कास्की कारागारका कैदीबन्दीलाई योग ध्यान तालिम

समाधान संवाददाता २०८१ फागुन ६ गते ५:३९

पोखरा । द आर्ट अफ लिभिङ गण्डकी प्रदेशको आयोजनामा कास्की कारागारका कैदीबन्दीलाई योग, ध्यान र ज्ञानसम्बन्धी ‘प्रिजेन्ट स्मार्ट’ ८ दिने तालिम दिइएको छ ।

Advertisement

तालिम समापन समारोहमा कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जान अन्जानमा मानिसले रिस, आवेगमा आएर विभिन्न अपराध गर्ने जनाउँदै कैद भुक्तान पछिको जीवनलाई सुन्दर र सफल बनाउन योग ध्यान र ज्ञानले सहयोग पुग्ने बताए । उनले विगतका गल्तीलाई प्रायश्चित गर्दै कारागार जीवनपछि सत्कर्मबाट सकारात्मक जीवनशैलीतर्फ अग्रसर गराउने यस्ता तालिम उपयोगी हुने विश्वास व्यक्त गरे ।

जेलर राजेन्द्र शर्माले कारागारमा रहेका बन्दीको मानसिक स्वास्थ्य, आत्मबल वृद्धि र पुनः सामाजिक पुनस्र्थापनाका लागि तालिम निकै फलदायी बन्ने अपेक्षा गरे । उनले आगामी दिनमा थप बन्दीका लागि पनि यस्ता तालिम निरन्तरताको खाँचो रहेको औंल्याए ।

तीन वटा ब्लकमा रहेका ३ सय ५० जनालाई तालिम दिइएको छ । हाल कारागारमा ७ सय ७९ कैदीबन्दी छन् । तीमध्ये ४९ महिला र २ नाबालक छन् । तालिममा स्वामी ब्रह्माचार्य चैतन्य, आर्ट अफ लिभिङ गण्डकी प्रदेशका प्रमुख सौमाया गुरुङ भट्टराई, प्रशिक्षक सागर पौडेल, डा रञ्जन लामिछाने र हेमचन्द्र गुरुङले प्रशिक्षण दिएका छन् ।

योग, ध्यान, शारीरिक तथा मानसिक शान्ति प्राप्त गर्ने उपाय, आत्मचिन्तन, सकारात्मक सोच र दैनिक जीवनलाई अनुशासित बनाउने तरिकाबारे प्रशिक्षण दिइयो । संस्थाका गण्डकी प्रदेश प्रमुख सौमाया गुरुङले संस्थाको उद्देश्य मानव जीवनलाई तनावमुक्त, सकारात्मक र सुखमय बनाउने रहेको बताइन् । उनले विगतका कमजोरी सुधार्दै, वर्तमानलाई अनुशासित बनाउँदै र भविष्यलाई सत्मार्गमा डो¥याउने प्रेरणा दिन तालिम केन्द्रित रहेको सुनाइन् ।

Advertisement

आर्ट अफ लिभिङ गण्डकी प्रदेश संयोजक नरेश भट्टराईले तालिममा सक्रिय सहभागिता जनाउने कैदीबन्दी र कारागार व्यवस्थापनलाई धन्यवाद दिए । बन्दीहरुको शारीरिक, मानसिक र भावनात्मक स्तरमा सुधार ल्याउनुका साथै सकारात्मक परिवर्तनको आधार तयार गर्न तालिम सफल भएको उनले जनाए ।

तपाईको प्रतिक्रिया