नेपाली पढ्ने विद्यार्थीलाई स्वागत

समाधान संवाददाता २०८१ फागुन ६ गते २०:१५

पोखरा ।
नेपाली शिक्षा विभाग, पृथ्वीनारायण क्याम्पस पोखरामा सोमाबार शिक्षाशास्त्र संकाय स्नातकोत्तर तह प्रथम सत्रमा अध्ययन गर्न आउने विद्यार्थीका लागि स्वागत तथा अभिमुखीकरण कार्यक्रम भएको छ ।

Advertisement


कार्यक्रममा विभागका प्राध्यापक डा रामनाथ ओझाले शिक्षाशास्त्र संकायको सेमेस्टर प्रणालीमा आधारित भई पाठ्यक्रमका उद्देश्य, शिक्षण सिकाइ कार्यकलाप, मूल्यांकन शैली लगायतका विषयमा प्रकाश पारे । अन्य संकाय र विभागका तुलनामा शिक्षाशास्त्र संकाय नेपाली शिक्षाको पाठ्यक्रम प्रायोगिक प्रकृतिको भएकाले यस तह र विषयमा गरिने सिकाइ सहजीकरणजन्य कार्यकलाप प्रायोगिक, व्यावहारिक र शिक्षाशिक्षणमैत्री हुने उनको भनाइ छ ।


शिक्षाशास्त्र संकायको मर्म र भावना अनुसार नेपाली शिक्षामा स्तरीयता कायम गर्नका लागि नियमितता, सहभागिता र सक्रियताका साथ शिक्षण सिकाइमा लाग्नुपर्ने उनको भनाइ छ । कार्यक्रममा विभागका प्राडा रामचन्द्र पोखरेलले विद्यार्थीले रोजगारीको अभाव छ भनेर भाष्य सिर्जना गरे पनि असल र योग्य व्यक्तिका लागि समाजमा रोजगार पर्याप्त रहेको तर्क गरे ।


प्राडा यदुनन्दन उपाध्यायले लगनशील विद्यार्थी र समर्पित शिक्षकबाट नै समाज परिवर्तनसँगै उच्च शिक्षाका उद्देश्य पूरा गर्न सकिने धारणा राखे । नवआगन्तुक विद्यार्थी सुनिताकुमारी विके र त्रिलोचन पौडेलले सुन्दर भविष्य निर्माणका लागि आफूहरूले समयको उपयोग गरी ज्ञान र दीक्षा लिने प्रतिबद्धता गरे ।


शिक्षाशास्त्र संकाय अध्यापन अभ्यास विभागका प्रमुख रामप्रसाद सुवेदीले सिकाइका सैद्धान्तिक र प्रायोगिक दुवै पक्षमा विद्यार्थीले आफूलाई अब्बल बनाउनुपर्नेमा जोड दिए । नेपाली शिक्षा विभागका प्रमुख अर्जुनप्रसाद सुवेदीले नेपाली शिक्षा विभागले क्याम्पसको सहयोगमा अध्ययन, अध्यापन र अनुसन्धानलाई सँगै लान चाहेको बताए । कार्यक्रममा सहजीकरण विभागका सदस्य उपप्राडा विष्णुप्रसाद शर्माले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया