तनहुँको साँखेमा धार्मिक महोत्सव हुने

समाधान संवाददाता २०८१ फागुन ६ गते २०:१९

तनहुँ । १ सय २० वर्षभन्दा पुरानो मन्दिरको प्रचार प्रसार गर्न तनहुँको शुक्लागण्डकी नगरपालिका ११ मा ‘महाशिवरात्री धार्मिक महोत्सव’ आयोजना गरिने भएको छ । १९६० ताका साँखे देवलमा २ खोलाको संगम स्थलमा रहेको शंखाकार ढुँगाबाट दाहिने शंख बजेको सुनेर पूजा गर्दै आएकोमा स्थानीय अहिले उक्त स्थानलाई धामको रुपमा विकास गर्न महायज्ञ आयोजना गर्ने तयारीमा जुटेका हुन् ।

Advertisement

शिवालय क्षेत्रको रुपमा परिचित यो मन्दिरमा बर्सेनी शिवरात्री पर्वमा तनहुँ र स्याङ्जासहित विभिन्न स्थानबाट भक्तजन दूध चढाउन र रातभर जाग्राम बसेर ठाडो बत्ती बाल्न सहभागी हुने गर्दछन् । यो मन्दिरमा पूजा आराधना गर्नाले निसन्तान जोडीलाई सन्तान प्राप्ति हुने र मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ ।

तनहँुँको शुक्लागण्डकी नगरपालिका र स्याङ्जाको हरिनास र विरुवा गाउँपालिकाको केन्द्रमा पर्ने मन्दिरमा आयोजना गरिने धार्मिक महोत्सवले यस क्षेत्रमा रहेको पुरातात्विक संरचनाहरु जन्ते ढुंगा क्षेत्र, सीतापाइला, जनकवि गोकुल जोशीको जन्मस्थान, रजस्थलकोट दरबार र मिलेनियम गुफा लगायतका स्थान प्रवद्र्धन गर्न सहयोग पुग्ने शिवालय मन्दिर व्यवस्थापन समिति अध्यक्ष नीलकण्ठ अर्यालले विश्वास व्यक्त गरे ।

आगामी बिहीबारबाट सुरु हुने श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं श्रृंगारिक महाआरती सहितको धार्मिक महोत्सवबाट संकलन भएको रकमले मन्दिरको भौतिक विकाससँगै दैनिक पूजापाठ सुरु गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा मन्दिरको बारेमा प्रचार गर्ने लक्ष्य रहेको महायज्ञ मुल समारोह समिति संयोजक गंगाराम भट्टराईले बताए ।

महायज्ञमा श्रीमदभागवत पाठपारायण, चण्डिपाठ, रुद्रीपाठ, सहश्र जलधारा, ग्रहशान्ति, चौरासी पूजा, पितृतर्पण, तुलादान अखण्ड दीप प्रज्वलन र ठाडो बत्ती बाल्ने लगायतका कार्यक्रम समेटिएको छ । १५ गतेसम्म सञ्चालन हुने धार्मिक महोत्सवमा सुप्रसिद्ध कथावाचक कपिल भट्टबाट संगीतमय प्रवचन हुनेछ ।

Advertisement

तपाईको प्रतिक्रिया