आलु खेतमा ओखरका बोट
पर्वत ।
जिल्लाको जलजला गाउँपालिका ९ बनौँमा व्यावसायिक ओखरखेती सुरुआत गरिएको छ । गाउँमा बाँझो रहेको जमिन सदुपयोग गर्दै किसानलाई फलफूलखेतीतर्फ आकर्षित गर्ने उद्देश्यले यस वर्षदेखि व्यावसायिक रूपमा ओखरखेती विस्तार गरिएको हो ।
युवा शक्तिको पलायन बढेसँगै बाँझो रहेको जग्गाबाट आम्दानी गर्न ओखरखेती गर्न लागिएको जलजला ९ बनौका वडाध्यक्ष गौबहादुर पुनले जानकारी दिए । आलुखेती गर्ने जनशक्तिसमेत नभएपछि बाँझिदै गएको खेतबारी सदुपयोग गर्नका लागि ओखरखेती विस्तार गर्न लागिएको हो ।
चालु आर्थिक वर्षमा परीक्षणका रूपमा १ हजार ५ सय ओखरका बिरुवा रोपिएको छ । मुस्ताङमा रहेको शितोष्ण वागवानी विकास केन्द्र मार्फाबाट बिरुवा ल्याएर किसानलाई वितरण गरिसकिएको छ । गाउँका अधिकांश किसानले आफ्नो जग्गाको क्षेत्रफल अनुसार माग गरेका बिरुवा रोपिसकेको अध्यक्ष पुनले जानकारी दिए ।
बनौँमा चिसो हावापानी रहेकाले दाँते ओखरको राम्रो सम्भावना रहेको जलजला गाउँपालिकाको कृषि विकास शाखा प्रमुख राजु गौतमले उल्लेख गरे । अहिले परीक्षणका रूपमा लगाइएका बिरुवा हुर्कँदै गएमा पुनः अर्को वर्ष किसानको मागका आधारमा खेती विस्तार गरिने भएको छ ।
दाँते ओखर नगदे बाली हो । अहिले नेपाली बजारमा छिमेकी मुलुकबाट आयात हुने गर्छ । बजारको पनि समस्या नहुने र किसानलाई मनग्य आम्दानीसमेत हुने भएकाले यस वर्षदेखि ओखरखेतीमा किसानलाई आकर्षण गरिएको वडाध्यक्ष पुनको भनाइ छ । एक पटक लगाएपछि वर्षौँसम्म आम्दानी लिन सकिने तथा दीर्घकालीन आयका लागि दाँते ओखर उत्पादनका लागि पहिलोपटक खेती सुरु गरिएको पुनको भनाइ छ ।
यहाँ बर्सेनि करोडौँको आलु उत्पादन हुने गर्छ । पछिल्लो समय आलु लगाउने किसान पनि पलायन हुँदै गएपछि खेतबारी बाँझो रहने क्रम बढेकाले वडा कार्यालयले नयाँ जुक्ति अपनाएको हो । समुद्री सतहबाट २ हजार मिटरभन्दा माथिको उचाइमा दाँते ओखर राम्रो हुने भएकाले झण्डै २ हजार ३ सय मिटरको उचाइमा रहेको बनौँमा यो प्रयास थालिएको हो ।
किसानले खाडल खनिसकेपछि मात्र बिरुवा वितरण गरिएको हो । अहिले सबैले विरुवा रोपिसकेका छन् । वडाको करिब १ लाख लगानीमा बिरुवा खरिद गरिएको थियो । सरकारी दररेट अनुसार बिरुवा किन्दा धेरै महँगो नपर्ने भएकाले थोरै बजेटमा पनि काम गर्न सकिने पुनले बताए । एकपटक लगाएपछि दीर्घकालीन रूपमा आम्दानीको स्रोतका रूपमा ओखरखेतीलाई लिन सकिने भएकाले यसमा किसानको माग पनि बढेपछि वडाले ओखरखेतीमा लगानी गरेको अध्यक्ष पुनको भनाइ छ ।
सामान्य परिश्रममा नै किसानको आम्दानी बढाउन सक्ने विश्वास वडा कार्यालयको छ । अन्य ठाउँमा जस्तो यहाँ पनि बसाइँसराइको क्रम रोकिएको छैन । यहाँका बाँझो जग्गालाई सदुपयोग गर्नको लागि पनि यो बाली राम्रो हुने जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले बताए । आचार्यले जलजलाको बाँसखर्कमा सुन्तला विस्तार गरेजस्तै बनौमा ओखर विस्तार गरिने सुनाए । राष्ट्रिय समाचार समिति
तपाईको प्रतिक्रिया