अस्थायी प्रहरी पोस्टमा इन्चार्जसहित सबै प्रहरी महिला

पोखरा । पोखरा ३ नदीपुरस्थित अस्थायी प्रहरी पोस्टको जिम्मेवारी महिलालाई प्रदान गरिएको छ । आइतबार एक कार्यक्रममार्फत प्रहरी सहायक निरीक्षक दीपा आलेको नेतृत्वमा ९ महिला प्रहरीले सम्हाल्ने गरी सुरक्षा सेवाको जिम्मेवारी प्रदान गरिएको हो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले महिला प्रहरी मात्रको युनिट स्थापनालाई लैंगिक समानताका दृष्टिले सकारात्मक पहल भएको बताए । ‘महिलामात्र कार्यरत युनिटले कानुनको पालना गर्दै, अनुशासन र दक्षताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेर समाजमा शान्ति कायम गर्नेमा विश्वस्त छौं,’ उनले भने ।
पाण्डेले शान्ति, सुरक्षाको जिम्मेवारी प्रहरीको मात्र नभई नागरिक समाजको पनि उत्तिकै भएको उल्लेख गरे । कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले महिला प्रहरीमात्र खटाइएको यो युनिटलाई महिला सशक्तीकरणका रूपमा लिदै समाजमा शान्ति, सुव्यवस्था कायम गर्न भूमिका खेल्ने अपेक्षा गरे ।
‘महिला तथा बालबालिकासम्बन्धी अपराधको संख्या बढिरहेको परिस्थितिमा महिला प्रहरी मात्रको युनिटले विशेष योगदान दिनेमा आशावादी छौं,’ उनी भन्छन् । ओलियाले महिला प्रहरीको दक्षता, क्षमता, र नेतृत्वदायी भूमिकालाई उजागर गर्दै भविष्यमा अन्य स्थानमा पनि यस्ता युनिट विस्तार गर्ने योजना सुनाए ।
जिल्ला प्रहरी कार्यालय कास्कीका ९ सय ६१ प्रहरीमध्ये १ सय ३५ जना महिला छन् । कार्यक्रममा पोखरा महानगर पालिका वडा नं ३ का वडाअध्यक्ष प्रकाशमान उदास, निर्वतमान अध्यक्ष रवीन्द्रबहादुर प्रजु लगायतकाले महिला प्रहरीको कमान्ड उदाहरणीय बन्ने अपेक्षा व्यक्त गरे ।
अस्थायी प्रहरी पोस्टको कमान्ड सम्हालेकी प्रहरी सहायक निरीक्षक दीपा आलेले नागरिक मैत्री भएर शान्ति, सुरक्षामा खटिने वाचा गरिन् । उनले आफ्नो २५ वर्षे सेवा अवधिमा पहिलो पटक कमान्ड गर्ने अवसर पाएको सुनाउँदै कुशलताका साथ पूरा गर्ने प्रतिवद्धता गरिन् ।
थापाको टोलीमा प्रहरी हवलदार संगीता महतो, प्रहरी जवान देवी पुर्जा, मनीषा बुढा, अमृता अठारे, गंगा सुनार, जानुका श्रेष्ठ, मञ्जु नेपाली र ममता सिंह छन् । जिल्ला प्रहरी कार्यालय, कास्की अन्तर्गतका ७७ युनिटमध्ये १ युनिटमा महिला प्रहरी परिचालन गरिएको हो ।
तपाईको प्रतिक्रिया