पोखरा आदर्श सेकेन्डरी स्कुलमा बैंक र अर्थतन्त्रबारे अन्तरक्रिया

पोखरा । पोखराको बगरमा अवस्थित पोखरा आदर्श सेकेन्डरी स्कुलको आयोजनामा “नेपाली अर्थतन्त्रमा बैकिङ पद्धतिको भूमिका“ शीर्षकमा आइतबार अन्तरक्रिया सम्पन्न भयो । उक्त अन्तरक्रिया कार्यक्रम निर्देशक एवम् परिकल्पनाकार नारायण न्यौपानेको सभापतित्वमा भएको थियो ।
कक्षा १२ मा अध्ययनरत व्यवस्थापन समूहका विद्यार्थीहरु सहभागी भएको यस अन्तरक्रियामा एनएमबी बैंक गण्डकी प्रदेशका स्ट्रेट मेनेजर अमृतराज बास्तोला र बगर शाखा प्रबन्धक सरस्वती गुरुङ प्रमुख वक्ता थिए ।
बजारमा बैंक मर्ज हुँदा अविश्वास पैदा भएको भन्ने शंकालाई जवाफ दिदै बैंकर अमृतराज बास्तोलाले भने, ‘ढुक्क हुनुहोस् ।बजारमा भ्रम मात्र सृजना भएको हो । बैंकहरु अति नै कडा नियम र नियन्त्रणमा चल्ने हुँदा बदमासी हुने र डुब्ने सम्भावना कदापि छैन । बैंकहरु मर्ज हुदा ठुला लगानीहरु गर्न सहज हुने देखिन्छ ।’
अर्को वक्ता सरस्वती गुरुङले विद्यार्थीहरुलाई बैंकमा आफ्नो करियर खोज्न आव्हान गर्दै भनिन्, ‘म बैंकर मात्र होइन । आमा पनि हो । मैले परिवार हेर्छु र एउटा शाखाको जिम्मेवारी लिएर हिडेकी छु । बैंकमा आफ्नो भविष्य हेर्नुहोस्,’ भन्दै शुभकामना व्यक्त गरिन् ।
अर्थशास्त्र विषयका विषयविज्ञ भोलानाथ अर्यालले समन्वयकारी भूमिका वहन गरे भने वित्तीय साक्षरताका विभिन्न पक्षमा केन्द्रित यस अन्तरक्रियामा सहभागी विधार्थीहरुले वित्तीय क्षेत्रमा राष्ट्र बैंकको भूमिका, बैंकका कार्यहरु, बैंकमा देखिएका समस्या र नेपालको अर्थतन्त्रमा बैंङकिङ पद्धतिको भूमिका विषयमा जिज्ञासा राखेका थिए ।
कार्यक्रमको सुरुवातमा विद्यालयका सामाजिक विषयका विषयविज्ञ कुशल तिमिल्सिनाले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै स्वागत मन्तव्य राखेका थिए । त्यस्तै गरी विद्यालयका प्राचार्य फणिन्द्र प्रसाद अधिकारीले व्यहारिक सिकाइका निम्ति यस प्रकारको कार्यक्रम विद्यार्थीका निम्ति निकै फलदायी रहेको धारणा व्यक्त गरे ।
एनएमबी बैंकको सहकार्यमा भएको यस कार्यक्रमलाई विद्यालयका उप प्राचार्य एवम् लोकगायक ज्ञानेश्वर सुवेदीले सञ्चालन गरेका थिए । सुबेदीका अनुसार यो महिना स्कुलले विद्यार्थीको सीप र ज्ञान विकासलाई केन्द्रित गरी यस्तै छलफल, अन्तरक्रिया र सेमिनार गरिरहेको छ ।
तपाईको प्रतिक्रिया