चुरोटदेखि पूजाको बत्ती पनि जलनको कारण बन्छ, ज्यान लिन्छ

सञ्जय रानाभाट २०८१ फागुन ९ गते ६:४९

पोखरा । साँझको चिसो हावामा पोखरा ३० खुदी शान्त थियो । ७० वर्षीय कुलबहादुर मगर ‘खाट’ मा अडेस लागेर चुरोट तान्दै थिए । चुरोटका अम्मली कुलबहादुरको बिस्तारमा अचानक एकाएक आगो दन्कियो । क्षणभरमै आगोले बिस्तारा त डढायो नै कुलबहादुरको शरीर पनि डढ्यो । ०८१ माघ २५ गतेको त्यो घटना भोलिपल्ट मात्र कुलबहादुरलाई अस्पताल पुर्‍याइयो । नजिकैको पोखरा विश्वविद्यालयको शिक्षण अस्पतालले पश्मिाञ्चल क्षेत्रीय अस्पताल ‘गण्डकी अस्पताल’ रेफर गरिदिएको छिमेकी सोनु मगर बताउँछिन् ।

Advertisement

पश्मिाञ्चल क्षेत्रीय अस्पताल आएपछि थाहा भयो– कुलबहादुरको दायाँ खुट्टाको ५ प्रतिशत भाग जलिसकेछ । देशकै पुरानोमध्येको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको जलन उपचार कक्षमा कुलबहादुरको ६ दिन उपचार भयो । तर, डिस्चार्ज भएको ३ दिनमै कुलबहादुर संसारबाटै बिदा भएको छिमेकी सोनु बताउँछिन् । शुक्रबार उनले यो संसार छाडेको ६ दिन भयो । ‘डाक्टरले शरीरमा इन्फेक्सन भइसकेको छ भन्नुभएको थियो । घाउमा पिप आइरहेको थियो । सञ्चो भएजस्तो पनि देखिएको थियो । तर, डिस्चार्ज भएपछि सोेमबार घरमै उहाँ बित्नुभयो,’ छिमेकी सोनु भक्कानिन् ।

कुलबहादुरजस्तै आगोको जलनबाट माघमै अर्का एक व्यक्ति पनि घाइते भए । पोखरा महानगरपालिका १२ ढिकालेथर निवासी ८२ वर्षीय पार्वती बास्तोला आफ्नै घरको पूजाकोठामा आरती गरिरहेको बेला दियोको आगो साडीमा सल्कियो । उनी त गम्भीर घाइते भइन् नै । उनका छोरा सुवास पनि घाइते भए ।

यो वर्षमात्र पोखरामा आगोकै कारणले ९ वटा दुर्घटना भएको प्रहरीको रेकर्ड छ, यी घटनामा कतिपयको त ज्यान पनि गएको छ

आमाको शरीरमा सल्किएको आगो निभाउन खोज्दा छोरा सुवासको ९ वटा औंला जलेको छ । ‘आमा त अब यो संसारमा रहनु भएन । मेरो पनि ९ वटा औंला जलेको छ । अहिले उपचार गरिरहेको छु,’ सुवास मलीन सुनिए । माघ २ गते पार्वतीको साँझ करिब ६ बजे आरती गर्दा दुर्घटना भएको हो । छोरा सुवासले आगो निभाए पनि पर्वतीको घाँटी, छाती र हातखुट्टा जलिसकेको थियो । तुरुन्त मणिपाल शिक्षण अस्पाल पुर्‍याए । रिपोर्टले देखायो—शरीरको ५० प्रतिशत भाग जलेको छ । उपचारकै क्रममा माघ ५ भने उनले यो धर्ती छाडिन् । कुलबहादुर र पार्वतीजस्तै आगोकै जलनका कारणले धेरेको ज्यान गएको छ । कोही गम्भीर घाइते भएका छन् ।

Advertisement

०८१ माघ २९ गतेको घटना हो । पोखरा २५ हेमजा आफ्नै घरमा ५६ वर्षीय प्रेमबहादुर सुनार घाइते भए । घरमा खाना पकाउने ग्यास लिक हुँदा ५६ वर्षीय प्रेमबहादुर सुनार गम्भीर घाइते भए । उनलाई त्यस दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्‍याइएको थियो । तर, सघन उपचार कक्ष (आइसियु) बेड खाली छैन भनेपछि गण्डकी शिक्षण अस्पताल (जिएमसी) रेफर गरिएको थियो । जिएमसीले पनि एक दिन उपचारपछि काठमाडौं लैजान रेफर गर्‍यो । अहिले उनी कीर्तिपुरको बर्न अस्पातलमा उपचारत छन् । उनको स्वास्थ्य सुधारोन्मुख भएको उनका भाइ ज्ञानबहादुर सुनारले सुनाए ।

‘पोखरामा हुँदैन, कीर्तिपुर राम्रो छ । लैजानुस् भनेर डाक्टर साबले भन्नुभयो र, त्यसपछि काठमाडौं ल्याएका हौं,’ उनले भने, ‘दाइको शरीर ४५ प्रतिशत डढेको छ । त्यस कारण पनि छिट्टो काठमाडौं पुर्‍याउन खोजेको सम्भव भएन । प्लेनमा बेड पाइएन । अनि, एम्बुलेसन्बाट काठमाडौं ल्यायौं ।’

आगोको जलन कति खतनाक छ भन्ने कुरा माघ ३ गतेको घटनालाई हेरे पुग्छ । पोखरा भ्रमण वर्ष घोषणा गर्न पोखरा आइपुगेका अर्थमन्त्री विष्णु पौडेल र मेयर धनराज आचार्य क्षण भरमै घाइते भए । त्यस दिन पोखरा भ्रमण वर्ष घोषणा समारोहमा पोखरेलीहरु उर्लिएका थिए । प्रदर्शनी केन्द्रमा उत्सवको माहोल थियो—बत्तीहरुको झिलिमिली थिए, बेलुनहरु जस्तै मान्छेहरु पनि फरकफरक भेषभुषामा सजिएका थिए ।

हर्ष उलासका साथ पोखरा भ्रमण वर्ष घोषणा समारोहमा उर्लिएको त्यो जनसागरमा एकाएक सन्नाटा छायो । उद्घाटनमा प्रयोग भएको स्पार्किङ लाइटले उडाउन लागेको बेलुनलाई छोयो, र आगोको ज्वालाले माहोल नै भयावह बनायो । क्षणभरमै पोखराका मेयर धनराज आचार्य र अर्थमन्त्री विष्णु पौडेल घाइते भए । पोखराका अस्पतालले दुवै जनालाई काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पताल रेफर गरे । अर्थमन्त्री पौडेल उपचारपछि डिस्चार्ज भएका छन् । मेयर धनराज आचार्य बिहीबार डिस्चार्ज भए ।
माथिका ४ घटना जसले सबैलाई गम्भीर बन्न सतर्क बनाएको छ । अर्कोतर्फ हाम्रो सुरक्षा र स्वास्थ्य सेवाबारे गम्भीर प्रश्न उठाएको छ । काम गर्न सतर्कता अपनाउन यी घटनाले अहिले सबैलाई झक्झकाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी अभिनाशदीप जिसीका अनुसार कास्कीमा यो आर्थिक वर्ष ९ वटा आगोलागीबाट मानवीय दुर्घटना अभिलेख भएका छन् । ‘यो आर्थिक वर्षमात्र आगोकै कारणले ९ वटा दुर्घटना भएका छन् । यी घटनामा कतिपयको त ज्यान पनि गएको छ,’ इन्स्पेक्टर जिसीले भने ।

के पोखरामा बर्न सेन्टरको अभाव हो ?

पोखरा देशकै प्रमुख सहरमध्ये एक भए पनि यहाँ जलन उपचारका लागि प्रभावकारी पूर्वाधार नभएको ती ४ घटनाले पनि देखाएको छ । कतिपयलाई अस्पतालबाटै काठमाडौं रेफर गर्नु परिरहेको माथिका घटनाले पुष्टि गरेको छ । यद्यपि पोखराको पश्मिाञ्चल क्षेत्रीय अस्पतालमा सन् १९८८ मा यो जलन उपचार (बर्न) युनिट छ । अस्पताल प्रशासनले भने आफूहरु जलनको उपचार गर्न सक्षम रहेको जनाएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक भरत खत्रीले अस्पतालमा सबै उपचार हुने दाबी गरे ।

‘प्लास्टिक सर्जरी पनि हुन्छ । एसी कक्ष पनि छ । यहाँ आएका बिरामीले कीर्तिपुरको बर्न अस्पतालमा जे जे सुविधा पाउँछन्, यहाँ सबै छ,’ खत्रीले भने, ‘हामी यहाँ आएका बिरामीलाई सकेसम्म रेफर गर्दैनौं । आइसियुुका बेडहरु नपुगेको खण्डमा रेफर हुने कुरा छुट्टै भयो ।’ मेयर आचार्य र पौडेललाई अस्पतालमा ल्याउन जानकारी आए पनि पछि काठमाडौं पुर्‍याइएको खबर आएको डाक्टर खत्रीले सुनाए ।

पोखराका अस्पताल पुगेका प्राय बिरामीहरु उपचार गर्न भने पाउँदैनन् । अस्पतालमा ६ वटामात्र आइसियु बेड छ । बेड अभावका कारणले प्राय बिरामीहरु रेफर मागेर अन्यत्र जाने गरेको अस्पताल स्रोत बताउँछ । अर्थात्, उपचारका लागि काठमाडौं नै जानुपर्ने अवस्था छ । ‘अस्पतालमा आइसियु ठाउँको अभाव भने छ,’ निर्देशक खत्रीले भने ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया