
पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर २२ स्थित ओख्लेडाँडा भूम्दि माध्यमिक विद्यालयका विद्यार्थीहरु समयमै विद्यालय पुगे । तर आज अरु दिन भन्दा विशेष थियो । आज उनीहरुको पढाई कक्षाकोठामा नभई बाहिर हुन लागेको थियो । उनीहरु सामाजिक विकास कार्यालय कास्कीको आयोजनामा आइतबार भएको ज्येष्ठ नागरिकमा भएको ज्ञान, सिप, अनुभव अन्तरपुस्ता हस्तान्तरण कार्यक्रममा सहभागी हुन जाँदै थिए । ज्येष्ठ नागरिकमा भएको ज्ञान, सिप, अनुभव नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले कालाबाङ घडेरी सामुदायिक होमस्टेमा कार्यक्रम गरिएको थियो ।
कक्षा ९ की अस्मिता थापाले धार्मिक तथा सांस्कृतिक कार्यक्रममा भजन गाउन मनपर्ने बताइन् । उनी विद्यालयमा हुने भजन प्रतियोगिता तथा समाजमा हुने धार्मिक कार्यक्रमहरुमा नियमित सहभागी हुन्छिन् ।
भजन गाउँदा मन शान्त हुने साथै सकारात्मक उर्जा उत्पन्न हुने उनको विश्वास छ । भजन गाउन पाउँदा मनमा आनन्दको अनुभूति हुने उनी बताउँछिन् । ‘यसलाई निरन्तरता दिने सोच छ । भजन हाम्रो संस्कृति भएकाले यसको संरक्षण गर्नुपर्छ । आधुनिक गीत पनि मन पर्छ तर परिवेश अनुसार गीतको छनोट गर्न सक्नुपर्छ,’ थापाले भनिन् ।
अहिले भजन संरक्षणका लागि प्रयासहरु भएकाले लोप नहुनेमा थापा विश्वस्त छिन् । विद्यालय तहमै भजन सिकाउन सकेमा संरक्षण हुने उनले बताइन् ।
शुक्रराज माध्यमिक विद्यालयका कक्षा ११ का जीवन बरालको रुचि भने परम्परागत बाजा बजाउनमा छ । उनी विद्यालयको बाजा समुहमा पनि आवद्ध छन् । उनलाई दमाहा बजाउन मन पर्छ । विद्यालयका विभिन्न कार्यक्रममा अहिले बाजा बजाउने गरिएको बरालले जानकारी दिए ।
उनका अनुसार नेपाली संस्कृति र परम्परालाई जोगाइराख्न बाजाहरुको प्रयोगलाई निरन्तरता दिनु जरुरी छ । विदेशी बाजाको प्रभाव बढिहरेको भए पनि मौलिक बाजाको महत्व कम नहुने उनको धारणा छ ।
उनले थपे, ‘बाजा बजाउन सिकेपछि विद्यालयका कार्यक्रममा बाहिरका मान्छे बोलाउन परेको छैन । बाजाले हाम्रो पहिचान बोकेको छ । यो हरायो भने हाम्रो संस्कृति नै हराउनेछ त्यसैले यसको संरक्षण गर्नु आवश्यक छ ।’
सानैदेखि नै बाजामा रुचि भएकाले जीवनले बाजाहरूको महत्व बुझेका छन् । उनी गाउँघरमा हुने सांस्कृतिक कार्यक्रममा सक्रिय रहन्छन् साथै परम्परागत बाजाहरुको प्रयोग, संरक्षण गर्न अरुलाई प्रेरित पनि गर्छन् ।

६४ वर्षीया शिवराम परियार परम्परागत बाजाको संरक्षणप्रति चिन्तित छन् । अहिलेका पुस्ताले बाजालाई वेवास्ता गर्दा तथा, बाजा बजाउन सिकाउन खोज्दा पनि युवाको रुचि नदेख्दा उनलाई ननिको लागेको छ । उनले ९ वर्षको उमेर देखि बाजा बजाउन सुरु गरेको बताउँदै पहिलेको समयमा बाजा बजाउन सिक्न सबैको रुचि हुने बताए ।
आफ्नो कला युवामा हस्तातन्तरण गर्ने उनको एउटै धोको छ । ‘अरु बाजा बजाउन सजिलै हुन्छ, प्रयास गरे जसले पनि सक्छ । तर नरसिंहा र सनाई बजाउन गाह्रो हुन्छ । यति कसैलाई सिकाउन पाए शान्तिसँग मर्ने थिए भन्नेछ,’ परियारले भने, ‘२ जनालाई सिकाको थिए तर उनीहरुमा पनि लगनशिलता र नियमितता छैन ।’
बाजाप्रतिको मोह कहिल्यै नघटेको बताउने शिवराम बाजा बजाएर एकदिनमा ३० देखि ४० हजार रुपैयाँ सम्म आम्दानी हुने उनले जानकारी दिए । बाजाको संरक्षण नगरे बाजा बजाउन नजान्ने मात्र होइन देख्न पनि नपाइने परियारको भनाइ छ । युवालाई आकर्षित गर्न सके बाजाको प्रयोग र संरक्षण हुने उनले बताए ।

गण्डकी प्रदेश सभासदस्य प्रकाश बरालले पढाइसँगै व्यवहारिक सिप पनि सिक्नुपर्नेमा जोड दिए । स्वरोजगार बन्न युवालाई उत्प्रेरित गर्दै काम गर्ने इच्छाशक्ति भएमा जुनकुनै काम पनि गर्न सकिने बरालले बताए । आत्मनिर्भर हुन सकेमा मात्र पढाइको औचित्य हुने उनले बताए ।
‘शिक्षा प्रणालीलाई व्यवहारिक शिक्षासँग जोड्नुपर्छ । किताबी ज्ञानले मात्र पुग्दैन व्यवहारमा लागु गर्नुपर्छ । सानैदेखि व्यवहारिक सिपमा अभ्यस्त गराउनुपर्छ,’ बरालले भने, ‘जागिर खाने भन्दा पनि आफ्नै व्यवसाय वा उद्यम गर्न सकेमा बढि प्रभावकारी हुन्छ । स्वाभिमानी बन्नुपर्छ देशमै पनि राम्रो आम्दानी गर्न सकिन्छ ।’ बरालले स्वरोजगार बन्नका लागि सरकारले विभिन्न तालिम तथा उद्यमशीलता कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए ।
संस्थाका कार्यालय प्रमुख राजेन्द्रप्रसाद पौडेल र होमस्टेका अध्यक्ष यमबहादुर गुरुङले पुराना पुस्ताका ज्ञान सिप अनुभव नयाँ पुस्ताले ग्रहण नगरेमा हराउने बताए । कृषि, हस्तकला, परम्परा, संस्कृति युवा पुस्तामा हस्तान्तरण गर्न आवश्यक रहेको उनीहरुको भनाइ छ ।
शुक्रराज मावि पाेखरा २२ मा कुनै कार्यक्रमका बेला बाजागाजा बजाउनु परे विद्यार्थी नै काफी हुन्छन्, परम्परागत सिप उनीहरुले सिकेका जाे छन् ।
उनीहरुले भने, ‘परम्परागत कुरालाई नयाँ तरिकाले प्रयोगमा ल्याएर व्यवसायीकरण गर्नुपर्छ । यसबाट रोजगारीको सृजना हुन्छ । पहिचान पनि बन्छ । स्थानीय सामग्रीको प्रवद्र्धन गर्न आवश्यक छ साथै युवामा यसको महत्व जगाउनुपर्छ ।’
पृथ्वीनारायण क्याम्पसका प्राचार्य नारायणप्रसाद ढकाल, राष्ट्रिय लोक भजन संरक्षण समितिका उपाध्यक्ष प्रेमप्रसाद अधिकारीले प्रशिक्षण सहजीकरण गरेका थिए । कार्यक्रममा संस्थाका लेखा अधिकृत प्रेमबहादुर केसी, संस्थाका अधिकृत ज्ञानेश्वर सुवेदी, शिक्षिका सावित्री ढकाल, २ वटा विद्यालयका ३५ जना विद्यार्थीकाे उपस्थिति थियाे ।
कार्यक्रममा ज्येष्ठ नागरिकले जीवनका भोगाई, अनुभव बाँडेका थिए । उनीहरुले चोया काट्न, मान्द्रो बुन्न, दुना टपरी बनाउन सिकाएका थिए । बाजाका बारेमा जानकारी दिए साथै बाजा बजाउन सिकाएका थिए ।


प्रमिला कुँवर
पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् ।
तपाईको प्रतिक्रिया