पोखरामा चाँडै ए ग्रेडका एम्बुलेन्स

पोखरा । गण्डकी प्रदेश सरकारले पोखरा आसपासमा सेवा प्रदान गर्नका लागि ए ग्रेडक एम्बुालेन्स व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ । प्रदेशको राजधानी पोखरामा उच्च पदस्थ विशिष्ट व्यक्तिको भ्रमणलाई मध्यनजर राख्दै त्यस्तो व्यवस्था गर्न लागेको गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले बताए ।
नेपाल रेडक्रस सोसाइटी कास्कीले आइतबार आयोजना गरेको कार्यक्रममा मन्त्री पाठकले ए ग्रेडको एम्बुलेन्स सञ्चालनका लागि प्राथमिकताका आधारका काम गर्ने जनाए । ‘पर्यटकीय राजधानी रहेको पोखरामा अहिलेसम्म ए ग्रेडको एम्बुलेन्स रहेनछ,’ मन्त्री पाठकले भने, ‘पोखरा आसपासको क्षेत्रमा उच्च पदस्थ विशिष्ट व्यक्तिको भ्रमण हुने गरेको छ । प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेर ए ग्रेडको एम्बुलेन्सको व्यवस्था गर्ने छ ।’
उनले रेडक्रसको प्रादेशिक रक्त सञ्चार केन्द्र (ब्लड बैंक)लाई सुविधा सम्पन्न बनाउन आवश्यक उपकरणका लागि सहयोग गराउने दायित्व प्रदेश सरकारको भएको बताए । प्रदेश सरकार र रेडक्रस मिलेर मानवीय सेवाको क्षेत्रमा काम गर्ने जानकारी दिँदै उनले ब्लड बंैकलाई प्रदेशको अब्बल र राम्रो बनाउन ध्यान दिने प्रतिबद्धता गरे ।
प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख अर्जुन ज्ञवालीले ए ग्रेडको एम्बुलेन्सले बिरामीलाई चिकित्सक सहितको सेवा प्रदान गर्ने जानकारी दिए । उनले पोखरालाई केन्द्रमा राखेर गण्डकी प्रदेशमा ए ग्रेडका २ एम्बुलेन्स आवश्यक पर्ने बताए ।
उनले ब्लड बैंकले २०८१को मंसिर १ गतेदेखि २४ सै घण्टा सेवा दिन थालेको उल्लेख गरे । उनले प्रादेशिक रक्त सञ्चार सेवालाई ए ग्रेडको बनाउने लक्ष्य राखेपनि पुरानै प्रविधिमा काम गर्नु परेको दुखेसो राखे ।
नेपाल रेडक्रस सोसाइटी कास्की सभापति डण्डराज शर्मा पौडेलले रगतको बढ्दो माग र आधुनिक प्रविधि युक्त सेवालाई विस्तार गर्ने क्रममा प्रदेश स्तरको ब्लड बैंक स्थापना गरेको बताए । सुरुवातमा ब्लड बैंकले ज्येष्ठ नागरिक, असहाय, विपन्नलाई रक्त जन्य सेवा शुल्क छुट दिँदै आएको जानकारी दिदै उनले गण्डकी प्रदेश सरकारको प्राविधिक सहयोगमा २०७८ फागुन १ गतेदेखि रेडक्रस कास्कीले प्रदेशमा बसोबास गर्ने सबै नागरिकलाई रगत तथा रगतजन्य सेवा निःशुल्क गरेको बताए ।
उनले रेडक्रस कास्कीले प्रदेश सरकारको प्रोत्साहन र हौसलाबाट काम गरेको जानकारी दिए । रेडक्रस कास्कीका कार्यवहाक मन्त्री रमा कोइराला न्यौपानेले रक्त सञ्चार सेवाको विस्तार, समय सापेक्ष र गुणस्तरीय बनाउन रेडक्रसले ध्यान दिएको बताइन् ।
रेडक्रस कास्कीका कोषाध्यक्ष सन्तोष अधिकारीले रेडक्रस सोसाइटी कास्की जिल्ला शाखाले वि.सं. २०३५ सालदेखि पोखरा प्रादेशिक रक्तसञ्चार सेवा सञ्चालन गर्दै आएको जनाए । रक्त सञ्चार सेवाको माध्यमबाट रगत संकलन, परीक्षण र आपूर्ति कार्यलाई प्रभावकारी बनाउन ध्यान दिएको उल्लेख गर्दै उनले रक्तजन्य किटको आयातमा भ्याट लाग्ने व्यवस्था अव्यावहारिक भएको दाबी गरे ।
तपाईको प्रतिक्रिया