पोखरामा जीप ठक्करले आमाको मृत्यु, छोरा गम्भीर

समाधान संवाददाता २०८१ फागुन ८ गते १९:३६

पोखरा । पोखरामा जीपको ठक्करबाट बिहीबार बिहान आमा माया गुरुङको मृत्यु भएको छ भने छोरा मनोज गुरुङ गम्भीर घाइते भएका छन्। आमाछोरा स्कुटरमा सवार थिए ।

Advertisement

पोखरा महानगरपालिका-११ की ५६ वर्षीया माया गुरुङको उपचारका क्रममा मेट्रोसिटी अस्पतालमा ज्यान गएको हो। उनका २६ वर्षीय छोरा मनोज गुरुङको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

बिहीबार बिहान करिब ११ः२५ बजे पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीको कार्यालय नजिक दुर्घटना भएको हो। सिर्जनाचोकबाट जिरोकिमीतर्फ जाँदै गरेको ग३च ८९७७ नम्बरको जीपले जिरोकिमीबाट सिर्जनाचोकतर्फ आउँदै गरेको ग१३प ३२०६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।

मृतक माया गुरुङ स्कुटरको पछाडि सवार थिइन् भने स्कुटर उनका छोरा मनोजले चलाएका थिए। दुर्घटनामा सडक किनारमा रोकिराखेको ग७प ५२७४ नम्बरको स्कुटरमा पनि क्षति पुगेको छ।

जीप चालक स्याङ्जा हरिनाश गाउँपालिका-१ का २५ वर्षीय निर्मल गुरुङलाई वडा प्रहरी कार्यालय बैदामले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Advertisement

तपाईको प्रतिक्रिया