पश्चिमाञ्चल क्याम्पसमा ‘त्रिवेणी’

पोखरा । पोखरास्थित पश्चिमाञ्चल क्याम्पसमा इन्जिनियरिङ साहित्य सञ्जाल (इन्सास), पोखराको आयोजनामा भव्य साहित्यिक, सांस्कृतिक तथा सांगीतिक महामिलन ‘त्रिवेणी’ सम्पन्न भएको छ । इन्जिनियरिङ अध्ययनरत विद्यार्थीलाई साहित्य, कला र संस्कृतिप्रति अभिप्रेरित गर्दै देशको साहित्य र संस्कृतिका बारेमा जानकार गर्ने उद्देश्यले कार्यक्रम गरिएको हो ।
इन्सास पोखराका अध्यक्ष विजय अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा करिब ३ हजार विद्यार्थीहरूको उत्साहपूर्ण सहभागिता थियो । भ्यालेन्टाइन डे का अवसरमा गरिएको त्रिवेण्ीमा विभिन्न विधाका प्रतिष्ठित साहित्यकार, कवि तथा कलाकारहरूको उपस्थिति थियो ।
कार्यक्रमलाई अझै भव्य बनाउँदै चर्चित गायक बसन्त थापाले आफ्नो शानदार प्रस्तुति दिएका थिए । उनको गायनले उपस्थित दर्शकदीर्घालाई मन्त्रमुग्ध बनाउनुका साथै, सम्पूर्ण माहोललाई संगीतमय र रोमाञ्चक बनाएको थियो ।
देशका ख्यातिप्राप्त कवि, लेखकहरू तथा साहित्यकारले विभिन्न विधाका उत्कृष्ट साहित्यिक कृतिहरू प्रस्तुत गरेका थिए । गजल, मुक्तक, कविता, कथा एवं लघुकथा वाचन, गद्य तथा पद्य रचनाहरूको वाचन तथा सिर्जनशील प्रस्तुति उक्त अवसरमा गरिएको थियो ।
सुदुरपश्चिमको देउडादेखि लिएर मिथिलाको मिथिला नाचसम्म कार्यक्रममा समावेश थियो । साथै अन्य जातजातिका मौलिक संस्कृति जस्तैः रत्यौली, दोहोरी, र भजनकिर्तन समेत प्रस्तुत गरिएको थियो । कार्यक्रमको समापन गर्दै अध्यक्ष विजय अधिकारीले विद्यार्थीबीच साहित्यिक तथा सांस्कृतिक चेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रमहरूको निरन्तरता आवश्यक रहेको बताए ।
तपाईको प्रतिक्रिया