घान्द्रुक पर्यटन महोत्सव सुरु

पोखरा ।
कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १० र ११ मा पर्ने घान्द्रुकमा बुधबारदेखि घान्द्रुक पर्यटन महोत्सव सुरु भएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समितिको आयोजनामा सुरु भएको घान्द्रुक पर्यटन महोत्सव फागुन १० गतेसम्म सञ्चालन हुनेछ ।
घान्द्रुक पर्यटन महोत्सवको उद्घाटन अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले गरे । अध्यक्ष केसीले अन्नपूर्ण गाउँपालिकाको समृद्धको आधार कृषि, पर्यटन, उर्जा र पूर्वाधार भएको बताए । अध्यक्ष केसीले घान्द्रुक आउने सडक सहज बन्दै गएकाले पर्यटकलाई आकर्षण गर्नका निम्ति घान्द्रुकको मौलिकता जोगाउन आवश्यक रहेको विचार राखे ।
‘सबैले हेर्न आउने गाउँ आज कहिकहि बिग्रे जस्तो देखिन्छ, मेरो आग्रह छ संरचना जसरी बनाए पनि त्यसलाई फेरी मौलिकतामा ढालौं,’, उनले भने, ‘अब घान्द्रुक आउने सडक बन्दै छ, कलाभीरको अप्ठ्यारो बाटो बन्दै छ, पर्यटक घान्द्रुक आउन कुनै समस्या छैन । उनले घान्द्रुक पर्यटन क्षेत्र भएकाले यसको विकास गर्ने गाउँपालिकाको कर्तव्य भएकोसमेत बताए ।
अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) पोखरा प्रमुख डा रविन कडरियाले घान्द्रुकबाट एबिसी, पुनहिल घोडेपानी लगायतका पदमार्गसँग जोडिएकाले घान्द्रुक पर्यटकको हबको रुपमा अगाडि बढेको बताए । कडरियाले भने, ‘घान्द्रुक आउने पर्यटक संस्कृति र प्रकृतिसँग रमाउने भएकाले घान्द्रुकबासीले आफ्नो संस्कृति जोगिने गरी संरचना बनाउन आवश्यक छ ।’
समारोहमा घान्द्रुक कल्चर रिसोर्टका सञ्चालक कुलप्रसाद गुरुङलाई सम्मान गरिएको छ । घान्द्रुक पर्यटन महोत्सवका संयोजक अमृत लामा गुरुङले बिहीबारदेखि खुला क्लबस्तरीय पुरुष भलिबल र बास्केटबल प्रतियोगिता सुरु हुने बताए । क्लबस्तरीय भलिबल र खुल्ला बास्केटबल प्रतियोगिताको विजेताले क्रमशः १ लाख २२ हजार २ सय २२ र उपविजेताले ७७ हजार ७ सय ७७ रुपैयाँसहित ट्रफी मेडर र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
महोत्सवमा आयोजित भेन्ट्रान्स भलिबल प्रतियोगिताका विजेताले नगद ३० हजार उपविजेता टिमले २० हजार रुपैयाँ पुरस्कार पाउने छन् । महोत्सवमा आयोजित घोडादौड प्रतियोगितामा प्रथम हुनेले ६० हजार, दोस्रो हुनेले ४० हजार, तेस्रो हुनेले २० हजार पुरस्कार प्राप्त गर्ने छन् । महोत्सवको प्रत्येक साँझ सास्कृतिक कार्यक्रमहरु समेत आयोजना गरिएको आयोजकले जनाएको छ ।
घान्दु्रकमा एकै दिन २ हजार ५ सय पर्यटकलाई राख्न सक्ने क्षमताका ६० होटल र ३० होमस्टे सञ्चालनमा रहेको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले जानकारी दिए । महोत्सव अवधिभर पर्यटकलाई २० प्रतिशत छुट दिइएको आयोजकले जनाएको छ । पोखराबाट साढे २ घन्टाको सवारी यात्रामा पोखरा बागलुङसडकखण्डको नयाँपुल, वीरेठाटी हुँदे घान्द्रुक पुग्न सकिन्छ ।
घान्द्रुकबाट भैसीखर्क–टाडापानी,वनठाटी, देउराली हुँदै म्याग्दीको घोडेपानी र घान्द्रुुक हुँदै टाडापानी–इसरु, दोबाटो, मुल्डेहुँदै म्याग्दीको खोर्पा लेक र हिडन लेक जान सकिन्छ भने, घान्द्रुक, छोम्रोङ हँुदै अन्नपूर्ण बेसक्यापसमेत जान सकिन्छ ।









गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
विकट गाउँमा रेन्बो ट्राउटपालन गर्दै पूर्वप्रहरी विकास
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया