हल गोरु पाल्नेलाई अनुदान

समाधान संवाददाता २०८१ फागुन ६ गते २०:३४

दमौली ।
यहाँको म्याग्दे गाउँपालिकाले गत आर्थिक वर्ष झै यसवर्ष पनि हल गोरु पाल्ने कृषकलाई अनुदानको व्यवस्था गरेको छ । चालु आवका लागि हल गोरु पाल्ने कृषकलाई अनुदान वितरण गर्न १० लाख विनियोजन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

Advertisement


गोरु पाल्ने क्रम घट्दा बाँझो जग्गा बढेपछि कृषकलाई प्रोत्साहनका लागि अनुदान उपलब्ध गराउने नीति लिइएको अधिकारीको भनाइ छ । हलगोरु पाल्ने किसानलाई प्रति हल बढीमा ४ हजारसम्म अनुदान दिइनेछ । अनुदान लिन कम्तीमा तीन वर्ष हल गोरु पाल्ने र आफैँ खेत जोत्ने प्रतिबद्धतापत्र, निवेदक र हल गोरुको फोटोसहित निवेदन दिनुपर्ने प्रावधान छ ।


भिमाद नगरपालिकाले चालु आवको वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत विभिन्न शीर्षकमा कृषकलाई अनुदान वितरण गर्ने तयारी गरेको छ । कृषकलाई कृषि सामग्री वितरणका लागि अनुदान दिइने प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पुनले जानकारी दिए । सबै कार्यक्रममा ५० प्रतिशतका दरले अनुदान उपलब्ध गराइने उनको भनाइ छ ।


टनेल खरिद तथा वितरणका लागि १ लाख, तरकारी टनेल निर्माणका लागि २ लाख ५० हजार, टनेल तथा नेट वितरणका लागि ३ लाख ५० हजार र टनेल प्लास्टिक निर्माणका लागि १ लाख बजेट विनियोजन गरिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया