पोखरा १४–२६ जोड्ने डहरे साँघु सडक बन्दै

पोखरा । पोखरा महानगरपालिकाका वडा नम्बर १४ र २६ जोड्ने डहरे साँघु सडक वडा नम्बर १४ तर्फ निर्माण सुरु भएको छ । २ वडालाई जोड्ने सडक वडा नम्बर १४ का अध्यक्ष बोधबहादुर कार्की र २६ का अध्यक्ष नरेन्द्र थापाले संयुक्त रुपमा सोममबार सुरुआत गरे ।
वडाध्यक्ष थापाले डहरेको साँघुदेखि वडा नम्बर २६ को क्षेत्रमा गत वर्ष सडक कालोपत्र भए पनि १४ तर्फ सडक नबन्दा यात्रुले सास्ती खेप्नु परेको बताए । उनले एकातर्फ राम्रो सडक देखेर आउने यात्रु पुल पश्चिमपट्टि पुग्दा सास्ती खेप्दै फर्कनुपर्ने अवस्था अब अन्त्य हुने जनाए ।
अध्यक्ष थापाले बुढीबजार सक्नेरी हुँदै डहरेको साँघुसम्मको सडक बिग्रेको खण्डमा यसै वर्ष रिसोलिङ गरिने उल्लेख गरे । उनले सडक बत्ती जडान गरी रातिको समयमा समेत यात्रा गर्न मिल्ने गरी वडाले काम गरिरहेको सुनाए ।
वडा नम्बरं १४ का अध्यक्ष बोधबहादुर कार्कीले पारिपट्टि राम्रो सडक देखेर वारी आएका यात्रुले आलोचना गरेको स्मरण गर्दै धेरैपछि भए पनि राम्रो कामको सुरुवात भएको बताए । उनले निर्माण कम्पनीलाई समयमै सडक निर्माण सक्ने गरी कार्य गर्न आग्रह गरे ।
संघीय सरकारको ६३ लाख ४९ हजार ३ सय ६५ लागतमा उक्त सडक निर्माण हुन लागेको हो । सडक १ करोड रुपैयाँमा कमल पोखरी निर्माण सेवाले निर्माणको जिम्मा लिएको छ । सडक वडा नम्बर १४ को राधाकृष्ण टोलदेखि डहरेको साँघुसम्म नालासहितको ढलान हुनेछ ।
निर्माण व्यवसायी गोविन्द विकले वैशाख मसान्तसम्म सडक बनाएर हस्तान्तरण गर्ने प्रतिवद्धता जनाए । वडा नम्बर २६ का वडाध्यक्ष थापाले उक्त सडक भएर आवातजावत गर्नेलाई निर्माण अवधिभर वैकलिपक सडक प्रयोग गर्न आग्रहसमेत गरे ।
तपाईको प्रतिक्रिया