रवीन्द्र माकाजू
पाेखरा ।
पोखरामा बुढापाका तपस्वी भुवनेश्वर कोइरालालाई श्रद्धापूर्वक मान, सम्मान गर्ने गर्दथे । उनको समाजमा बेग्लै ख्याति थियो । उनको धार्मिक प्रवचन निकै मिठास र आकर्षक थियो । उनी धार्मिक प्रवक्ताका रूपमा ख्याति प्राप्त हुँदा उनका पछाडि चेलाचेली हिड्ने गर्दथे । पछिल्लो समयमा उनी पोखरा २३ चापाकोट स्थित सिद्धवराहमा कुटी बनाएर धार्मिक प्रवचन दिँदै आएका थिए । प्रायः पोखरामा हुने धार्मिक गतिविधिमा उनीसँग हाम्रो भेटघाट भइरहन्थ्यो ।
२०४० साल कात्तिक २३–२५ सम्म काठमाडौँको पशुपति क्षेत्रमा भएको राष्ट्रव्यापी हिन्दू सम्मेलनमा कास्की जिल्लाबाट तपस्वी भुवनेश्वर कोइराला र मैले सहभागि हुने अवसर पाएका थियौं । त्यस बेला उनको नामको अगाडि तपस्वी भएकाले अनि पहिरन पनि आकर्षक भएकालेसम्मेलनमा आकर्षकको केन्द्रविन्दु बन्न पुगेका थिए । सम्मेलनमा उनले सम्बोधन गर्दा सहभागीहरु मन्त्रमुग्ध बनेका थिए ।
पछि उनी बसेको माझको थुम्कोमा चहलपहल निकै बढ्यो । सिद्धबराह मन्दिरको स्वरूप फेरियो । आश्रमले मव्य रूप लियो । उनले त्यहाँ अन्य शैक्षिक गतिविधि पनि अगाडि बढाए । उनको शारीरिक व्यक्त गहुँगोरो अनुहार, पुष्ट निधार, खाल्टा पर्न लागेका गाला, लामा फुलेका सेता दारी, सेताम्मै फुलेका लामा केश, ठीक्कको नाँक, ठीक्कको शरीर, मझौला कदका भुवनेश्वर कोइराला कुराकानी गर्दा निकै हँसिला देखिन्छन् ।
व्यवहारमा सरलता, बोलीमा मन्द मुस्कानले गर्दा हरेक उमेर र वर्गका मानिससँग उनको समान सम्बन्ध कोइराला सेतो धरो, पहेलो कमिज, पहेंलो पछ्यौरा प्रयोग गर्दथे । घरबाहिर हिड्दा साधारण जुत्ता लगाउने कोइराला आफ्नो कुटीमा रहँदा खराउको प्रयोग हुन्थ्यो । उनले पढ्नु पर्दा चश्मा लगाउँथे । नित्य पाठपूजा जपतपले उनी तपस्वी रुपमा बसेका योगी जस्ता देखिन्छन् ।
१९८३ माघ १७ गते जन्मेका तपस्वी भुवनेश्वर कोइरालाका पिता दुर्गादत्त कट्टर धार्मिक प्रवृत्तिका थिए । त्यसको प्रभाव भुवनेश्वर कोइरालाको जीवनमा पनि परेको थियो । तर उनी रुढिवादी तथा कट्टर खालका धार्मिक विचारका नभई धर्मलाई आधुनिक किसिमले सोच्थे । समाजको सेवा गर्नु नै मानिसको धर्म हो र समाजसेवाबाट पछाडि परेको समाजलाई अगाडि सार्नु नै धर्मको उद्देश्य ठान्ने कोइरालाले शुरुमा मूर्ति–पूजा लगायतका कर्मकाण्डीय धार्मिक प्रवृत्तिको विद्रोहं गर्दथे ।
उनी मान्छेभित्र आत्मा हुन्छ र मन्दिरका मूर्तिपूजा गरेर आत्माको पूजा हुँदैन भन्ने ठान्दथे । मानिसको सेवा गरेर नै आत्मा सन्तुष्ट हुन्छ भन्ने भावनाबाट प्रेरित थिए । जीवनको उत्तराद्र्धतिर पुगेपछि उनी मन्दिर आदिको दर्शन गर्ने र तीर्थव्रत जाने काम गरेछन् । आत्मा अमर छ, अकाट्य छ, शाश्वत छ भन्ने कुरामा दृढ रहने कोइरालाको मुख्य धार्मिक व्यक्तित्वको आधार उनको भुवन भजनमाला नै हो ।
तपस्वी भुवनेश्वर कोइरालाले सिद्धबराह मन्दिरको कुटीमा प्रबचनको अलावा अन्य शैक्षिक गतिविधि पनि सुरुआत गरेका थिए । यस कुराको पुष्टि गर्दै सिद्धबराह माध्यमिक बिद्यालयका संस्थापक प्रधानाध्यापक बद्रीनाथ पराजुली विद्यालयको रजत जयन्ती स्मारिका २०७१ मा लेख्दछन्, ‘२०४४ साल पुस २२ गते बुधबारका दिन तत्कालीन जिल्ला पञ्चायत सभापति अम्बरबहादुर कार्कीको बाहुलीबाट शिलान्यास र स्वस्ती वाचन तपस्वी भुवनेश्वर कोइरालाबाट भएको थियो । कक्षा सञ्चालन श्री सिद्धवराह मन्दिर परिसरमा रहेको एउटा खरले छाएको कुटीमा कक्षा ६ र प्रवचन हलमा कक्षा ८ को पठनपाठन सुरु गरिएको थियो ।
करिब १ वर्ष उक्त कुटीमा स्कुल सञ्चालन गर्दा कक्षा ६ मा ३० र कक्षा ८ का ८८ विद्याथीलाई ३ शिक्षकले अध्यापन गरेका थिए । विद्यालय सञ्चालन गर्दा अफिस कोठा नभएकाले तपस्वी भुवनेश्वर कोइरालाको भान्साकोठामै रजिस्ट्रर राख्ने गरिएको थियो । विद्यार्थीले गुन्द्री, थर्कटी, स्याउला ओछ्याएर एक वर्षसम्म अध्ययन गरेका थिए । एक वर्षसम्म फर्निचरको व्यवस्था गर्न सकिएको थिएन । पराजुलीको भनाइ अनुसार सिद्धबराह स्कुलको जग सिद्धबराह मन्दिर हो भने स्कुलका संस्थापक हुन् तपस्वी भुवनेश्वर कोइराला ।
उनका पिता नवीन माध्यमिक बिद्यालय पोखरा ४ गैरापाटनका सस्थापक अध्यक्ष हुन् विचारी दुर्गादत्त कोइराला । उनको नेतृत्वमा २०१७ सालमा विद्यालय सञ्चालक समिति गठन भएको थियो । तपस्वी भुवनेश्वरसाहित्यका साधक पनि थिए भन्ने कुरा नयाँ पुस्ताका लागि अनौठो लाग्न सक्छ । उनले २०१३ सालमा ३ पुस्तक एकै साथ प्रकाशित गरेका थिए । काठमाडौबाट प्रकाशित ती ३ पुस्तक हुनः सत्य सन्देश र विधवा जीवन, बैकुण्ठ महल, झिल्को ।
पोखराबाट पुस्तक प्रकाशित गर्न कठिन अवस्थामा कोइरालाले भाषा, साहित्यको जुन सेवा गरे, त्यसको सम्बन्धित निकायले कुनै मूल्यांकन नगरे पनि पोखराको साहित्यिक इतिहासमा भने स्वर्ण अक्षरमा लेखिएको हुनुपर्छ । उनले धर्म, संस्कृति, साहित्य क्षेत्रको सेवा गर्दागर्दै २०६५ साल जेष्ठ ९ गते यस धर्तीबाट सदाका लागि बिदा लिएका थिए ।

रवीन्द्र माकाजु
(माकाजु स्वतन्त्र लेखक हुन् )
तपाईको प्रतिक्रिया