनोट गर्दै आएको छ । संगठनको उद्देश्य प्राप्तिको सर्वोपरी आधारका रूपमा कर्मचारीको आर्थिक, सामाजिक, बौद्धिक र प्रशासकीय व्यक्तित्वको विकास गर्ने र संगठनप्रति समर्पित गराउने माध्यम र प्रक्रिया कर्मचारी व्यवस्थापन हो । विश्वविद्यालयका लक्ष्य र उद्देश्य प्राप्त गर्न उपयुक्त विधि प्रक्रिया मार्फत मानवीय, भौतिक तथा आर्थिक स्रोतहरूको परिचालनका लागि निश्चित संगठन आवश्यक हुन्छ । यसरी नीति तथा कार्यक्रमहरूको कार्यान्वयन, सार्वजनिक सेवा प्रवाह तथा संस्थाका उद्देश्य प्राप्तिका लागि निश्चित समय, स्थानमा सम्पर्क विन्दु स्थापित गर्न आवश्यक हुने भई कार्यालय र त्यस्तो कार्यालयका आर्थिक, भौतिक र मानवीय स्रोत उचित संयोजन गर्न कार्यालय व्यवस्थापन महत्वपूर्ण छ । जसका लागि विश्वविद्यालयमा केन्द्रीय कार्यालयबाट नै महत्वपूर्ण प्रशासनिक, अनुसन्धान र आविष्कार केन्द्रका कार्य गरिनुका साथै संयोजकको व्यवस्थापन मार्फत् सम्बन्धित कार्यक्रममा समन्वयात्मक तवरले विकेन्द्रित कार्य सम्पन्न गर्न सक्ने वातावरण तयार भएको छ ।

पछिल्लो समय गुणस्तरीय शिक्षाका लागि विदेशिने विद्यार्थीहरुको संख्या बर्सेनि बढ्दो छ । उच्च शिक्षा पछि विद्यार्थीको सुरक्षित भविष्य बनाउन सकिरहेका छैनौँ भन्ने गुनासो सुनिन्छ । तर विश्वकै स्थापित विश्वविद्यालयमा समेत कार्यान्वयन हुन नसकेको वार्षिक कार्यतालिका अक्षरस पालना गरी विश्वविद्यालयका शैक्षिक कार्यक्रम र मूल्यांकन प्रणालीलाई अनुमानयोग्य वनाउने कार्यमा गण्डकी विश्वविद्यालय सफल छ ।

विश्वविद्यालयमा कहिले पठनपाठन सुरु हुन्छ, कहिले आन्तरिक परीक्षा सञ्चालन हुन्छ, कहिले अन्तिम बाह्य परीक्षा सम्पन्न हुन्छ र कहिले परीक्षाफल प्रकाशन हुन्छ भन्ने विषयमा शैक्षिक क्यालेन्डर प्रकाशन गर्दा नै विद्यार्थीलाई जानकारी प्राप्त हुन्छ । शैक्षिक गुणस्तरको मामिलामा विश्वविद्यालयले कुनै सम्झौता गर्दैन । त्यसैले प्रतिभा पलायनको समस्या समाधानका लागिसमेत गण्डकी विश्वविद्यालय महत्वपूर्ण आधार वन्न सक्छ, तर यसका असल अभ्यासको वारेमा प्रचार भने अनिवार्य छ ।

नियमित अध्ययन र अनुसन्धानका साथै समसामयिक समस्याको पहिचान र तिनको समाधानका उपाय दिने ज्ञानका स्रोत विश्वविद्यालयहरू हुन् । घरेलु मदिराको सेवनबाट विभिन्न ठाँउमा कैयौँ मानिसहरुले ज्यान गुमाएको विषयलाइ गम्भीरताका साथ मनन गर्दै विश्वविद्यालयले विद्यमान समस्याको सही पहिचान गरी प्रभावकारी समाधानका लागि कोदोको रक्सीको ब्रान्डिङका लागि अनुसन्धान प्रक्रिया अगाडि बढाई त्यसमा महत्वपूर्ण सफलता समेत प्राप्त गरेको छ । विश्वविद्यालयले रैथाने प्रविधिको जगेर्नामा समेत प्रभावकारी कदम चालेकाले संस्कृतिलाई माया गर्ने आम विद्यार्थीको विश्वविद्यालय प्रतिको आकर्षण थपिने देखिन्छ ।

सीमित स्रोत र साधनको अधिकतम सदुपयोग गरी निर्धारित लक्ष्य हासिल गर्नु, कार्यप्रक्रियाका कारण जग्गा प्राप्तिमा ढिलाइ, सञ्चालनमा सम्वद्ध पक्षसँग समन्वय गर्नु, विभिन्न कार्यदलहरु निर्माण गरी कार्यविधि र निर्देशिका तर्जुमा तथा कार्यान्वयन गर्नु, विषयगत र प्रशासनिक आवश्यकताका आधारमा कुशलतापूर्वक मानवस्रोत व्यवस्थापन र परिचालन गरी स्थायित्व र उन्नयन सम्भव तुल्याउनु, विश्वविद्यालयहरूमा नेपालको मौलिक पहिचान दिने विषय इतिहास, भूगोल र संस्कृतिलगायत विषय ओझेलमा परेका विषयमा अझ बढी अध्ययन र अनुसन्धान गरी विषयहरूको उत्थान गर्नु, विद्यमान भौतिक संरचनामात्र नभई शिक्षक तथा कर्मचारीमा सूचना प्रविधि ज्ञानयुक्त बनाउनुका साथै अध्ययन अध्यापनमा समय अनुकूल गुणस्तर वृद्धि गर्नु, समय अनुकूलका पाठ्य सामग्री तथा शिक्षण तथा सिकाइ प्रक्रिया र उत्पन्न समस्या समाधानार्थ थप गहन अध्ययन–अनुसन्धान आवश्यक छ ।
समग्रमा, विश्वविद्यालयलाई अब्बल बनाउन सिद्घान्तका ठेली कण्ठ गरेर डिग्री हासिल गर्ने तर आफूले केही गर्न नसक्ने शैक्षिक जनशक्ति आजको आवश्यकता होइन । घोकन्ते विद्यामा सिर्जना हुँदैन । मौलिकताले ठाउँ पाउँदैन । नयाँ चिन्तनको विकास हुँदैन । विश्वविद्यायमा नयाँ संस्कार, नयाँ चिन्तन, नयाँ विश्वास, नयाँ आविष्कार र सिर्जनाका दृष्टिकोण अटाउनुपर्छ । यसका लागि विश्वविद्यालयलाई नीतिगत रूपमा स्वतन्त्र प्राज्ञिक थिंकटयांकको रुपमा व्यवस्थापन गर्नुपर्ने विषयमा विश्वविद्यालय पूर्ण सतर्कताका साथ अगाडि बढिरहेको छ ।

अहिले विश्वविद्यालयका समग्र क्रियाकलाप तथा यसले विकास गरेका भावी अवधारणाले यो विश्वविद्यालय मुलुककै एक नमुना विश्वविद्यालयको यात्रातर्फ वामे सर्दै गरेको आभास हुन्छ । जसका लागि विश्वविद्यालयका पदाधिकारी तथा शिक्षक कर्मचारी जुन स्प्रिटका साथ अगाडि बढिरहेका छन् ।

गण्डकी विश्वविद्यालयलले स्थापनाको छोटो समयमा नै विकास गरेको विश्वस्तरीय मौलिक शैक्षिक प्रणाली, शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शैक्षिक योजनाहरु निर्माण तथा कार्यान्वयनको तत्परता, खेलकुद व्यवस्थापन कार्यक्रमको सञ्चालन, नीति निर्माणप्रतिको तदारुकता, विद्यमान शैक्षिक तथा प्राज्ञिक अभ्यास, भौतिक निर्माणमा रफ्तार, शिक्षाको राष्ट्रिय उद्देश्य अनुरुपको पठनपाठन, पाठ्यक्रमको ढाँचा, सक्षमता, कार्यान्वयन योजना, सिकाइ उपलब्धि, सहजीकरण प्रक्रिया, बढ्दो विश्वव्यापी साझेदारी, न्यायपूर्ण, निष्पक्ष, उत्तरदायी र सहयोगात्मक प्रशासन संयन्त्र, अनुसन्धान, अन्वेषण तथा आविष्कारका गतिविधिहरुमा आधारित जीवनोपयोगी अनुसन्धान कार्य, जनशक्तिको आर्थिक, सामाजिक, बौद्धिक र प्रशासकीय कुशलता र भौतिक तथा आर्थिक स्रोतहरूको प्रभावकारी परिचालन जस्ता महत्वपूर्ण क्षेत्रमा प्राप्त उपलब्धि साच्चीकै उदाहरणीय र प्रशंसनीय छन् । जुन लक्ष्य र उद्देश्यका साथ गण्डकी विश्वविद्यालय स्थापना भएको थियो त्यसको सान्दर्भिकता पुष्टि हुँदै गइरहेको छ ।

(तिमिल्सिना गण्डकी विश्वविद्यालयका रजिस्ट्रार हुन्‌)

तपाईको प्रतिक्रिया