सांग्रिला बन्यो कास्की जिल्ला टी २० क्रिकेट लिग च्याम्पियन

समाधान संवाददाता २०८१ फागुन ६ गते ५:५०

पोखरा । कास्की क्रिकेट क्लबलाई ५ विकेटले पराजित गर्दै सांग्रिला क्रिकेट क्लब कास्की जिल्ला टी २० क्रिकेट लिग च्याम्पियन बनेको छ । पोखरा रंगशाला क्रिकेट मैदानमा सोमबार भएको फाइनलमा नियमित कप्तान विपिन खत्रीको अलराउन्ड प्रदर्शनमा सांग्रिलाले उपाधि आफ्नो नाममा लेखायो ।

लिग चरणमा अपराजित रहेको कास्कीलाई सांग्रिलाले फाइनलमा रोक्न सफल रह्यो । लिगका शीर्ष २ मा रहेको टोलीले फाईनल प्रतिस्पर्धा गर्ने क्रममा सांग्रिला र कास्की उपाधि प्रतिस्पर्धा गरेका थिए ।कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित प्रतियोगितामा टस हारेर ब्याटिङ गरेको कास्कीले शून्य रनमै पहिलो विकेट गुमायो । ओपनर सोहेल कुँवर विपिन खत्रीको बलमा दुई बलमै आउट भएपछि कास्कीको विकेट पतन सुरु भएको थियो । तेस्रो नम्बरमा आएका रोहित चन्द पनि विपिन खत्रीकै बलमा शून्यमै पभेलियन फर्किए ।

भरपर्दा ब्याटर अर्जुन कुमालले भने ३३ रन बनाए । उनले २८ बल खेल्ने क्रममा ३ चौका र १ छक्का प्रहार गरेका थिए । कुमाल राज परियारको बलमा अर्जुन अधिकारीबाट क्याच भए । त्यसपछिका ब्याटरले खासै रन बटुलेनन् । २० ओभर नै खेल्ने क्रममा कास्कीले ९ विकेटको क्षतिमा ९३ रनको सामान्य योगफल तयार पार्‍यो ।

Advertisement

विपिन खत्रीले ४ ओभरमा १ मेडन राख्दै १२ रन दिएर २ विकेट लिए । त्यस्तै, राज परियारले ३ विकेट लिने क्रममा ३० रन खर्चिए । ९४ रनको लक्ष्य पछ्याएको सांग्रिलाले विपिन खत्रीले ४९ रनमा अविजित रहँदै जित सुनिश्चित बनाए । उनले ४१ बलमा ५ चौका र १ छक्का हिर्काए ।

सांग्रिलाको पनि सुरुवात राम्रो रहेन । ३ रन जोड्ने क्रममा पहिलो विकेट गुमाउन पुग्यो । सिब्रिन श्रेष्ठ केवल १ रन बनाई खेल्ने क्रममा नितेश गिरीको बलमा विष्णुप्रसाद शर्माबाट क्याच भए । विराट दुवाडीले १८ रन बनाए । उनले २३ बल खेले । अरुण अधिकारी १० रनमा नटआउट रहँदै सांग्रिलाले १६ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पुरा गर्दै च्याम्पियन बन्यो ।

Advertisement

संघमा आवद्ध ८ क्लबले प्रतिस्पर्धा गरेका थिए । राउन्ड रोविन लिगमा प्रतिस्पर्धा गरिएको थियो । प्रत्येक क्लबले ७ म्याच खेले । शीर्ष २ ले उपाधि प्रतिस्पर्धा गरेका थिए । १५ दिनसम्म सञ्चालित प्रतियोगितामा बेस्ट ब्याटर पोखरा क्रिकेट क्लबका सुवास भण्डारी भए । उनले बेस्ट बलरको पुरस्कारसमेत प्राप्त गरे । भण्डारी प्लयेर अफ दि टुर्नामेन्टको पुरस्कारसमेत प्राप्त गरे भने फाइनल खेलमा प्लयेर अफ दि म्याचको पुरस्कार विपिन खत्रीले पाए ।

विजेता र उपविजेता क्लबका खेलाडीलाई प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्मा, प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य ऋषिराम गौतम, प्रादेशिक क्रिकेट संघ गण्डकी अध्यक्ष सञ्जयकान्त सिग्देल लगायतले ट्रफी, पदक तथा प्रमाणपत्र प्रदान गरे ।

तपाईको प्रतिक्रिया