टीम पोखरा मल्टिपर्पोजको रक्तदानमा १ सय ४३ युनिट रगत संकलन

समाधान संवाददाता २०८१ फागुन ८ गते १८:४८

पोखरा । टीम पोखरा मल्टिपर्पोज प्रालिको तेस्रो वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा १ सय ४३ युनिट रगत संकलन भएको छ । प्रालिले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा आयोजित दोस्रो रक्तदान कार्यक्रममा १ सय ४३ जनाले रक्तदान गरेका हुन् ।

Advertisement

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले पोखरा महानगरपालिका वडा नम्बर १० का वडा सदस्य पूर्णचन्द्र न्यौपाने र पोखरा महानगरपालिका वडा नम्बर १५ का वडा सदस्य आशीष भण्डारीलाई ब्लड ब्याग हस्तान्तरण गरेका थिए ।

उक्त कार्यक्रममा १ सय ४३ जनाले रक्तदान गरेका हुन् । सो अवसरमा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष कार्कीले टीम पोखरा मल्टिपर्पोजले युवा व्यवसायीहरूलाई एकत्रित गर्दै सामाजिक काममा समेत अगाडि बढेकोमा धन्यवाद व्यक्त गरे । रक्तदान कार्यक्रमले रगत लिनेलाई मात्र नभई रगत दिनेलाई समेत स्वास्थ्यमा फाइदा पुर्‍याउने भएकाले हरेक तीन महिनामा रक्तदान गर्न सके फाइदा हुने बताए ।

टीम पोखरा मल्टिपर्पोज प्रालिले युवाहरूलाई स्वदेशमै रहन सक्ने वातावरण निर्माण गरी कुनै पनि उद्योग सञ्चालन गरे उद्योग वाणिज्य संघको तर्फबाट साथ र सहयोग रहने कार्कीको भनाइ थियो । पोखरा महानगरपालिका वडा नं १० का वडा सदस्य पूर्णचन्द्र न्यौपानेले टीम पोखरा मल्टिपर्पोज प्रालिले सामाजिक काममा समेत अगाडि बढेकोमा खुशी व्यक्त गरे । रक्तदान कार्यक्रमले रगत अभावमा रहेका बिरामीहरूलाई ठूलो सहयोग पुग्ने उनको भनाइ थियो ।

नेपाल रेडक्रस सोसाइटी कास्की प्रादेशिक रक्तसञ्चार केन्द्रकी प्रतिनिधि यमुना केसी क्षेत्रीले रक्तदान कार्यक्रमको माध्यमबाट डायलाइसिस गरिरहेका बिरामी, दुर्घटनामा परेका तथा सुत्केरीहरूका लागि महत्वपूर्ण भूमिका खेल्ने बताइन् । हरेक तीन महिनामा रक्तदान गर्दा मानिस स्वस्थ रहने उल्लेख गर्दै रक्तदान गर्दा शरीरमा कुनै हानी नहुने बताइन् ।

Advertisement

रक्तदान कार्यक्रमका संयोजक गौरव पाख्रिनले टीम पोखरा मल्टिपर्पोज प्रालिले स्थापनाको दोस्रो वर्षदेखि रक्तदान कार्यक्रम गर्दै आएको बताए । आफ्नो संस्थाले सामाजिक कार्यमा समेत लाग्नुपर्छ भन्ने उद्देश्यले अघिल्लो वर्षदेखि स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गरेको उनको भनाइ थियो ।

टीम पोखरा मल्टिपर्पोज प्रालिका अध्यक्ष नारायण खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष पुष्कल ढकालले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम सञ्चालन संस्थाका सचिव रावत लामाले गरेका थिए ।

तपाईको प्रतिक्रिया